काँधसम्म कपाल। बलियो ज्यान। ठूलो आवाज। चहकिला आँखा। वाङ्दा शेर्पालाई देख्नेहरूले फिल्मका 'खलनायक' जस्तै मान्छन्। कतिले वास्तविक जीवनमै पनि 'गुण्डा' भनिदिन्छन्।
आफूले पाएका यी 'उपनाम'का निसान मेटाउन उनले सगरमाथातिर पदचाप बनाए। एक महिनाअघि चुचुरामा पुग्दा उनले एउटा सानो पताका लहराए, जसमा लेखिएको थियो- 'से नो टु ड्रग्स।'
'अलिकति होस नपुर्याएकाले मैले धेरै गल्ती गरेँ। जीवनका सुनौला वर्ष गुमाएँ,' ३६ वर्षीय वाङ्दाले भने, 'अन्धकारभित्रै जकडिएको जीवनबाहिर कति उज्यालो रहेछ। यही सन्देश मजस्ता अरूलाई दिन सकूँ भनेर सगरमाथाबाट लागुपदार्थबाट टाढै बसौं भनेको हुँ।'
तीन-चार वर्षअघिसम्म वाङ्दाको हुलिया मात्र होइन, छवि पनि 'गुण्डा' कै थियो। उनी सानै उमेरमा लागुऔषध लतमा फसेका थिए। परिवार समाजका नजरमा निकम्मा ठहरिए। जिन्दगीका उर्जाशील २० वर्ष लागुपदार्थले ध्वस्त पार्यो।
उनको जीवनका पछिल्ला १९ महिना भने फलदायी भएका छन्। उनले आफूलाई सबैखाले लागुपदार्थबाट अलग्याएको बताउँछन्।
'हो, म लागुपदार्थ दुर्व्यसनी थिएँ। जुनै समय नसामा हुन्थेँ। मलाई देख्दा आफन्त पनि तर्कीतर्की हिँड्थे,' उनले सुनाए, 'मेरो जमघट दुर्व्यसनीकै समूहसँग मात्र थियो।'
उनलाई आफ्नो जीवन बोझिलो लाग्थ्यो। दैनिक क्रियाकलापमा झर्को मान्थे। 'परिवारका सदस्य आँखा अगाडि नआइदिए पनि हुने,' यस्तै सोच्थे।
वाङ्दाको पुर्ख्यौली घर सोलुखुम्बु हो। आमाबुबा कामको सिलसिलामा भुटान गएका बेला उतै जन्मिए। बाल्यकाल भने झापा, काकडभिट्टामा बित्यो।
'परिवारको मायामा मात्तिएँ क्यार, संगत पनि उस्तै हुन्थ्यो। होस्टल बस्थेँ,' उनले भने, 'सुरूमा चुरोट सिकेँ। एक सर्को त हो, भन्दाभन्दै अम्मली भएँ।'
उनको अम्मली बाटो निगरानी गर्ने कोही भएन। परिवारमा कान्छो सदस्य, सुरूआती गल्तीमा धेरै हप्की खाएनन्। आर्थिक अवस्थाले छेकेन। एक सर्को चुरोट, गाँजा हुँदै लागुऔषधमा उनी झुम्मिन थाले। १४ वर्ष नहुँदै उनी दुर्व्यसनी बनिसकेका थिए।
'होस्टल र घरमा मैले सबैको आँखा छले जस्तो लाग्थ्यो, अहिले बुझ्दैछु, मैले आफ्नै भविष्य छलेछु। सबैको मायाको फाइदा उठाएछु,' वाङ्दाले सुनाए।
आफू मात्र कहाँ हो र, उनको जोडबलमा अरू पनि अम्मली बनेका छन्।
'जसरी म अरूको जोडबलमा लागुपदार्थ लिन्थेँ, मैले पनि अरूलाई जोड गरेँ। यो गल्ती मैले नगरेको भए हुन्थ्यो,' उनलाई ती दिन सम्झिँदा नराम्रो लाग्छ।
नसामा लर्खाउन थालेका वाङ्दाले जसोतसो एसएलसी सके र काठमाडौं आए। काठमाडौं आएपछि उनको स्थिति झनै खस्कियो। पढाइसँगै ट्रेकिङ/पर्वतारोहण क्षेत्रमा काम थालेका थिए। पैसा कमी हुन्थेन। काम भएको मान्छे भनेर साथीभाइले सापटी पत्याउँथे। नभए पनि आमाबाबुको गोजीले पत्याउँथ्यो। आमाबाबुको गोजीले पनि नपत्याए?
