उनलाई कुरा गर्न फुर्सद पनि थिएन। पसल बाहिर ग्राहकको लाइन थियो। कोही कपाल र कोही दाह्री काट्नका लागि पर्खि बसेका। त्यसैले उनको हातको कैंची झनै रफ्तारमा चल्दै थियो...खट..खट..खट।
उनले काम गर्ने यो पसल तुलसीपुर क्षेत्रमा एउटा स्थापित नाई पसल हो र उनी तुलसीपुर क्षेत्रमा कपाल काट्ने एक्ली किशोरी हुन्। जसको उमेर भर्खरै २१ वर्षको छ।
उनको उमेरका युवायुवती कामभन्दा मोजमस्ती र मनोरञ्जनमा समय बिताइरहेका छन्। कतिपय अभिभावकको पसिना मोजमस्तीमै उडाइरहेका होलान् । ठाँटिएर हिँड्नकै लागि, स्कुटर वा गाडी किन्नकै लागि अभिभावकको टाउको खाइरहेका होलान्। तर, बाँके जिल्ला निवासी जुनु चौधरीले भने १६ वर्षको उमेरदेखि नै कपाल काट्न थालेकी हुन्।
गरिबी उनको शिक्षाको लागि तगारो बनेर आएपछि उनले कक्षा ८ पढ्दै गर्दा पढाइ छोड्नुपर्यो।
त्यतिबेलै उनले चार महिना कपाल काट्ने तालिम लिने अवसर पाइन्। त्यो अवसर एफएनसी संस्थाले जुराइदिएको थियो। त्यतिबेलै सिकेको सीपलाई आज जुनुले जीवनयापनको एउटा माध्यम बनाएकी छन्।
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ फत्तेपुर निवासी २१ वर्षीया जुनु चौधरी हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा बस्छिन् । उनले दाङमा आएर व्यवसायिक रूपमा कपाल काट्न थालेको दुई वर्षभन्दा बढी भइसकेको छ।
पहिले उनले घोराही मै कपाल काट्थिन्। जहाँ अर्की एकजना महिलाले पनि कलाप काट्ने (नाई) काम गर्दै आएकी छन्। दाङमा पुरुषको कपाल काट्ने यी दुई जना महिला मात्रै हुन्। तर, घोराहीमा जुनुले कपाल काट्ने पसल मधेसी मुलका मानिसको थियो । त्यसैले उनी तुलसीपुरका डिल्लु चौधरीले बोलाएपछि झन्डै एक वर्षदेखि तुलसीपुरमा आएर कपाल काट्न थालेकी हुन्।
तुलसीपुरदेखि नारायणपुरको दूरी १५ किलो मिटर छ। उनी सार्वजनिक बसको यात्रा गर्दै दिनहुँ कपाल काट्न तुलसीपुर आउने गर्छिन्। एउटी किशोरी एक्लै यात्रा गर्दा अरुले जस्तै सार्वजनिक सवारीमा जुनुले पनि अनेक खालका व्यवहार खेप्नुपर्छ । तर त्यसले उनलाई मानिसलाई नजिकबाट चिन्न र समाजलाई पढ्न मद्दत पुगेको तर्क गर्छिन्।
‘कतिपय एक्लै देख्दा बहानाबाजी गर्दै नजिकिन खोज्छन्, बोल्न खोज्छन् र मौकाको फाइदा उठाउन खोज्छन्। तर आफू सजग अनि इमान्दार भए कसैको केही जोर लाग्दैन’, भन्छिन् जुनु चौधरी।
सार्वजनिक यातायात अझै पनि महिलामैत्री भइनसकेको तथा ढुक्कले एक्लै हिँड्न सक्ने अवस्थाको नरहेको उनी बताउँछिन्।
गरिबी नजिकबाट नियालेकी जुनुको मनमा भविष्यमा केही गर्छु भन्ने अठोट छ।
‘यहाँ कपाल काट्ने सबै अनुभवी र आफ्नै जातिका दाजुभाइ हुनुहुन्छ। उहाँसँग मैले अझै धेरै सिक्नु छ,’ जुनुले भनिन्।
तुलसीपुरको डिल्लु हेयर कटिङमा करिब ११/१२ जना पुरुष आबद्ध छन्।
‘डिल्लु चौधरी कुनै दिन जिरोबाट हिरो भएका व्यक्ति हुनुहुन्छ। उहाँबाट मैले धेरै सिक्नु छ,’ जुनुले भनिन्।
