रातो मुखौटा लगाएको डरलाग्दो अनुहार।
रातै कपाल।
च्यातिएको ठूलो मुखबाट निस्किएका दुईवटा दाह्रा। हातका औंलामा लामा–लामा नंग्रा।
तासको कपडामा सजिएको यो पात्र ‘मजिपाः लाखे’ हो।
भनिन्छ– उपत्यकामा जति पनि देवीदेवता छन्, त्यति नै भूत, प्रेत, ख्याक, दैत्य र लाखे छन्।
लाखेलाई धार्मिक कथासँग जोडेर राक्षस वा दैत्यका रूपमा व्याख्या गरिएको छ। येँया पुन्ही (इन्द्रजात्रा) मा मजिपाः लाखेलाई ‘लाखे आजु’ का रूपमा आस्थापूर्वक पुज्ने गरिन्छ।
यो लाखे राक्षसी वर्ग भए पनि उसमा प्रेम, बलिदान र त्याग छ। त्यसैले, मजिपाः लाखेलाई ‘शान्त भैरव’ पनि भनिन्छ।
किम्बदन्तीअनुसार मजिपाः टोलकी एक ज्यापुकी छोरीसँग लाखेको प्रेम बस्छ। त्यो लाखेले मानिसको रूप लिई ज्यापुकी छोरीलाई खेतको काममा सघाउँन थाल्छ। यसरी खेतको काम चाँडै सकिएको देखेर केटीका आमाबुवा आश्चर्यमा पर्छन्।
पछिपछि त्यो लाखे केटीको घर मजिपा:मै आउन थाल्छ। कहिले त रातभरि नै बस्न थाल्छ। यस्तो हुँदैजाँदा टोलभरी त्यो केटी र लाखेको प्रेम सम्बन्ध चर्चा हुन थाल्छ। उनीहरूको प्रेमचर्चासँगै सोही समयमा सो टोलका बच्चा पनि एकाएक गरी हराउन थाल्छन्। टोलबासी लाखेले गर्दा नै आफ्ना बच्चाहरू हराउन थालेको शंका गर्छन्। त्यसपछि उनीहरूले लाखेलाई समातेर पिट्दै केरकार गर्न थाल्छन्। लाखेले आफ्नो गल्ती स्विकार्दै केटीसँग प्रेम भएको र कुनै हालतमा आफ्नी प्रेमिका छाड्न नसक्ने बताउँछ।
लाखेले टोलका बालबालिकाको रक्षा गर्ने र भूतप्रेतबाट सुरक्षा दिने वाचा गर्छ। अनि सबै टोलबासी मिलेर लाखेलाई एउटा घरमा बन्द गर्छन्। त्यही घरलाई 'लाखे ननि' (लाखेघर) भनिन्छ।
इन्द्रजात्रामा मात्रै लाखेलाई बाहिर ल्याइन्छ।
येँया पुन्ही (इन्द्रजात्रा) मा निकालिने लाखे नाचमा ‘रञ्जित’ समुदायको विशेष भूमिका हुन्छ।
लाखेका नाइके राजीव रञ्जितका अनुसार भाद्र कृष्ण पक्ष एकादशीमा लाखेघरमा रहेको प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दूकबाट लाखेको मुखौटा निकालिन्छ। त्यसलाई पूजाआजा गरी रंगरोगन गर्न यट्खा टोलका चित्रकारकहाँ लगिन्छ। त्यो मुखौटालाई पूजाआजा गरी शुक्ल पक्ष दशमीको दिन लाखे ननिमा फिर्ता ल्याइन्छ।
त्यसको भोलिपल्ट एकादशीमा लाखेको रातो केश सजाइन्छ। यो सबै पूजाविधि गोप्य हुन्छ। पूजाआजा गर्दा वा लाखेको मुखौटा निकाल्दा त्यसलाई पुजारीले समेत आँखा जुधाएर हेर्नु हुँदैन।
द्वादशीका दिन इन्द्रध्वजोत्थानपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुन्छ। लाखे पनि नगर परिक्रमाका लागि तयार हुन्छ।
यो दिन नाट्यश्वरको पूजा गरेर ननि चोकमा मजिपाः लाखे नाच्छ। जैसीदेवल र चिकमुगलमा तीन–तीनपटक उफ्रन्छ। यसरी उफ्रनुको अर्थ हो– टोलमा कुनै संकट एवं महामारी नआओस्। यसै दिन येँगलमा रहेको केबछेः चोकमा राजभण्डारीको घरबाट लाखेले पूजा लिनुपर्छ।
‘त्यो घरका परिवारले लाखेलाई कुनै बेला सुन र हिरा चढाएको मान्यता छ। त्यसैले, पहिलो पूजा त्यही परिवारबाट लिनुपर्छ,’ रञ्जितले भने।
बेलुकी ‘उपाः कु’ (मरेका मान्छेको नाममा बत्ती दिने) मार्गमा लाखे नाच्दै हिँड्छ। यो मार्ग जैसीदेवल, कोहिटी, क्षेत्रपाटी, ठहिटी, टेबहाल, गणबहाल, लगनलगायत टोल हुँदै जैसीदेवल पुग्छ। मजिपाः लाखे त्यो दिन लाखेघरमा फर्किएपछि नाच समापन हुन्छ।
