सरकारले लक्षण नभएका कोरोना संक्रमितको पिसिआर परीक्षण नगर्ने नीति लिएपछि संक्रमण थप फैलन थालेको छ।
विज्ञ चिकित्सकहरूकाअनुसार लकडाउन र निषेधाज्ञा खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको र शंकास्पद व्यक्तिहरू पनि परीक्षण नगरी हिँड्न थालेका कारण खतरा बढेको छ।
विगतमा कोरोनाका शंकास्पद व्यक्तिहरूको पिसिआर परीक्षण गर्ने र पोजेटिभ देखिए उनीहरूसँग सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरिन्थ्यो। कोरोना पोजेटिभ देखिएकामाथि सुरक्षाकर्मीले समेत निगरानी गर्ने गर्दथे।
‘तर अहिले लक्षण नभएकालाई परीक्षण नै नगर्न निर्देशन छ, गाउँ, घर, बजारको चहलपहल सम्हालिनसक्नुको छ’, भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका फिजिसियन डाक्टर भोजराज अधिकारी भन्छन्, ‘उनीहरूबाट वृद्धवृद्धादेखि दीर्घरोगीसम्म तीव्र गतिमा कोरोना फैलन थालेको छ।’
डा.अधिकारीकाअनुसार लकडाउनको समयमा चितवनमा कोरोना पुष्टि हुनेहरूमध्ये ६८ प्रतिशत लक्षण नभएका थिए, ३० प्रतिशत हल्का लक्षण भएका थिए भने आइसियू र भेन्टिलेटर नै आवश्यक पर्ने लक्षण भएका संक्रमित २ प्रतिशत थिए।
तर लकडाउन खुलेपछि लक्षण नभएका संक्रमितको संख्या बढेर ८० प्रतिशत पुगेको, हल्का लक्षण भएका र आइसियू, भेन्टिलेटर नै आवश्यक पर्ने संक्रमितको संख्या १०/१० प्रतिशत पुगेको छ।
‘यो असाध्यै जोखिमपूर्ण अवस्था हो’, डा.अधिकारीले भने, ‘यो तथ्यांकले कोरोनाभाइरस बोकेर डुल्नेको संख्या निरन्तर बढिरहेको देखाउँछ।’
सरकारले लक्षण नभएका व्यक्तिलाई सरकारी ल्याबमा परीक्षणको अनुमति दिएको छैन।
आशंका हुने कतिपयले निजी ल्याबमा शुल्क तिरेर परीक्षण गराउने गरेका छन्।
डा.अधिकारीकाअनुसार पछिल्ला दिनमा आइसियू र भेन्टिलेटरको आवश्यकता पर्नेहरू संक्रमितहरूको संख्या निकै बढेको छ।
५० वर्षभन्दा माथिका, कलेजो, फोक्सो, मुटु, मिर्गौलाको समस्या, निमोनिया, दमलगायतका रोग भएका संक्रमितको संख्या बढ्न थालेको छ।
लक्षणसहित आउने संक्रमितको संख्या बढ्न थाले पनि अस्पतालले आइसियू र भेन्टिलेटरमा सेवा दिन सकेको छैन।
यसले मृत्युदर बढाउने खतरा बढेको अधिकारी बताउँछन्।
चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्साल कन्ट्याक्ट ट्रेसिङ बन्द गरिएसँगै सर्वसाधारणका लागि परामर्श पनि बन्द भएका कारण जोखिम बढेको बताउँछन्।
पछिल्ला दिनमा संक्रमितका लागि आइसियू बेड मिलाइदिनुपर्यो भनेर धेरै दबाव आउने गरेको उनी बताउँछन्।
‘तर हामीसँग भएका आइसियू र भेन्टिलेटर सबै भरिएका छन्, सकेसम्म व्यवस्थापन गरेर चलाइरहेका छौं’, डा.लम्सालले भने, ‘पछिल्ला दिनमा चाप थेगिनसक्नुको छ।’