डिल्लु चौधरीको पसलमा दैनिक ज्यालादारीमा आफूले काम गर्दै आएको भए पनि त्यहाँ पारिवारिक वातावरण रहेको हुँदा काम गर्न कुनै अप्ठेरो नरहेको जुनुले बताइन्।
जीवन संघर्षले भरिएको बताउने जुनु, आफ्नै पौरखले आफ्नै खुट्टामा उभिन पाएकोमा खुसी लाग्ने गरेको बताउँछिन्।
‘कपाल काटेर दैनिकी मज्जाले चल्छ र मासिक १७ हजार जति बच्छ,’ जुनुले भनिन्।
अविवाहित जुनुलाई भविष्यमा बिहेपछि पनि यही पेशा गर्ने चाहना छ । त्यसका लागि अहिले नै केही रकमको जोहो गर्न यो मेहेनत गरिरहेको उनले बताइन् ।
‘म बिहेपछि पनि कपाल नै काट्ने छु । अब अर्कौ काम खोज्दिन । त्यसैले सकभर बिहेपछि आफ्नै पसल खोल्ने इच्छा छ,’ जुनुले भनिन् ।
पहिला काम गर्ने ठाउँमा भन्दा यहाँ आत्मिय वातावरण पाएको उनले सुनाइन्।
‘पहिला काम गर्ने ठाउँमा कहिलेकाहिँ फोहरी शब्द बोल्थे , त्यहाँ आउने ग्राहकले त्यस्ता शब्द बोल्दा पनि झनै हाँस्थे, त्यो मलाई उचित लागेको थिएन,’ जुनुले भनिन् । तर, तुलसीपुरमा सबैले आफ्नो सम्मान गर्ने गरेको र पसलमा कुनै व्यक्ति अश्लिल शब्द बोल्न खोजे त्यस्तालाई हपार्ने गरेको उनले सुनाइन्।
‘केटा न हुन्, केटी देखेपछि मत्ताउन खोज्छन् । तर त्यस्तोमा दाइहरूले गाली गर्नुहुन्छ र मलाई काम गर्न सहज छ,’ जुनुले भनिन्।
पारिवारिक स्थित कमजोर रहेको हुँदा आफूले थोरै लगानीमा सहज रूपमा पैसा कमाउने पेसा खोज्दै जाँदा कपाल काट्ने व्यवसाय रोजेको जुनुले बताइन्।
कपाल काट्ने पेसा अंगाल्दा सुरुमा परिवार नै बाधक बनेको उनले सुनाइन्।
‘कपाल काट्न नजा बरु खेतीपाती गरेर खाउँला भन्नु हुन्थ्यो। तर खेतीपाती गर्न पनि त सजिलो छैन। कडा मेहेनत गर्नुपर्छ। त्यसैले मैले सहज पेसाको रूपमा यसलाई अंगालेकी हुँ,’ जुनुले भनिन्।
अहिले भने परिवार आफ्नो प्रगती देखेर खुशी भएकोमा उनी दंग छिन्।
जुनुलाई कतिपयले आफ्नो कामको प्रशंसा गर्ने गरेको भएता पनि कतिले भने केटी भएर पनि केटाको काम गर्छे, केटाको कपाल र दाह्री फाल्छे कस्ती लाज पचेकी केटी रहेछ भनेर खिल्ली उडाउने गरेको तितो अनुभूति साटिन्।
‘मैले केटाहरूको कपाल र दाह्री काट्दै गरेको देख्दा कतिपयले आश्चर्य मान्दै अडिएर हेरेको देख्छु। कतिपयले कस्ती केटी रहेछ भनेको सुन्छु, तर त्यसले मलाई झनै उत्साह मिल्छ,’ जुनुले भनिन्।
काम नगरी डुलेर खानेहरूले लाज मान्नु पर्ने र इज्जतपूर्वक परिश्रम गरेर जीवनयापन गर्नेहरूले गर्व गर्नुपर्ने जुनुको तर्क छ।
कुनैपनि मान्छले आफ्नो चेतनास्तरका आधारमा कुरा गर्ने हुन् । जसप्रति जुनुलाई कुनै गुनासो छैन । बरु उनलाई अझै कसरी आफ्नो सीपलाई परिस्कृत गर्ने भन्ने मात्रै ध्यान छ।
‘अरुलाई पर्दा सहयोग गर्न सकियोस् र कसैसँग हात थापेर खानु नपरोस्,’– जुनुले थपिन्, ‘मेहेनतले स्वाभिमानीपूर्वक आफ्नै खुट्टामा उभिन हरेक युवायुवती परिश्रमी बन्नुपर्छ। उद्यमी बन्नुपर्छ।’
कुनैपनि काम आफैंमा ठूलो–सानो वा राम्रो नराम्रो हुँदैन भन्ने मत राख्ने जुनुले व्यक्तिले सफलता प्राप्तिको लागि इमान र लगनका साथ काम गरे पुग्ने बताउँछिन्।