दाङको एकमात्रै विमानस्थल टरीगाउँ एयरपोर्टभित्र बुधवार दिउँसो कमल चौधरी बाख्रा चराइरहेका थिए। काँडे तारबार भए पनि ठाउँठाउँमा परेका प्वालबाट बाख्रालगायत चौपाया विमानस्थलभित्र छिर्छन्। जहाज आउँदा प्रहरीले चौपाया चराउन दिदैँनथे अचेल भने देखे पनि नदेखेजस्तै गर्छन्।
‘विमान नआउने यो डाँडोको अब के काम छ र, बाख्रा भेडा चराउने त हो नि,’ चौधरीले भने, ‘नियमित जहाज आउँछ भने हामी गाईबाख्रा चराउन अन्तै लग्छौं, तर यो जहाज नआउने हो भने यो डाँडाको के काम?’
४१ वर्षीया पवित्रा वलीलाई भने कालोपत्रे भइसकेको विमानस्थलमा गाईबाख्रा चराएको देख्दा दुःख लाग्ने गरेको बताइन्। विमानस्थलमा पटक÷पटक जहाज आए पनि नियमित नहुनुमा नेता र सरकारकै कमजोरी रहेको उनको बुझाइ छ।
‘की त्यत्रो लगानी गर्नु हुन्नथ्यो, लगानी गरेपछि राज्यले त्यसको उपयोग गर्नु पर्यो नि,’ वलीले भनिन्,‘धनीले सुविधाका लागि जहाज चढ्छन् होला, तर आपतविपदमा सबैलाई सजिलो हुन्छ।’
तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरीगाउँ विमानस्थलमा २०११ देखि जहाज आउन थालेको थियो।
घाँसेमैदान छँदै पञ्चायत कालमा यसमा नियमित उडान हुन्थ्यो। माओवादी द्वन्द्वकालमा केही वर्ष जहाज आउन सकेन।
धावन मार्ग कालोपत्रे गर्न २०६९ मंसिरदेखि विमानस्थल बन्द गरिएको थियो।
धावन मार्ग कालोपत्रे गर्न तत्कालिन पर्यटन मन्त्री लोकेन्द्रबहादुर विष्ट मगरले साढे १० करोड बजेट छुट्याएका थिए।
धावनमार्ग कालोपत्रे भएपछि २०७२ जेठदेखि जहाज आउन थालेको थियो। तत्कालिन गोमा एयरले चैतपछि तुलसीपुरमा उडान भर्न छोड्यो।
तुलसीपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विमल रिजालले भूकम्प तथा नाकाबन्दीजस्ता कारण देखाउँदै भाडा बढाएपछि जहाज आउन छोडेको थियो।
चुनाव ताका सबै राजनीतिक दलका उम्मेदवारले विमानस्थल सुचारू गर्ने मुद्दा प्रमुखताका साथ उठाएका थिए।
चुनावी प्रतिवद्धता पूरा गर्न हचुवामा विमान सेवा सुरु गर्न खोज्दा अहिले विमानस्थल बन्द भएको स्थानीय रमेश मल्लले बताए।
इन्धन डिपो स्थापना र धावनमार्ग विस्तार गरेर ठूला विमान ल्याउन सकेको भए विमान सेवा प्रभावित नहुने उनको धारणा छ।
तुलसीपुरमा ५ नम्बर प्रदेश स्तरीय इन्धन डिपो स्थापना गर्ने निर्णय मन्त्रीपरिषदले भए पनि त्यसको कार्यान्वयन भने हुन सकेन।
तीन महिनायता विमानस्थलमा जहाज आएको छैन।
६ महिनाअघि तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच सातामा दुई पटक काठमाडौं–तुलसीपुर उडान गर्ने सम्झौता भएको थियो। एकतर्फी भाडा साढे ६ हजार तोकिएको थियो ।
तर पछि जहाज आउन कम भयो भने भाडा बढाइयो। केही समयपछि त जहाज आउनै छोड्यो।
जहाज नआएपछि विमानस्थल गौचरण बनेको छ।
यसैबीच अर्थमन्त्रीले बजेट वक्तव्यमा घोराही–१०मा वैैकल्पिक विमानस्थल बजेट छुटाएका छन्। स्थानीयवासीले भने यो निर्णयको विरोध गर्दै आएका छन्।