अविरल वर्षापछि आएको पहिरोले रोल्पाको लिवाङमा एउटा घर बगाएको छ।
मंगलबार बिहान करिब ५ बजेतिर स्थानीय यज्ञविक्रम मल्लको दुईतले कच्ची घर पहिराले बगाएर पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले सेतोपाटीलाई जानकारी दिएका छन्।
पहिरोको संभावनालाई मध्यनजर गर्दै गएराति नै मानिसहरूले उक्त घर छोडेको हुँदा मानवीय क्षति भने हुन नपाएको प्रमुख फुँयालले जानकारी दिए।
‘घरमा बस्नेले बुद्धि पुर्याएछन्, पहिरोको पूर्व संभावना आँकलन गरी घर गएराति सुतेनछन्,’ रोल्पा प्रहरी प्रमुख फुयाँलले भने।
उक्त घरमा तीन परिवार भाडामा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । पहिरोले घर बगाउँदा तीन वटा बाख्रा मरेको र एउटा बाख्राको भने जीवितै उद्धार गर्न सकिएको प्रमुख फुँयालले जानकारी दिए ।
घर पहिरोले भत्किएपछि त्यसभित्र रहका भाडावर्तन, लत्ताकपडा, खाद्यान्न, नगद गरी करिब चार लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।