बालाजुको बाइपास सडक, नुवाकोट र रसुवाबाट काठमाडौं भित्रिने नाका। योभन्दा बढी काठमाडौंबाट फोहोर बाहिरिने नाकाका रूपमा परिचित छ।
२०६२ सालमा नुवाकोट, ओखरपौवामा फोहोर फ्याँक्ने सहमति भएसँगै बालाजु–बाइपास फोहोरको ट्रान्जिट बन्यो। गत शनिबार फोहोर बोकेका केही थान ट्रक बाइपास सडकमा अडिएका थिए। गन्धले छेउछाउ हिँड्नेको खुम्चिएको अनुहारले समस्या प्रस्ट्याउँथ्यो।
केही थान टिपर सिसडोलतिर हुँइकिदै थिए। हामीले सिसडोल ल्यान्डफिल साइटतर्फ जाँदै गरेका ट्रक-टिपर पछ्यायौं। मुड्खु-भञ्ज्याङ पुगेपछि कालोपत्रे सकियो र कच्ची सडक सुरू भयो।
मुख्य बाटो छोडेर सिसडोलतिर लाग्दा दुई किलोमिटर वरैदेखि टिपर लामबद्ध थिए। ल्यान्डफिल साइटमै पुगेर बुझ्दा थाहा भयो– फोहोरमाथि माटो थुपारेर बनाइएको बाटो हिलाम्मे भएपछि तीन दिनदेखि गाडी माथि उक्लिन सकेका रहेनछन्। दुई किलोमिटर वरै गाडी थान्को लागे।
गत बिहीबार बिहान फोहोर लिएर आएको बताउँदै टिपर चालक श्याम तामाङले भने, 'अस्ति आएको, अझै पालो आएको छैन। आज पनि फोहोरकै थुप्रोमा बास होला जस्तो छ।'
उनले समस्या बताइरहँदा झन्डै २० वटा टिपर अगाडि थिए। डोजरको सहायता नभए टिपर साइटसम्म पुग्दैन। सहायता लिएर पनि दैनिक २० वटाभन्दा धेरै टिपर पुर्याउन नसकेको तामाङले सुनाए।
काठमाडौंबाट १७ किलोमिटर टाढा छ सिसडोल। नुवाकोट र धादिङलाई कोल्पु खोलाले ठाडो चिरेर सीमाना छुट्याएको छ। चारैतिर हरियाली डाँडो। वर्षाको मौसम छ। यतिबेला त्यहाँका फाँटहरूमा हावा बयली खेलिरहेको हुनुपर्ने हो।
विडम्बना रातदिन फोहोरका गाडीको लावालश्कर मात्रै देखिन्छ। भुसुना र झिँगाको भुनभुनाहट सुनिन्छ। नाकै टट्याउने दुर्गन्ध र अमिलो रागले सासै फेर्न मुश्किल हुन्छ। मास्कले थेग्दैन फोहोर कुहिएको गन्ध!
हामी एकछिन पुग्दा त खपिनसक्नु भयो, १४ वर्षदेखि सिसडोलबासी यो कहर सहन बाध्य छन्। उनीहरूको जीवन र ओखरपौवाको पर्यावरण 'नर्क' बन्दै छ। सिसडोल, कोल्पु बजार र वरपरका गाउँ, सिम्खडा गाउँ, साना गाउँ, घर्ती गाउँ लगायतका बासिन्दाको नाकमा गन्ध सिवाय केही पर्दैन। प्राकृतिक सुवास कस्तो हुन्छ, उनीहरूले भुलिसके।
'अझ कति वर्ष सहनुपर्ने हो,' स्थानीय निरीह हुँदै सुनाउँछन्, 'काठमाडौंले दिनसम्म सास्ती दियो।'
ल्यान्डफिल साइट नपुग्दै आउँछ कोल्पु बजार। बजार छेवैको चिया-खाजा पसल साहुनीको दैनिकी फोहोर ओसार्ने ट्रक-टिपर र तिनका चालकमाथि खनिँदैमा बित्छ।
'माथि गाउँ नभएतिर रोके पनि हुने, घरै अगाडि आएर रोक्छन्। अलिकति पनि सुद्धि छैन यिनीहरूको। मान्छे भएपछि घर वरपर रोक्न हुन्न भन्ने थाहा हुँदैन,' आँगन छेउ राकिएको गाडीमाथि रिस पोख्छिन् उनी।
तै कुनै चालक उनको कुरामा ध्यान दिँदैनन्। सुनेर पनि के गर्नु, अगाडि बढ्ने र पछाडि हट्ने बाटो नै नभएपछि।
स्थानीयका समस्याबारे बुझ्न खोज्दा उनले सुनाइन्, 'कसैलाई भनेर पनि के हुने हो र, आफ्नो दुःख आफैंसँग छ। यहाँ बसेर बाँच्न मुश्किल परिसक्यो। थातथलो नै छाडेर जानु पनि कहाँ।'
'फोहोर त फोहोर भइहाल्यो, महानगरको सोचाइ पनि फोहोरी भइदियो र पो हामीले दुःख पायौं,' उनले थपिन् 'हाम्रो ठाउँमा बसेर सोच्नुपर्दैन? सहरबासीलाई मात्रै सुख सुविधा चाहिने? हामी चाहिँ मरे–बाँचे केही फरक नपर्ने। यस्तो पनि हुन्छ?'