साताव्यापी येँया पुन्हीमा मजिपाः लाखे नाचको प्रत्येक दिनको सुरुआत उस्तै हुन्छ। पहिले नाट्यश्वरको पूजा हुन्छ। त्यसपछि जैसीदेवल र चिकमुगलमा अनिवार्य तीन–तीनपटक उफ्रनुपर्छ। आफ्नो टोलबाट बाहिर गएपछि बीचमा फर्किन हुन्न भन्ने मान्यता छ।
अन्य दिनमा कुनै टोल/घरले बोलाउँदा लाखे पूजा लिन पुग्छ। कुमारी रथयात्रा क्रममा तल्लो टोल (कोहने), भोलिपल्ट माथिल्लो टोल (ठनेचा) र पछि बीचको टोल (नानिचा) का दिन लाखेले रथलाई बाटो देखाउँदै, भीड पन्छाउँदै अघिअघि नाच्दै हिँडछ। त्यसपछि बोलाएको ठाउँमा पूजा लिन जान्छ।
रथ तान्ने दिनहरुका बीचमा लाखेघरमा पुलुकिसी र सवः भकू बोलाएर पूजा दिइन्छ। समयबजी खुवाएर पठाइन्छ। पुलुकिसी सञ्चालक टोलीले भने जात्राको अन्तिम दिन मजिपाः लाखेलाई पूजा दिन्छ। सवः भकूले भने जात्रा सकिएको केही दिनपछि भोज बोलाउँछ।
‘पहिले पहिले लाखे, सवः भकू र पुलुकिसी जात्रामा भेट्यो कि झगडा पर्थ्यो। २०३२ सालतिर झगडा सुल्झाउन मैत्रीपूजा हुन थाल्यो,’ रञ्जितले भने, ‘त्यो समयदेखि एकअर्कालाई पूजा दिने चलन बसेको हो।’
जात्रा सकिएको दुई–तीन दिनपछि लाखेघरमा लाखेको पूजा गरिन्छ। नासः देवः (नाट्यश्वर) लाई बलि दिइन्छ। जात्रामा समावेश भएकालाई समयबजी र भोज खुवाइन्छ। भोज सकिएपछि घरको तल्लो कोठामा भोजका सामान भण्डार गरिन्छ। भोलिपल्ट घरमा साँचो लगाई बन्द गरेर पूरै घर छाडिन्छ। लाखेको मुखौटा पनि पीलाभित्र राखिन्छ।
‘यो दिन लाखेघरमा लाखे स्वयं आएर भोज गर्छ भन्ने मान्यता छ,’ रञ्जितले भने, ‘घरमा के–के आवाज आउँछ भनिन्छ। त्यहाँ कोही गएर ढोका खोली हेर्न हुन्न।’
मजिपाः लाखे नाचमा विभिन्न स्थानीय लाखे बन्छन्। त्यसका लागि लाखेले कुनै तालिम लिनु पर्दैन। विधिको पालना भने गर्नुपर्छ। यसपटक सानु महर्जन, लक्ष्मण रञ्जित, शिव महर्जन, जयदास रञ्जित, सन्तोष रञ्जित लगायत लाखे बन्दैछन्।
मजिपाः लाखेसँगै लाखेलाई जिस्क्याउन ‘झ्यालिँचा’ भनिने सानो बालक हुन्छ। झ्यालिँचाले लाखेलाई विभिन्न हाउभाउले जिस्क्याउँछ। लाखेले झ्यालिँचा खेद्ने र झ्यालिँचाले लाखेलाई छलछाम गरी कायलै पार्छ। ‘लाखे–झ्यालिँचा’ को नाट्य प्रस्तुतिले दर्शकलाई सांस्कृतिक मनोरञ्जन दिन्छ।
लाखे र झ्यालिँचाको पनि एउटा किम्बदन्ती छ।
लाखेलाई तलेजु भवानीको संरक्षकका रूपमा लिइन्छ। तत्कालीन समयमा मान्छे खाने र हेर्दैमा डरलाग्दो भएकाले लाखेलाई सहरमा राख्न कसैले स्वीकारेनन्।
त्यसैले, शोभा भगवतीपारिको खुल्ला फाँटमा लाखेलाई बस्न लगाइयो। ‘मान्छे खाँदिन’ भन्ने वाचामा उसलाई इन्द्रजात्रामा प्रस्तुत गरिने चलन सुरु भएको मान्यता छ।
लाखेले ‘मान्छे खान्छ कि खाँदैन’ भनेर हेर्न ‘झ्यालिँचा’ का रूपमा सानो बालकलाई नाचमा उपस्थित गराइन्छ।
लाखे जताजता पुग्छ, ती ठाउँमा गएर झ्यालिँचाले जिस्काउँछ। झ्यालिँचाको उमेर ३ देखि १२ वर्षको हुन्छ। यसपटक ३ वर्षीय रमिर रञ्जित पहिलोपटक झ्यालिँचा बन्दैछन्।
गुणकामदेवको पालादेखि लाखे नाच सुरु भएको मानिन्छ। नेपाल सम्बत् ८०० तिरको अभिलेखमा यसको उल्लेख छ। कतिपयले भने राजा हरिसिंह देवले सिम्रौनगढबाट आफूसँगै लाखेनाच उपत्यका भित्र्याएको बताउँछन्।
येँया पुन्ही विशेषमा यी पनि पढ्नुहोस्ः