दाङमा सर्प दंशबाट दुई जनाको मृत्यु भएको छ भने अर्की बालिकाको उपचार भइरहेको छ।
सुतेकै अवस्थामा सर्पले डस्दा बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी २३ वर्षीय देवराज आलेको मृत्यु भएको छ। आले सुतेकै अवस्थामा गएराति सर्पले डसेको र मंगलबार बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख एवं प्रहरी नायव निरीक्षक धनबहादुर केसीले जानकारी दिए। पत्नी र बच्चा खाटमा सुतेको भए पनि आले भने भुईंमै सुतेका थिए। गर्मी भएको भन्दै उनले ढोका खुल्लै राखेर भुईंमै सुतेको समयमा सर्पले उनलाई डसेको प्रहरीले जानकारी दिएको छ।
मंगलबार बिहान १ बजेमात्रै आलेलाई सर्पले डसेको परिवार जनले थाहा पाएपछि उपचारको प्रयास सुरु भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा निवासी ४ वर्षीय झपेन्द्र विकको पनि उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै सर्प दंशबाट गम्भीर बिरामी भएकी उनकी ११ वर्षीया दिदी अनिता विकको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकास सापकोटाले जानकारी दिए ।
एकै घरका दुई भाई बहिनी आँगनमा खेल्दै गर्दा सोमबार बिहान ७ बजेतिर घरमै उनीहरूलाई करेत सर्पले डसेको थियो । उनीहरू दुवै जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि सोमबार नै बाँकेको कोहलपुर रेफर गरिएको थियो ।