चितवनमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ। बुधबार गरिएको परीक्षणमा चितवनका ७४ जनासहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ र नवलपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ५२ जनासहित ६१ जनामा संक्रमण पुष्टि भएको छ।
यसअघि बुधबार दिउँसो जिल्ला स्वास्थ्य कार्यालयले प्रकाशन गरेको विवरणमा जिल्लामा १९ सय २८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो ।
बुधबार थपिएका ७४ जनासमेत गरी चितवनमा संक्रमितको संख्या २ हजार २ पुगेको छ । बुधबार संक्रमण पुष्टि हुनेहरु मध्ये भरतपुर महानगरपालिकाका मात्रै ५० जना छन्।
रत्ननगर नगरपालिकाका ११, खैरहनी नगरपालिकाका ७, राप्ती नगरपालिकाका ५ र माडी नगरपालिकाका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।
संक्रमितहरु २ देखि ७३ वर्ष सम्मका छन्। चितवनमा कोरोना पुष्टि भएकामध्ये अधिकांश होम आइसोलेसनमा छन्। अहिलेसम्म २० जना संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुने अधिकांश मिर्गौला, निमोनियाका बिरामीहरु छन्।