दाङ तुलसीपुरको मुख्य बजार विपी चोकस्थित सविन मोबाइल सेन्टरमा लाखौंको चोरी भएको छ।
बिहिबार बिहान झन्डै साढे २ देखि ३ बजेको समयमा मोबाइल पसलमा चोरी भएको पसलमा जडान गरिएको सिसी क्यामेराको फुटेजमा देखिएको छ।
चोरले सटर काटेर भित्र पसी लाखौं मूल्य बराबरका मोबाइल सेट र नगद समेत चोरी गरेको प्रहरीले बताएको छ।
सिसी क्यामेराको फुटेजमा एक जनाले पसलभित्र पसेर झोलामा मोबाइल हालेको तथा अन्य चारजना बाहिर बसेर सघाएको स्पष्ट देखिएको छ। चोरीमा सम्लग्न व्यक्ति मधेसी मूलको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
यो खवर तयार पार्दासम्म कति मूल्य बराबरको मोबाइल चोरी भए भन्ने यकिन नभइ सकेको भए पनि लाखौं मूल्य बराबरको मोबाइल चोरी भएको मोबाइल पसलका मालिकले जानकारी दिएको प्रहरीले बताएको छ।
यसैबीच सविन मोबाइल सेन्टरका प्रोप्राईटर सुमन विश्वकर्माले आफ्नो पसलबाट झन्डै १५ देखि २० लाख बराबरको मोबाइल चोरी भएको बताएका छन्। चोरले नगद ५० हजार रुपैयाँ समेत चोरी गरेको विश्वकर्माले जानकारी दिए।
३५ देखि ४० वटासम्म सामसुङ, भिभो, ओप्पो, हुवाइका महंगा सेट चोरी भएको उनले बताए। तुलसीपुरको मुख्य बजार मै भएको चोरीले तुलसीपुरको सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा भएको छ।