जिल्ला प्रहरी कार्यालय सल्यानले चार नाल भरुवा बन्दुक बरामद गरेको छ।
कुमाख गाउँपालिका वडा नं. ३ चिनाली बजारमा केही व्यक्तिका घर, बारी र झाडीमा लुकाई राखेको अवस्थामा अवैध चार नाल भरुवा बन्दुक, एक नाल ब्यारेल, फलामका छर्रा, केप र बारुद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरत विकले बताए ।
स्थानीय केही व्यक्तिले अवैध रूपमा लुकाई छिपाई हतियार राखेको र ती हतियार वन्यजन्तुको चोरी शिकारीमा प्रयोग भएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा ति हतियार बरामद भएको डिएसी विकले सेतोपाटीलाई बताए ।
‘कतिले तिनै बन्दुकको आडमा सोझा साझा जनतालाई तर्साउने गरेको समेत सुन्नमा आएको थियो,’–डिएसपी विकले भने ‘त्यहीँ जनगुनासको आधारमा खानतलासी गर्दा हतियार फेला परेको हो ।’
यसैबीच प्रहरी निरीक्षक भानु शर्मा नेतृत्वमा गएको प्रहरी टोलीले अवैद्य हातहतियार राखेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । कुमाख गाउँपालिका वडा नं. ३ चिनाली बजार निवासी ५० बर्षीय शेरबहादुर पुन, सोही ठाँउ निवासी ५२ बर्षीय छविलाल चलाउने, सोही ठाँउकै ४५ बर्षीय मनबहादुर रानालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाहरूविरुद्ध अनुसन्धानपछि दोषी सावित भएमा हातहितयार खरखजाना ऐन २०१९ बमोजिम मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाउने प्रहरीले जानकारी दिएको छ ।