भरतपुर महानगरपालिकाले १७ विद्यालयका १३५ जना विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ। विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि महानगरका ५ वटा वडाका छात्राहरुलाई साइकल प्रदान गरिएको हो।
जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना हो।
कोभिड १९ का कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले अहिले हस्तान्तरण गरिएको मेयर रेनु दाहालले बताइन्।
भरतपुर–२२ को पटिहानीमा रहेको आधारभूत विद्यालयमा एक कार्यक्रम गरी दाहालले विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरिन् । प्रतिवडा २७ साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो।
महानगरले १२ वटा वडाका ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन्। साइकलका कारण विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईलाई निरन्तरता दिन सहज हुने छात्राहरुले बताए।
मेयर दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन्। महानगरका आधारभुत विद्यालयलाई ल्यापटप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनले बताइन्।
उपमेयर पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर निकै लागिपरेको र सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्ने गरी महानगर लागेको बताए ।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले पछाडि परेका समुदायका छात्राहरुको शैक्षिक निरन्तरताको दर कम भएकाले विद्यालय तहको शिक्षा पूरा गराउने दायित्व स्थानीय सरकारको भएकाले यो कार्यक्रम प्रभावकारी हुने बताए।