चितवनमा बाघको आक्रमणबाट पुन: एक जनाको मृत्यु भएको छ।
पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा सोमबार बिहान बाघको आक्रमणबाट रत्ननगर नगरपालिका-६ बछ्यौलीका अन्दाजी ५५/६० वर्षीय बबना चौधरीको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
बिहान ९ बजे घाँस काट्न पुगेका उनलाई बाघले आक्रमण गरेको खबर पाएपछि खोजी सुरू गरिएको थियो। उनी निजी हात्तीलाई घाँस काट्न वनमा गएका थिए।
शव घटनास्थलमा रहेको र मुचुल्का उठाउने काम भइरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता अशोक रामले जानकारी दिए।
दुई दिन अघिमात्रै चितवनमा बाघकै आक्रमणबाट एक पुरूषको ज्यान गएको थियो। आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको थियो।