चितवनमा हुँदै आएका हात्ती पोलो, हात्ती दौड, छावाहरूको फुटबल, हात्तीको वनभोज, श्रृंगार लगायतका प्रतियोगिताले विदेशीको पनि ध्यान खिच्दै आएको छ। यी प्रतियोगितामा अन्य देशहरूले पनि सहभागिता जनाउँछन्।
तर जब सौराहामा हात्तीसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिता सुरू हुन थाल्छन् तब एउटा आवाज बुलन्द बन्छ ‘हात्ती माथिको दुर्व्यवहार बन्द गर’। पिटेर, कुदाएर गरिने खेलहरूले दुर्लभ हात्तीहरू लोप हुने खतरा बढेको भन्दै पशु अधिकारवादीहरूले विरोध गर्दै आएका छन्।
वर्षौ देखिको यो विरोधलाई नजरअन्दाज गर्दै आएका यहाँका हात्तीपालकहरू अब भने हात्तीका गतिविधिमा विविधिकरण गर्न तयार भएका छन्।
सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्तीको उमेर र अवस्थालाई ध्यानमा राखेर उपयुक्त गतिविधिमा सहभागी गराउनेगरी तयारी सुरू भएको बताए।
यहाँ बुढा र अशक्त हात्तीहरूलाई पनि जंगल सफारीमा सहभागी गराइएकोमा सबभन्दा धेरै आलोचना हुने गरेको छ। सोही कारण प्रायः युरोपियन, अमेरिकन पर्यटकहरूले हात्ती चढ्नै छाडेका थिए।
हात्तीपालकहरूले अब भने बुढा र अशक्त हात्तीहरूका लागि ‘वाइल्डलाइफ स्यान्क्चुरी’ को तयारी गर्दैछन्।
उनीहरूले तयारी गर्दै गरेको स्यान्क्चुरी यस्तो क्षेत्र हो, जहाँ निश्चित क्षेत्र निर्धारण गरेर त्यस्ता हात्तीहरूलाई राखिनेछ।
‘त्यहाँ रहने हात्तीहरूले मान्छे बोक्ने काम गर्ने छैनन्। ती हात्तीहरू आफ्नो क्षेत्र भित्र रमाउँछन्’, तिवारीले भने, ‘पर्यटकहरूले स:शुल्क यिनका गतिविधिहरू हेर्नेछन्।’
यसो गर्दा हात्तीको अधिकार पनि हनन् नहुने र हात्तीमार्फत् कमाइ पनि हुने भएकाले व्यवसायीहरू स्यान्क्चुरी अवधारणामा तयार बनेको उनले बताए।
चितवनमा अहिले ७० भन्दा बढी निजी हात्तीहरू छन्। यीमध्ये अहिले ४२ वटा सौराहामा छन्।
लकडाउन अघि ५५ वटा रहेकामा पाल्न गाह्रो भएपछि भारतबाट भाडामा ल्याइएका केही हात्ती फिर्ता गरिएको थियो।
अहिले भएका हात्तीमा केही बुढा र केही अशक्त छन्। ८० देखि एक सय वर्ष आयु रहने हात्तीलाई ६५ वर्ष कटेपछि बुढो मानिन्छ। अहिले यहाँ केही हात्ती रोगका कारण खुट्टा र आँखामा समस्या भएका पनि छन्।
पशु अधिकारवादीहरूको विरोध बढ्दै गएपछि व्यवसायीहरू केही वर्षअघि बैंकक पुगेर त्यहाँको हात्ती व्यवसायको अवलोकन गरेका थिए।
कतिपयले अन्य देश पनि पुगेर अध्ययन गरे।
‘हामीले वाइल्डलाइफ टुरिजममा आधारित विभिन्न देशमा पुगेर अध्ययन गर्दा धेरै प्रकारका मोडलहरू देख्यौं, त्यहाँ हात्ती चढाएर मात्रै होइन देखाएरै पनि धेरै पर्यटकलाई आकर्षण गर्ने गरिएको छ’, क्षेत्रीय होटल संघ नेपाल सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने, ‘हामी पनि त्यहीअनुसार गर्न सक्छौं कि भनेर तयारीमा छौं।’
हात्तीपालकहरूले जंगल सफारीबाहेक हात्तीसँग नुहाउने, जंगलमा हात्तीसँग हिँड्ने, यिनको दिनचर्यालाई नियाल्ने गतिविधिहरूलाई अघि बढाउने तयारी गरेका छन्।
यी सबै गतिविधिहरूलाई पनि स:शुल्क गर्न मिल्ने भएकाले अहिले प्रायः हात्तीपालक तयार बनेको उनले बताए।