आफूलाई परेको अन्यायविरुद्ध बोल्दा राज्यले लाठी वर्षाएको दुई साता बित्दैछ। त्यसयता काठमाडौं महानगरले नयाँ नौलो मान्छेसँग बोल्न बन्देज गरेको स्थानीय नै बताउँछन्। झट्टपट्ट खुलेर कुरा गर्दैनन् पनि। यी साहुनी बोले पनि नाम भन्न चाहन्नन्।
फोहोरको थुप्रोमा बाख्रा चराइरहेकी एक स्थानीय महिला पनि बोल्नै मानिनन्।
निकै कोशिश गर्दा फोहोरबाट निस्केको तरल पदार्थ (लिचेट) बग्ने बाटो बनाइरहेका एक स्थानीयले समस्या फुकाए।
'हामीलाई फोहोरकै थुप्रोले थिचिसक्यो। परिवारमा एक न एक जना बिरामी परिरहन्छन्। अहिले त अन्यायविरुद्ध बोल्न पनि पाइँदैन। लाठी खानुपर्छ, बोलेर के गर्नु,' उनले गुनासो पोखे।
नबोल्नु नै जाती ठानेर महानगरले दिएको काममा खटिरहेका छन् उनी। दैनिक ६ सय रूपैयाँ ज्यालादारीमा दिनभर फोहोर खोस्रने काम उनी लगायत ९ जनाले पाएका छन्। तर उनीहरूलाई लाग्छ, यो काम मुख बन्द गराउने अर्को 'षड्यन्त्र' मात्रै हो।
टालेटुले सहमतिमा मात्रै कति दिन रमाउनु? यही भनेर दुई-चार पैसा कमाउन स्थानीय अगुवाले काम सुरू गरेका हुन्।
काठमाडौंमा दैनिक आठ सय टन फोहोर उत्सर्जन हुन्छ। वर्गीकरण नगरी एकै ठाउँमा हाल्दा परिमाण अझै बढ्न सक्छ। यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर-ट्रक ककनी गाउँपालिका–२ को सिसडोल पुग्छन्। काठमाडौं, ललितपुर, भक्तपुरसहित १८ वटै पालिकाको फोहोर यहाँ पुग्छ।
सिसडोलका स्थानीय राममणि घिमिरेका अनुसार तीन सय मेट्रिक टन फोहोर फ्याँक्ने सहमतिमा सुरू भएको परीक्षणकै कारण समस्या चुलिएको छ।
उचित व्यवस्थापन हुने हो भने फोहोर समस्या भए पनि विकराल बन्दैन। विसर्जन र निकास सही नहुँदा यहाँको फोहोरले धादिङ, नुवाकोट, काठमाडौंवासीलाई पिरोलेको छ। अझ 'लिचेट' बगेको हिसाब गर्ने हो भने त त्रिशूली नदीलाई नै प्रदूषित तुल्याएको छ। समस्या टेकुदेखि नै सुरू हुन्छ।
फोहोर संकलनको जिम्मा महानगर अन्तर्गतका वडाले विभिन्न निजी कम्पनीलाई दिएका छन्। तिनले बटुलेको फोहोर सिधै टेकुस्थित संकलन केन्द्र पुर्याइन्छ। र, तीन–चार दिन सडाएपछि ट्रकमा हालेर सिसडोल लगिन्छ। नियम त सोही दिन सम्बन्धित ठाउँमा लैजानु हो। तर महानगरले व्यवहारमा लागू नगरेपछि टेकुबासी पनि हैरान छन्।
काठमाडौंको फोहोरको समस्या टेकुदेखि सिसडोलसम्मकाले खेप्दै आएका छन्। फोहोर बोकेर सहर घुम्दै जाने गाडी एक घन्टाभन्दा बढी बालाजुमा अडिन्छन्। गाडीमा जम्मा भएका फोहोरको तरल पदार्थ खुला सडकमै निथार्छन्। सानो-तिनो नालै बगाउँछन्। यो क्रम सिसडोल नपुग्दा सम्म चलिरहन्छ।
सबै तस्बिरः समिक्षा अधिकारी/सेतोपाटी