चितवन राष्ट्रिय निकुञ्जको कुसुम खोलामा घर जलाइएको-भत्काइएको विषयमा बुझ्न चितवन आएको संसदीय समितिको टोली घटनास्थलमै नपुगी काठमाडौं फर्किएको छ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीसहित तीन सदस्यीय टोली मंगलबार चितवन आएको थियो।
एक दिन चितवनमै बसेको उक्त टोली माडी नगरपालिकाको बगईसम्म पुगेको थियो। बगई भरतपुर-माडी-ठोरी हुलाकी राजमार्गमा पर्छ। कुसुम खोला पुग्न बगईबाट करिब दुई घन्टा पैदल यात्रा गर्नुपर्छ। अप्ठ्यारो बाटो र एउटै खोला कैयौं पटक तर्नुपर्ने भएका कारण यहाँ पुग्न सहज छैन।
कुसुम खोला नजाने टुंगोमा पुगेको समितिले त्यहाँका स्थानीयलाई राजमार्गनजिकै रहेको गोविन्दबस्ती निमाविमा बोलाएको थियो।
उनीहरू समयमा आइनपुगेको भन्दै समिति माडीका मेयर, केही स्थानीय नेता र निकुञ्जका प्रतिनिधिसँग कुरा गरेर बुधबार काठमाडौं फर्किएको थियो।
समितिको टोलीलाई मेयर ठाकुर ढकालले घटनाक्रम सुनाएका थिए। उनले सहमतिमै बस्ती स्थानान्तरण गर्ने काम भइरहँदा आफू र दुई जना वडाध्यक्षसहित निकुञ्जका वार्डेन, नेपाली सेनाका प्रमुखविरूद्ध बेनामी उजुरी परेपछि समस्या आएको बताएका थिए।
स्थानीय नेताहरूले निकुञ्जको अव्यवहारिक कानुनका कारण द्वन्द्व चर्किँदै गएको बताएका थिए।
साविकको अयोध्यापुरी गाविसका पूर्वअध्यक्ष समेत रहेका नेकपा माडीका सचिव नारदमणि पौडेलले निकुञ्जको ऐन परिवर्तनको आवश्यकता भएको बताएका थिए। जनता र निकुञ्ज बीचको मुठभेड हटाउन नीतिगत परिवर्तनको खाँचो रहेको भन्दै उनले संसदीय टोलीको ध्यानाकर्षण गराएका थिए।
पूर्वसांसद गोविन्द चेपाङले विकल्प नदिइकन चेपाङविरूद्ध खनिएको भन्दै निकुञ्जको विरोध गरे। उनले निकुञ्जमा माछा मार्न गएका सर्वसाधारणलाई कुट्ने, दुःख दिने गरेको भन्दै नीति नियम समय अनुकूलको बनाइनु पर्ने बताए।
समिति सभापति सुवेदीले काठमाडौं गएर प्रधानमन्त्री, पार्टी अध्यक्ष र वन मन्त्रीलाई सबै कुरा जानकारी गराउने बताइन्। संसदीय टोलीमा सांसदहरू राजबहादुर बुढा र कान्तिमायाँ पाख्रिन थिए।
नयाँ चिफ वार्डेन भन्छन्- कानुनमा टेकेर निर्णय गर्छु
चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बरालले राज्यको कानुनलाई टेकेर निकुञ्ज संरक्षणमा केन्द्रित हुने बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै उनले चितवन निकुञ्जलाई संसारकै ‘बेटर पार्क’ को रूपमा विकास गर्न वन र वन्यजन्तुको संरक्षणमा ध्यान केन्द्रित गर्ने बताए।
मध्यवर्ती क्षेत्रमा बनाइएका घर-टहरा जलाएको, बस्ती स्थानान्तरणका क्रममा मध्यवर्ती क्षेत्रमा सयौं रूख कटान गर्दा पनि मुकदर्शक बनेर बसेको, माछा मार्न पुगेका व्यक्ति माथि सेनाले कुटपिट गरेकोलगायतका विषयमा धेरै आलोचना भएपछि अघिल्ला चिफ वार्डेन नारायण रुपाखेतीलाई विभागमा तानेर बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन बराललाई चितवन ल्याइएको थियो। नयाँ वार्डेनको आगमनसँगै ती विषयहरु कसरी अघि बढ्लान् भन्ने चासो बढेको छ।
बरालले माडीको कुसुमखोलाको बस्तीमा भएको घटना र स्थानान्तरणका क्रमा मध्यवर्ती क्षेत्रका रुख काटिएको विषयमा अध्ययन गरिरहेको बताए।
‘म अहिले ती सबै विषयहरु बुझ्ने क्रममा छु। आफै पनि कुसुमखोला पुगेर अवस्था बुझ्छु, स्थानान्तरण गरिएको ठाउँको अवस्था पनि हेर्न जान्छु,’ उनले भने, ‘त्यसपछि मात्रै कुनै निर्णय लिनुपर्ला।’
उनले नेपाल सरकारले निर्देश गरेको कानुनभन्दा तलमाथि जान नसकिने प्रस्ट्याए।
‘केही कुरामा व्यवहारिकता पनि हेर्नुपर्छ भन्ने पनि छ तर हामीले निर्णय गर्दा संरक्षणमा असर नपरोस् भन्नेमा भने सचेत रहनुपर्छ,’ उनले भने। व्यवहारिकता हेर्दा त्यसलाई कमजोरीका रूपमा बुझ्ने समस्या रहेको भन्दै उनले सबै विषयलाई ध्यानमा राखेर निर्णय लिने बताए।
बरालले २०६३ देखि २०६७ सालसम्म चितवनमा काम गरेका थिए। त्यो अवधिमा उनले तीन वर्ष निकुञ्जको सहायक संरक्षण अधिकृत भएर काम गरे भने बाँकी समय मध्यवर्ती क्षेत्रमा काम गर्दै आएको तराई भूपरिधि कार्यक्रम(ताल)मा काम गरेका थिए।
उनले देशकै परिचयका रूपमा रहेका एकसिंगे गैंडा, बाघ, हात्तीलगायतका वन्यजन्तु र वन संरक्षण प्राथमिकतामा रहेको बताए।
‘साथै मानव-वन्यजन्तु द्वन्द्व, राहत, पर्यापर्यटन, मध्यवर्ती क्षेत्रमार्फत् विकास निर्माणका गतिविधिलाई पनि ध्यानमा राख्नु पर्नेछ”, उनले भने।
रिपुमायाको प्रश्न-माछा मार्न खोज्दा सेनाले मान्छे नै मर्ने गरी कुट्नु पर्थ्यो र?
सैनिकको कुटाइबाट मृत्यु भएका राजकुमारको शव बुझ्यो परिवारले