पशु अधिकारवादीहरूको दबावका कारण केही वर्षमा हात्ती सफारी, हात्ती दौड लगायतका खेलहरू बन्द हुनसक्ने भएकाले पनि यसको विकल्प खोज्नु आवश्यक देखिएको घिमिरे बताउँछन्।
स्यान्च्युरी मोडलमा जान यहाँका करिब २ दर्जन व्यवसायीहरू तयार भइसकेका छन्।
सहकारी संस्था स्थापना गरेर उक्त संस्थामार्फत् हात्ती सञ्चालन गर्ने तयारीमा उनीहरू छन्। यसो हुँदा अहिले व्यक्तिले पालिरहेका हात्तीहरूलाई एकीकृत गरेर सहकारी संस्थामार्फत् व्यवस्थापन गरिने घिमिरेले बताए।
‘हात्तीको मूल्यअनुसार शेयर बाँडफाँट गरिन्छ, हात्ती नहुने व्यवसायीले पनि त्यहीअनुसार शेयर हाल्ने व्यवस्था मिलाउँछौं’, उनले भने, ‘यसो गर्दा व्यक्तिले हात्ती पाल्ने झन्झट पनि हराउँछ, खर्च घटाउँदै पर्यटनलाई थप व्यवस्थित बनाउन सकिन्छ भन्ने विश्वास लिएका छौं।’
सहकारीले स्यान्च्युरीका अलावा हात्तीको प्रजनन् केन्द्र पनि सञ्चालन गर्ने तयारी उनीहरूको छ।
सौराहामा हात्ती पाल्न थालिएको करिब ३५ वर्ष भयो। भारतबाट विभिन्न प्रयोजनका लागि भनेर नेपाल ल्याएर पर्यटनमा प्रयोग गरिएका हात्तीहरूले १२ वर्षदेखि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामार्फत् स्थानीय बाघमारा सामुदायिक वनमा जंगल सफारी गराउँदै आएका छन्।
यहाँ भएका सबै निजी हात्ती पोथी हुन्। तर यो अवधिमा सौराहामा तीन वटा छावामात्रै जन्मिएका छन्।
अब भने हात्तीपालकहरूले नयाँ सहकारी संस्था स्थापना गरेर सामुदायिक वन क्षेत्रमा प्रजनन् केन्द्र सञ्चालन गर्ने तयारी गरेको तिवारीले बताए।
सौराहा नजिकै खोरसोरमा सरकारी हात्तीहरूको प्रजननका लागि प्रजनन् केन्द्र छ।
‘हामीले पनि त्यस्तै किसिमको प्रजनन् केन्द्र सञ्चालन गर्ने तयारी गरेका छौं, यसो गर्दा हात्तीका लागि भारतकै मात्र भर पर्नुपर्ने बाध्यता हट्छ’, उनले भने, ‘प्रजनन् योग्य हात्तीलाई केन्द्रमा राख्ने, बुढा र अशक्तलाई स्यान्च्युरी तथा योग्य हात्तीलाई सफारीमा पठाउने योजना हो।’
यी सबै गतिविधिका लागि सामुदायिक वनको जमिन प्रयोग गर्ने तयारीमा उनीहरू छन्।
यसका लागि बाघमारा, कुमरोज र चित्रसेन सामुदायिक वन क्षेत्र हेरिएको छ। सामुदायिक वनले नदिए भाडामा जमिन लिएर काम अघि बढाउने तयारी भएको तिवारीले बताए।
व्यवस्थापनका लागि सहयोग गर्न विदेशी संस्थाहरूसमेत तयार रहेको उनले बताए।
हात्तीपालकहरूका बीचमा एकता नहुँदा अहिलेसम्म यो सम्भव नभए पनि लकडाउनका कारण पर्यटन व्यवसाय थला परेपछि उनीहरू नयाँ अवधारणाअनुसार अघि बढ्न तयार भएका हुन्।
लकडाउनमा होटलहरू ठप्प बन्दा पनि हात्तीपालकहरूले दैनिक २ हजार रुपैयाँ भन्दा बढी हात्तीका लागि खर्च गर्दै आएका थिए।
यहाँका पर्यटन व्यवसायीहरूले पर्यटक आकर्षणका लागि भारतबाट ८० लाख देखि एक करोड रुपैयाँसम्म लगानी गरेर हात्ती ल्याउने गरेका छन्।
केहीले मासिक ६० हजार रुपैयाँसम्म तिरेर भाडामा हात्ती ल्याएका छन्।
‘हात्तीले नै कमाइ गरेर धेरै आम्दानी गरौंला भन्ने त छैन तर हात्ती हुँदा पर्यटकको ध्यान तानिने भएका कारण अकर्षण बढ्दै गएको हो’, तिवारी भन्छन्, ‘अबका दिनमा पर्यटनलाई अघि बढाउन पनि नयाँ ढंगले सोच्नु जरूरी देखियो।’