‘चेपाङ’ शब्द सुन्नेबित्तिक्कै प्रायःले सोचिहाल्छन्, गिठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीवन चलाउने समुदाय। तर, समयक्रमसँगै यो समुदाय पनि परिस्कृत बन्दै गएको छ। चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने उनीहरू व्यावसायिक मात्रै बन्दै छैनन्, अन्यसँग पनि प्रतिस्पर्धा गरिरहेका छन्।
चितवन, मकवानपुर, धादिङ, गोरखालगायतका जिल्लाका पहाडी क्षेत्रमा चेपाङको बसोबास छ। चेतनाको कमीले गर्दा उनीहरुमध्ये प्रायःले परम्परालाई मात्र पछ्याइरहन्थे। तर, पछिल्ला दिनमा उनीहरू कृषि तथा पशुपालनमा अग्रसर भइरहेका छन्।
राप्ती नगरपालिकाको वडा नम्बर १० की सुकमाया चेपाङलाई घरमा बस्ने फुर्सद पनि छैन। खोरमा रहेका चालीस वटा बाख्राको स्यहारमा उनलाई भ्याइनभ्याइ छ। त्यही बाख्रा हो उनको परिवारको सहारा। बाख्रा बिक्री गरेर आउने रकमले सुकमायाको परिवारको जीवन चल्ने गरेको छ। ‘परिवारको वर्षभरिको खर्च चलाएर केही रकम बचत पनि गछौं,’ उनले भनिन्।
उनलाई जीवन धान्न विगतमा जंगल गएर कन्दमूल खोजेर खानुको विकल्प थिएन। तर अहिले बस्ने घर छ अनि घरको सामुन्नेमा सुधारिएको खोर छ। खोरमा टनाटन बाख्रा छन्। ‘दसैंको बेलामा धेरै खसी बिक्री हुन्छ,’ उनले भनिन्, ‘बिक्री नहोला कि भन्ने समस्या छैन, मूल्य पनि भने जस्तै पाइन्छ।’
वार्षिक दुई लाख रुपैयाँ भन्दाबढी आम्दानी हुने गरेको उनले बताइन्। श्रीमान सुकराम पनि यही व्यवसायलाई सघाउँछन्। ‘श्रीमती बाहिर गए म घरको काम गर्छु, म बाहिर गए उनी घरको काम गर्छिन्,’ सुकराम भन्छन्, ‘राम्रै चलिरहेको छ, अझै राम्रो गर्ने प्रयास गर्दैछौं।’
राप्तीको ढाँड खोलाकी वनमाया प्रजाले बाख्रा पाल्न थालेको चार वर्ष भयो। व्यावसायिक रुपमा बाख्रा पाल्न थालेपछि उनका दुःखका पहाडहरू होचा बन्दै छन्। ४५ वटा बाख्रा पालिरहेकी उनलाई अन्यत्र ध्यान दिने फुर्सद छैन। ‘पहिले फुर्सद हुँदा गाउँघर डुल्ने, जंगल जाने गरिन्थ्यो, अहिले त समय खाली नै हुँदैन,’ उनले भनिन्, ‘यही व्यवसायमा ध्यान दिनपाए अझ राम्रो हुन्थ्यो झैं लाग्छ।’
रोजगारीका लागि खाडी मुलुक पुगेका दिलबहादुर चेपाङ केही वर्षदेखि गाउँमै छन्। श्रीमती मनमायाले सुरु गरेको बाख्रा पालनमा उनले सघाइरहेका छन्। श्रीमान विदेशबाट फर्कँदा सामान्य खोरमा बाख्रा पालेकी थिइन् मनमायाले। पछि दिलबहादुर आफैंले व्यावसायिक खोर बनाए।
अहिले उनको खोरमा २० वटा बाख्रा छन्। परिवारको खर्च यिनै बाख्रा बिक्री गरेको पैसाले धान्छ। ‘लकडाउनअघि काठमाडौंमा मजदुरी गर्थें, अहिले घरमै छु,’ दिलबहादुरले भने, ‘गाउँमै मेहनत गर्दा पनि राम्रै हुने रहेछ जस्तो लागेको छ।’
