दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजीवन प्रभावित भएको छ। बाढीका कारण तुलसीपुर– घोराही– लमही सडक खण्डमा पर्ने खहरे खोलामा पानीको बहाव ह्वात्तै बढेपछि कुनै पनि खालका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।
तुलसीपुर– घोराही सडक खण्डको गुर्जे खोलामा आएको बाढीका कारण सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए ।
त्यस्तै, घोराही–लमही सडकखण्डमा सवारीका साधन बाढीले गर्दा सञ्चालनमा आउन नसकेको दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।
खोलामुनि कजवे निर्माण गरिनु र निर्माणाधीन पुलको काममा ढिलाइ हुनु तथा उचित डाइभर्सन निर्माण नगर्दा वर्षौंदेखि दाङबासीले वर्षातमा जोखिमयुक्त यात्रा गर्नु परेको छ। त्यस्तै, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बाढीका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको जानकारी दिए । उनले बबई गाउँपालिका वडा नं. ५ स्थित ट्वाँङखोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको बताए ।
ट्वाङ खोलाको बाढीले बस बगाएको भए पनि मानवीय क्षति भने हुन नपाएको र यात्रु तथा गाडीका चालकहरूको उद्धार गरिएको प्रमुख चौधरीले बताए । बगाले भन्ने स्थानदेखि तुलसीपुरतर्फ आउँदै गरेको उक्त बस सोमबार बिहान साढे ७ बजेतिर ट्वाँङ खोलाले बगाएको चौधरीले सेतोपाटीलाई जानकारी दिए ।
वर्षाले राप्तीको तटीय क्षेत्र जलमग्न
दुई दिनदेखिको अविरल वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न बनेको छ । पूर्व–पश्चिम राजमार्ग आसपासका केही बस्ती तथा राप्ती नदी किनारका बस्तीहरू जलमग्न भएको प्रहरीले जानकारी दिएको छ । लमही नगरपालिका वडा नं. ६ खैरी निवासी रामप्रसाद चौधरीले पानी बग्नलाई उचित निकास नहुँदा घर आँगनमा पानी पसेको बताए ।
‘घर भित्र पानी पसेपछि रातभर जागै बस्यौं, घरभित्रका सामान र बच्चा बच्ची कसरी जोगाउने भन्ने चिन्ता छ,’ चौधरीले भने ।
सचेत रहन आग्रह
यसैबीच दुई दिनदेखि अविरल रूपमा पानी परेको हुँदा सचेत रहन बबई र राप्ती आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सचेत रहन मोवाइलमार्फत् सन्देश पठाएको छ ।
जिल्लाका ३५ स्थान उच्च जोखिममा
जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखेको छ ।
त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमानसहित उच्च सतर्कता अपनाइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले बताए ।
दाङको राप्ती तटीय क्षेत्र अर्थात् देउखुरी क्षेत्रको राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, तुलसीपुर क्षेत्रको दंगिशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकामा बाढीको उच्च जोखिम रहेको दाहालले बताए ।
लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको तीन दर्जन वडाहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा राखेर तयारी गरिएको उनले बताए। जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्रीसहित एक/एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन्।
उनले जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र ३ लाई पहिरोको उच्च जोखिम क्षेत्रकारुपमा तोकिएको बताए।
पहिरोको मध्यम जोखिम क्षेत्रकारूपमा बबई गाउँपालिका वडा नम्बर २ र ३, बंगलाचुली गाउँपालिका वडा नम्बर १,२ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्बर ९ रहेका छन् । दाङमा राप्ती नदीले चार वटा स्थानीय तहहरू राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरूलाई प्रभावित बनाउने उल्लेख छ। त्यसबाट एक हजार घरधुरी प्रभावित हुने तथा झन्डै १० हजार मानिस प्रभावित हुने जिल्ला विपत् व्यवस्थापन समितिले जानकारी दिएको छ ।