लुम्बिनी प्रदेश सरकारले आइतबार पाल्पा जिल्लाभरि सार्वजनिक बिदा दिएको छ।
पाल्पामा आज श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्रा हुने भएकाले सार्वजनिक बिदा दिइएको हो।
नेपाल र इस्ट इन्डिया कम्पनीबीच विस १८७१/०७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाउँदै आइएको छ ।
युद्धमा विजयपछि कर्णेल उजिरसिंह थापाले महिषासुर मर्दिनी भगवतीको मन्दिर स्थापना गरी रथ जात्राको परम्परा सुरु गरेको ऐतिहासिक तथ्य छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले जात्राको शुभकामना दिएका छन् ।
उनले जात्राले केवल विजयको गौरव मात्र नभई धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश बोकेको बताएका छन्।
आपसी सहकार्य र भाइचारालाई मजबुत बनाउनुका साथै पुराना परम्परा र धार्मिक मान्यताहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका जात्राले खेल्दै आएको उनले बताएका छन्।