दिलबहादुरजस्ता धेरै युवाहरू अहिले विदेशबाट फर्किएर गाउँमै व्यवसाय गर्न थालेका छन्। देशकै विभिन्न स्थानहरूमा मजदुरी गर्दै आएकाहरू पनि केही महिना यता घरमै बसेर परिवारले चलाइरहेका साना उद्यमहरुमा साथ दिइरहेका छन्। गाउँ–गाउँमा यातायातको पहुँच पुगेपछि उत्पादनलाई बजार पठाउन पनि सहज भएको छ।
राप्ती–१० स्थित स्वामिटारमा रहेको कमिनचुली महिला बचत तथा ऋण सहकारी संस्था यहाँका महिलाहरूका लागि बरदान सावित हुँदैछ। हातमा नगद नहुँदा व्यवसाय सुरू गर्न नसकेका महिलाहरूका लागि यस सहकारी संस्थाले ऋण उपलब्ध गराएको छ।
साबिकको कोराक गाविसका ५८२ जना महिलाहरू अहिले उक्त सहकारी संस्थामा आवद्ध छन्।
सहकारी संस्थाकी अध्यक्ष अम्बिका लामाका अनुसार सहकारीका सदस्य अधिकांशले व्यावसायिक बाख्रापालन गरेका छन्।
‘यहाँका प्रायःको घरमा अहिले कम्तीमा ६ वटा माउ बाख्रा छन्, खसी, बोका, पाठापाठीसमेत गरी २० वटा बाख्रा प्रायःकोमा छ,’ लामा भन्छिन्, ‘सहकारीको सहयोगमा महिलाहरू उद्यममा अग्रसर भइरहेका छन्।’
सहकारीले एक हजार रुपैयाँ जम्मा गर्ने सदस्यलाई १० हजार रुपैयाँसम्म ऋण दिन्छ। जति बढी बचत गर्यो उति बढी ऋण पाइन्छ। यसरी लिइएको ऋणले स्थानीयले बाख्रा किन्ने गरेका छन्।
सहकारीले विभिन्न संस्थाहरूसँग समन्वय गरेर बाख्राको नश्लसुधार, गोठसुधार, बोका वितरणलगायतका कार्यक्रमपनि सञ्चालन गरेको छ। ‘यसले बाख्रा पालनलाई व्यावसायिक बनाएको छ,’ लामा भन्छिन्, ‘आवश्यक तालिमसमेत दिएर बाख्रा पालन सुरू गरेपछि त्यहीअनुसार व्यवसाय राम्रो भएर आम्दानी पनि बढेको छ।’
बिक्रीका लागि तयार भएका उत्पादनको बजारका लागि समस्या छैन। बिक्रीको व्यवस्था सहकारी संस्थाले नै मिलाउने गरेको छ। गाउँभरिको खसी, बोका तथा अन्य उत्पादन सहकारीमार्फत बिक्री हुने गरेको छ। सहकारीमार्फत बिक्री हुन थालेपछि गाउँमा बिचौलियाको बिगबिगी रोकिएको छ।
महिलाहरू व्यवसायमा अग्रसर हुन थालेपछि घरका पुरुषहरू सहयोगी बनेको लामा बताउँछिन्। ‘श्रीमतीले व्यवसाय सुरु गरेपछि विदेश रहेकादेखि देशकै विभिन्न स्थानहरूमा मजदुरी गर्दै आएका श्रीमान घर फर्किएर सघाउन थालेका छन्,’ लामा भन्छिन्, ‘हामी अब महिलाले सुरु गरेको सानो व्यवसायलाई कसरी उद्यमका रुपमा विकास गर्ने भनेर सोचिरहेका छौं।’
राप्ती नगरपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी सहकारीकी अध्यक्ष लामा आफैंले पनि बाख्रा पालेकी छन्। उनले उन्नत जातको एउटा बोका पनि किनेकी छन्। गाउँका सबै महिलाले मान्ने उनी आफैं बाख्रापालनमा सक्रिय बन्न थालेपछि अन्यले पनि उनको सिको गर्छन्।