लागुपदार्थको नसाले उनलाई घरका बहुमूल्य सामानसम्म डोर्याइसकेको थियो। नपुगे दराज फोड्थे। उनले आफूलाई मात्रै रित्याएनन्, घर पनि खाली बनाउँदै गए।
'हप्ता-महिना दिनमा घर जान्थेँ। परिवारको अनुहारमा डर झल्किन्थ्यो, फेरि कुन चिज हराउने हो। म आतंकको रूप भइसकेको थिएँ,' उनले भने, 'तर मलाई केही महशुस हुन्थेन। नसाले तानिसकेको थियो जसमा संसार रमाइलो लाग्थ्यो। मेरो खत्रा नसाले जीवनको ट्रयाक सखाप पारेको देख्दै देखिनँ।'
उनी थप्छन्, 'दुर्व्यसनीले आफ्नो मात्र होइन, घर, परिवार र सिंगो समाजलाई नै तहसनहस बनाउँदो रहेछ।'
यही कुरा थोरै भए पनि वाङ्दाको दिमागमा छिर्यो।
'आफ्नो दुर्दशा देखेर आफैंप्रति दया लाग्यो,' उनले सुनाए।
सन् २००६ को एक बिहान। उनले मलिन स्वरमा दाजुलाई भनेका थिए, 'दाइ म सुध्रन चाहन्छु। मलाई सुधारकेन्द्र पुर्याइदिनु।'
उनी पुनर्स्थापना केन्द्र पुगे।
अठोट थियो- जीवन नयाँ सिराबाट सुरु गर्छु। तीन महिनापछि घर आउँदा निकै स्वच्छन्द महशुस गरे।
सुधारगृहबाट बाहिरिँदै गर्दा 'सुधारिएका' वाङ्दाको आत्मविश्वास चुलिएको थियो। सोचेका थिए, 'अब मैले सबै बिर्सिसकेको छु, म आफ्नो अनुशासनमा छु, बस्छु। मेरो समयले पालुवा फेर्यो।'
लत भए पो छुट्दो हो, कुलतबाट पन्छिन सजिलो कहाँ हुन्छ र! दुई साता काट्न गह्रो भयो। उनको आत्मविश्वासलाई नसाले हरायो।
शरीर कमजोर भयो। सुई घोच्दाघोच्दा दुवै हातका नसा शिथिल बने। अनेकथरी रोगले सताउन थाल्यो।
तब बल्ल उनले बुझे, 'सुधारिने प्रक्रिया लामो रहेछ। डुब्न जति सजिलो उत्रन हुने रहेनछ।'
नसासँग हार मान्न उनी तयार थिएनन्। फेरि सुधारगृह धाए। पटक पटक गरी लामो समय सुधारगृह बसिसकेपछि अहिले भने आफूलाई लागुपदार्थबाट अलग गराइछाडेको वाङ्दा बताउँछन्।
'१९ महिनादेखि सबैखाले कुलतबाट मुक्त छु,' उनले भने, 'लागुपदार्थ नै सबथोक सोच्थेँ, भ्रम रहेछ। दुर्व्यसन बाहिरको वास्तविक जीवन पो जीवन।'
सुधारगृहका अन्तिम तीन महिनालाई उनी जीवनको 'टर्निङ प्वाइन्ट' मान्छन्। त्यहाँको बसाइले अब के गर्ने भन्ने उद्देश्य जगाइदिएको थियो।
उनी भन्छन् 'परिवार त परको कुरा मैले त आफ्नै भविष्यको बारेमा एकपटक पनि सोचेकै रहेनछु।'
शरीर कमजोर थियो, 'पहिलेजस्तो पर्यटन गाइडसम्बन्धी काम गर्न सक्दैनस्, नगर्नू' भनेका थिए परिवारले।
यसपटक भने उनको आत्मविश्वास अग्लिएको थियो। सावित गर्नु थियो त परिवार, आफन्त र समाजलाई। यसैको प्रमाण दिन उनी पुगे सगरमाथा चुचुरोमा।
'म अहिले कुलतबाट मुक्त छु। विश्वको अग्लो ठाउँ पुगेर आएँ। यो मेरो जीवनकै ठूलो उपलब्धि हो,' उनी निर्धक्क सुनिन्छन्।
अहिले वाङ्दा सिजनको समयमा पर्यटकका गाइड बन्छन्। बाँकी समय 'से नो टु ड्रग्स' अभियानमा सक्रिय छन्। उनी आफूजस्तै लागुपदार्थ लतमा फसेका र त्यो अन्धकारबाट निस्कन चाहनेका लागि सहयोगी बन्ने प्रयासमा छन्। आफ्नो सफल उदाहरण पस्किँदै हिँडेका छन्।
पहिले वाङ्दा भेटिने जति सबैलाई 'म सुधारिएको छु' भन्दै सुनाउँथे। अचेल उनको कामले नै प्रमाणित गरिदिएको छ।
भन्छन्, 'पहिले अकास्मात भेट्नेहरू तर्किन्थे। अचेल बोलाएर खुसी र सम्मान प्रकट गर्न थालेका छन्।'
तर उनको विगतको छाप मेटिइसकेको छैन।
'कतिले अझै मरो विगत हेरेर मूल्यांकन गर्दा नराम्रो लाग्छ। अब यसले के गर्न सक्छ र भन्नेहरू पनि छन्, 'उनले भने, 'हरेक मान्छेको राम्रो/नराम्रो विगत हुन्छ। मेरो खराब थियो। बदलिएको छु। आफू बदलिए जस्तै अरूको सोच बदल्न पनि समय लाग्ने रहेछ।'
यो समय पनि टाढा देख्दैनन् वाङ्दा।
'जीवनभर पाएको खलनायक उपनाम फिर्ता गर्न म प्रयासरत छु। अठोट गर्नुपर्छ, नहुने के होला र,' उनले भने।
सबै तस्बिर स्रोतः वाङ्दा शेर्पा