विगतमा सामान्य लक्षण भएका संक्रमित आउने गरेकोमा पछिल्ला दिनमा बढी जोखिम भएका संक्रमितहरू आउने गरेको उनी बताउँछन्।
कतिपय दीर्घरोगीहरूमा अस्पताल पुगेपछि मात्रै कोरोना पुष्टि भएको छ।
उनीहरू नजानिँदो रूपमा आफन्तहरूबाटै संक्रमित भएर आउने गरेको अनुमान डा.लम्सालको छ।
अस्पतालमा कार्यरत धेरै स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा पनि सेवा दिइरहेको डा.लम्सालले बताए।
उनकाअनुसार विगतमा विभिन्न सरकारी निकायमार्फत् बिरामीहरू उपचारका लागि आउने गरेकोमा अचेल संक्रमितहरू सिधै आकस्मिक कक्षमा प्रवेश गर्न खोज्छन्।
‘घरबाट फोन गरेर आइसियू चाहियो भन्छन्, खाली छैन भन्यो भने विभिन्न पावर देखाएर दबाव दिने चलन छ’, उनले भने, ‘बेड खाली छैन भन्दाभन्दै पनि एम्बुलेन्समा चढेर आकस्मिक कक्ष छिर्न खोज्छन्।’
यसले अन्य बिरामीहरूलाई पनि खतरा बढाएको उनी बताउँछन्।
डाक्टर लम्सालले महिनौंदेखि लगातार काममा खट्दा स्वास्थ्यकर्मीहरू शारीरिक तथा मानसिक तनावमा पर्न थालेको भन्दै बढ्दो दबावका कारण उपचार कमजोर हुने हो कि भन्ने आशंका बढेको बताए।
उनले सबै अस्पतालहरूले कोरोना संक्रमितको उपचार नगराउँदा सीमित अस्पतालहरूलाई दबाव परेको बताए।
केन्द्रीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा १० शैयाको कोभिड आइसियू, ८ वटा भेन्टिलेटर र १७५ शैयाको कोभिड वार्ड छन्।
चितवन मेडिकल कलेजमा ५९ शैयाको कोभिड आइसियू, ५ वटा भेन्टिलेटर र ६० शैयाको कोभिड वार्ड छन्।
पुरानो मेडिकल कलेजमा १६ शैयाको आइसियू, ३ शैयाको भेन्टिलेटर र १०० शैयाको कोभिड वार्ड छन्।
यी बाहेकका अन्य केही अस्पतालहरूले पनि कोरोना संक्रमितको उपचार गर्छन्। तर जिल्लाका ५० प्रतिशत भन्दा बढी अस्पतालहरूमा कोरोना संक्रमितको उपचार गरिँदैन।
ती अस्पतालहरूले कोरोनाका शंकास्पद बिरामीहरूलाई पनि सरकारी अस्पताल तथा मेडिकल कलेजहरूमा रिफर गर्ने गरेका छन्।
ठूला अस्पतालहरूले भने बिरामीको चापलाई थेग्न नसक्दा जटिल अवस्थाका बिरामीलाई काठमाडौंका अस्पतालहरूमा रिफर गर्दै आएका छन्।
चितवनमा अहिलेसम्म करिब २ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये ११ सय जना सक्रिय संक्रमितहरू हुन्। सक्रिय संक्रमितहरूमध्ये ७० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन्।
‘होम आइसोलेसनमा रहेकाहरू र उनीहरूमार्फत अन्य व्यक्ति अझ खतरामा पर्न सक्छन्’, डाक्टर लम्सालले भने, ‘उनीहरूले औषधि, उपचार केही पनि पाएका छैनन्, कसरी बस्दैछन् भन्ने विषयमा निगरानी पनि कमै भएका छन्।’
चितवनका कोरोना संक्रमितहरूमध्ये अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू अधिकांश दीर्घरोगी छन्।