कतिपय महिलाहरूले पारिवारिकसँगै सामूहिक रुपमा पनि बाख्रा पालेका छन्। स्थानीय जनमाया तामाङ, कविता थिङ, मञ्जु थिङ, विन्दुमाया तामाङ र राधिका तामाङले सहकारी संस्थाबाट ४०-४० हजार रुपैयाँ ऋण लिएर साना पाठा किनेर पाल्न सुरु गरेको एक वर्ष हुन लाग्यो। अहिले ती पाठा बिक्रीका लागि तयार भएका छन्।
उनीहरूले हरेक वर्ष लगानीको दोब्बर नाफा कमाउने लक्ष्य राखेका छन्। ‘अहिलेसम्मको अवस्था हेर्दा सफल हुन्छौं जस्तो लागेको छ,’ जनमाया भन्छिन्, ‘अन्य व्यवसायमा भन्दा यसैमा राम्रो देखेर खटेका छौं।’ उनीहरूले व्यावसायिक खोरमा बाख्रा पालेका छन्।
२६ वर्षीया मञ्जु थिङले काम गर्न विदेश जानुभन्दा यहीँ केही गरौं कि भनेर व्यवसाय सुर गरेको बताइन्। उनीहरूले सुरु गरेको सामूहिक बाख्रापालनमा परिवारको पनि सहयोग छ। उनीहरूको फुर्सद नहुँदा परिवारका अन्य सदस्यले बाख्राको स्याहार गरिदिन्छन्।
कमिनचुली सहकारीकी कर्मचारी शान्ति लामा गाउँका महिलाहरू व्यावसायिक बनेको देख्दा दंग छिन्। उनका श्रीमान रोजगारीका लागि साउदी अरबमा छन्। ‘उहाँलाई घर फर्किएर केही गरौं भनेको छु, छिट्टै फर्कनुहुन्छ होला,’ उनले भनिन्, ‘हाम्रो सोच पनि यही पशुपालन र कृषि गर्नेछ।’
पहाडी ग्रामीण क्षेत्रका प्रायः वस्तीहरू जंगल नजिकै छन्। त्यसैले, पशुपालनका लागि घाँसको समस्या छैन। दिनभर जंगलमा चराउने, घाँसको भारी पनि बोकेर फर्कने चलन छ।
चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा अहिले बाख्रासँगै, गाई, कुखुरा पाल्ने क्रम पनि बढेको छ। राप्ती–११ चौकी डाँडाकी कान्छीमाया तामाङले गाई पालेर शहरमा दूध बेच्छिन्। डाँडामा पालेको गाईको दूध नगरपालिकाको मुकाम भण्डारामा बिक्री हुन्छ।
पहाडी क्षेत्रका प्रायः जमिन भिरालो छन्। तर, स्वामिटार, किरनटार, मार्तललगायतका क्षेत्रका ती भिरालो जमिनमा पनि अहिले व्यावसायिक तरकारी तथा फलफूल खेती हुन थालेका छन्। यहाँ फल्ने स्थानीय काँक्रोको माग बजारमा ठूलो छ। साथै लौका, बोडी, टमाटर, करेलालगायतका तरकारी पनि यहाँ धेरै उत्पादन हुन्छन्।
कतिपयले त टनेल नै तयार पारेर टमाटरको व्यवसायिक खेती गरेका छन्। टमाटरको मूल्य अहिले गाउँमै प्रतिकिलो १२० रुपैयाँ छ। बजारका बिक्रेताहरू तरकारी किन्न गाडी लिएर खेतैमा पुग्छन्।
हरि चेपाङले टनेलमा लगाएको टमाटर पाक्नै लागेको छ। बजारमा टमाटरको भाउ राम्रो रहेकाले उनको परिवार उत्साहित छ।
हरि बजार भाउ बुझ्न बेला–बेलामा बजार झर्छन्। ‘यसपालि टनेलमा रोपिएको टमाटर राम्रो फल्यो, मूल्य पनि राम्रो छ,’ हरिका बावु सुकबहादुरले भने, ‘अर्को साल थपेर लगाउने हो।’