मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरूको शव दाङमा ल्याएर आफन्तहरूलाई बुझाइएको छ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत् ६ जनाको शव दाङमा ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
दाङको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला निवासी २५ वर्षीय कमल बुढा, सोही ठाउँ निवासी ३० वर्षीय बालकुमार घर्ती, राप्ती गाउँपालिका वडा नम्बर ३ निवासी ३१ वर्षीया कविता घर्ती मगर, सोही ठाउँ निवासी ३५ वर्षीय सुकविर चौधरी र कैलाली घर भइ राप्ती गाउँपालिका वडा नं. ३ माइती भएकी २२ वर्षीया विन्ती घर्तीको शव हेलिकोप्टरमार्फत् लमही ल्याएर पोष्टमार्टम पछि शनिबार बेलुका आफन्तको जिम्मा लगाइएको डिएसपी घर्तीले जानकारी दिए । विन्तीका पति बेपत्ता रहेको हुँदा शव माइती पक्षले नै बुझेर सतगती गरेको प्रहरीले जानकारी दिएको छ । तर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ बनकसबासाका २६ वर्षीय कमानसिंह रोका मगरको शव लिन भने आफन्त नआएका डिएसपी घर्तीले बताए ।
यसैबीच दाङका थप दुई जनाको शव भने पोखरामा बस्दै आएका आफन्तको जिम्मा लगाइएको जानकारी दिइएको छ। दाङको राप्ती गाउँपालिका ३ का ५० वर्षीय गुरुदक्त थापा र उनकी पत्नी ४३ वर्षीया शान्ति थापाको शव हाल कास्की मै बस्दै आएका परिवारजनको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
शोकमा डुब्यो देउखुरी
मुस्ताङ दुर्घटनामा मृत्यु भएका सबै मजदूरीका लागि गएका विपन्न परिवारका व्यक्ति थिए । दाङ देउखुरीमा मजदूरीका लागि गएका ५ जनाको शव ल्याइपछि देउखुरी शोकमा डुबेको छ । मजदूरीका लागि गएका अभिभावकको दुर्घटनामा मृत्यु भएपछि बालबच्चा र अभिभावकको विचल्ली हुने भएको छ।
दुर्घटनामा मृत्यु भएकी कविता घर्तीकी छोरी सृजना घर्तीका आँखा ओभाएका छैनन् । आमाको मृत्युको खबर सुन्ने बित्तिकै उनी बेहोस भएकी थिइन् । रुँदै उनले भनिन् ‘ म कक्षा सातमा पढ्दै छु, अब मेरो अगाडिको अध्ययनको लागि कस्ले काम गरेर पैसा जुटाइदिन्छ ।’
त्यस्तै दुर्घटनामा पति सुरविर चौधरीलाई गुमाएकी देवन्ती चौधरी हालसम्म बेहोस छिन् । सुरविर चौधरीका ८० वर्षी हजुर आमा धनवासी चौधरी पनि कमाउन गएको नातिको शव घरमा आउँदा विछिप्त अवस्थामा छिन् ।
‘म जानुपर्ने थियो, नातिलाई दैवले लुट्यो, अब घरमा कसले कमाउँछ,’ चौधरीले भनिन् । चौधरी जस्तै काम गरेर केही आर्जन गरेर ल्याउलान् र घरको ऋण कर्ज तिरौंला भन्ने प्रतिक्षामा बसेका आफन्त उनीहरू शव बनेर आएपछि शोकमा डुबेका छन् ।
रोल्पाका एकै परिवारका ४ जनाको मृत्यु
मुस्ताङ दुर्घटनामा मृत्यु भएकामध्ये एउटै परिवार भित्रका ४ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिएका छन् ।
दुर्घटनामा परि रोल्पा थवाङ्ग गाउँपालिका १ का २८ वर्षीय सुकमान रोका, सोही गाउँपालिका ५ निवासी १९ वर्षीय महेश रोका, थवाङ्ग गाउँपालिका ५ निवासी सृजना मगर, सोही ठाउँ निवासी २३ वर्षीय राष्ट्रिय रोका मगर, सुनछहरी गाउँपालिका १ निवासी ३२ वर्षीय रामकुमार पुन र ३२ वर्षीय सोन्तु घर्ती मगरको शव हेलिकोप्टरमार्फत् रोल्पा ल्याएर आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।
आफन्तहरूका अनुसार त्यसमध्ये थवाङ पुर्खेउली घर भएका राष्ट्रिय रोका,महेश रोका, कमान सिंह रोका, कविता रोका एउटै परिवारको सदस्य रहेको भन्ने जानकारी आफन्तले दिएको रोल्पाका प्रहरी प्रमुख फुँयालले सेतोपाटीलाई जानकारी दिए ।