मंगलबार बिहान तुलसीपुरमा बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको भनि प्रहरीले दिएको खबर झूटो साबित भएको छ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ बस्तीखोला निवासी अन्दाजी ५५ वर्षीय लक्षिराम बिटालु सम्पर्कमा आएपछि प्रहरीले दिएको रिपोर्ट झूटो भएको पुष्टि भएको हो ।
‘उहाँकै छोराका कारण गलत सूचना प्रवाह हुन पुगेको हो, लक्षिराम आफ्नो घरमै सकुशल रहेको पुष्टि भएको छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले भने।
उक्त बस दुर्घटनामा परी मृत्यु भएका व्यक्ति रुकुम जिल्लाको खलंगा नगरपालिका वडा नं. ४ निवासी ६७ वर्षीय बलबहादुर खड्का भएको सँगै फेला परेको नागरिकताको आधारमा पुष्टि भएको डिएसपी सापकोटाले बताए । रुकुम खलंगा निवासी एकजना चिनजानका व्यक्तिले मृतक बलबहादुर खड्का नै भएको दाबी गरेको र उनको घरमा खबर गरिएको प्रहरीले जानकारी दिएको छ।
मृतकको शव राप्ती अञ्चल अस्पतालमा राखिएको र परिवारका सदस्य आएपछि मात्रै त्यसको आधिकारीक रूपमा पुष्टि हुने प्रहरीले बताएको छ । खड्का व्यापारको सिलसिलामा मंगलबार मात्रै रुकुमबाट दाङ आएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।
प्रहरी यसरी झुक्कियो
तुलसीपुरको बसपार्कमा मंगलबार बिहान ११ बजेतिर सडक पार गर्ने क्रममा ना ५ख ५७६८ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटना लगत्तै प्रहरीले उक्त दुर्घटनामा मृत्यु भएका व्यक्ति शान्तिनगर गाउँपालिका वडा नं. ३ बस्तीखोला निवासी लक्षिराम बिटालु हुन् भन्ने खबर सार्वजनिक गरेको थियो ।
बिटालुका छोरा धनबहादुर विकले नै मृतक व्यक्ति आफ्नो बावु भएको भन्ने दाबी प्रहरी समक्ष गरेका थिए। शान्तिनगर निवासी बिटालुको मृत्युको खबर आमसञ्चार माध्यममा सार्वजनिक भएलगत्तै उनकी पत्नी, छोरा, छोरी, बुहारी र छिमेकी तुलसीपुरमा केहीबेरमै जम्मा भए। त्यति बेलासम्म शव राप्ती अञ्चल अस्पतालको पोष्टमार्टम गृहमा पुर्याई सकिएको थियो। लक्षिरामको मृत्युको खबरले अस्पताल परिसरमा परिवारका सदस्यको रुवाबासी चलिरहेको थियो। तर त्यति नै बेला नै रुकुम निवासी ओमेन्द्र वलीले मृतक रुकुम खलंगा नगरपालिका वडा नं. ४ निवासी ६७ वर्षीय बलबहादुर खड्का भएको दाबी प्रहरी समक्ष पेश गरे।
नाताले मृतक खड्का आफ्ना काका पर्ने हुँदा बसको ठक्करबाट मारिने व्यक्ति खड्काको नै भएको ओमेन्द्रको दाबी पछि बल्ल प्रहरीले थप प्रमाणको खोजीमा जुटेको हो। त्यति नै बेला दुर्घटनास्थलबाट फेला परेको झोलामा बलबहादुर खड्का नाम उल्लेख भएको नागरिता फेला परेपछि त्यसैको आधारमा प्रहरीले फेरि सूचना सच्चाएर मृतक विटालु नभइ खड्का भएको समाचार प्रकाशन गरेको छ।
दाङ शान्तिनगरका धनबहादुरले दुर्घटनामा मारिएका व्यक्तिलाई आफ्नो बावु भन्ने र रुकुमका ओमेन्द्र वलीले ती व्यक्ति आफ्नो काका भएको दाबी गरेपछि प्रहरी झन्डै तीन घन्टा अन्यौलमा परेको डिएसपी प्रकाश सापकोटाले बताए।
‘प्रहरीलाई निकै अप्ठेरो भयो, एउटा मेरो बावु भन्ने र अर्कोले मेरो काका भन्ने? कसको कुरा पत्याउने कसको नपत्याउने भन्ने समस्या उत्पन्न भएको थियो,’ डिएसपी सापकोटाले भने।
दुबै पक्षले दुर्घटनामा मारिएका व्यक्ति आफ्नो भएको दाबीले गर्दा विवाद उत्पन्न हुन थालेपछि प्रहरीले घटनास्थलमा फेला परेको झोलाको अनुसन्धान गरेको थियो।
झोलामा फेला परेको नागरिताको आधारमा मृतक खड्का नै भएको पुष्टि गर्दै प्रहरीले तीन घन्टाको तनावपछि सूचना सच्चाएर प्रकाशन गरेको हो। रुकुममा मृतकका परिवारलाई बुझ्दा दाङ गएको भन्ने जानकारी दिएको र झोलामा नागरिकता, लालपुर्जा लगायतका सामाग्री फेला परेपछि त्यसैको आधारमा दुर्घटनामा मारिने व्यक्ति खड्का नै भएको निष्कर्षमा प्रहरी पुगेको डिएसपी सापकोटाले बताए।
‘दुई-तीन घन्टा दुबै पक्षको दाबीले गर्दा हामी पनि अलमलमा थियौं, प्रहरीलाई तनाव भएको थियो,’ सापकोटाले भने।