कृषिमा माडीले देखाएको आशा
माडी चितवन राष्ट्रिय निकुञ्जले घेरिएको उपत्यका हो।
करिब २१८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको माडी कृषिका लागि उर्वर क्षेत्रका रूपमा चिनिन्छ। तर निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएका कारण नीतिगत समस्या, जंगलबाट आउने जनावरले पुर्याउने क्षतिदेखि निकुञ्ज हुँदै गर्नुपर्ने आवतजावतका क्रममा हुने सास्तीलगायत कारण माडीले सोचेजस्तो प्रगति गर्न सकिरहेको छैन।
यही परिवेशमा यहाँको एक गाउँमा केही वर्षबाट सुरू गरिएको सामूहिक खेतीको अवधारणाले भने समग्र माडीकै आशा जगाइदिएको छ।
माडी नगरपालिकाको वडा नम्बर ८ मा पर्छ, कान्तिपुर गाउँ। गन्धर्व समूदायको बाहुल्यता रहेको यो गाउँ केही वर्ष अघिसम्म उजाड थियो। यहाँ प्रशस्त जमिन त थियो तर त्यसको महत्व कमैले बुझेका थिए। खेतमा अन्नबाली उब्जन्थ्यो तर यसको माध्यमबाट लाभ असाध्यै कम थियो।
‘खेत भएर पनि नभएजस्तो थियो, दिनरात दुःख गर्दा पनि खानैका लागि समस्या थियो’, कान्तिपुरका स्थानीय सम्झन्छन्, ‘यहाँका कसैले पनि व्यवसायिक कृषिको कल्पना गरेका थिएनौं।’
तीन वर्ष अघिबाट सुरू गरिएको सामूहिक खेतीमार्फत् स्थानीयले व्यावसायिक कृषिको कल्पनामात्रै गरेका छैनन् यसमा प्रचुर सम्भावना र भविष्य देखेका छन्।
यहाँ ३ कट्ठादेखि ४ विघासम्म जमिन भएकाहरू अहिले एउटै संस्थामा आवद्ध भएका छन्। सूर्योदय कृषि सहकारी संस्थामार्फत् ६० भन्दा बढी किसानको जमिनलाई चक्लाबन्दी गरिएको छ। कान्तिपुर क्षेत्रको करिब १०० विघा खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्ने लक्ष्य राखिएकोमा ७० विघाभन्दा बढी जमिनलाई एउटै प्लटमा रूपान्तरण गरिएको छ।
यहाँको अधिकांश जमिनमा अहिले धान काट्ने बेला भएको छ। स्थानीयलाई कामको चटारो छ। धान खेतीको आडैमा २० वटा माछा पोखरी छन्। पोखरीमा विभिन्न ५ जातका माछा हालिएका छन्। दुईवटा व्यवस्थित टनेल तयार पारिएको छ। टनेलमा टमाटर, क्याप्सिकम लगाइएको छ। धान थन्क्याएपछि गहुँ, आलु, प्याज, राजमालगायतका अन्न तथा तरकारी लगाउने तयारी छ।
सहकारी संस्थाका प्रबन्धक शिवजी गायक आ-आफ्ना जमिनमा खेती गर्दा घाटा व्यहोर्न बाध्य किसानले सामूहिक खेतीमा अग्रसर भएपछि नाफा लिन सुरू गरेको बताउँछन्। गायककै सक्रियतामा कान्तिपुरमा सामूहिक खेतीको योजना बनेको थियो।
‘सुरूआतका केही वर्षले हामीलाई उत्साहित बनाएको छ, छोटो अवधिमै स्थानीयवासीको मुहारमा खुसी ल्याउन थालेको छ’, उनी भन्छन्।
स्थानीय कृष्णबहादुर रेग्मी कान्तिपुरमा बस्न थालेको २०४४ सालबाट हो। यहाँ उनको डेढ विघा जमिन छ। उक्त जमिनमा रेग्मीले ८५ मुरी धान फलाउँथे। त्यो धान रोपेदेखि थन्काउँदासम्म १५ मुरी थानमात्रै बच्थ्यो। बाँकी ७० मुरी धान बेचेको पैशा खर्च तिर्न लाग्थ्यो।
‘गत वर्ष मैले २५ कट्ठा खेतमा रोपिएको धानबाट २५ मुरी धान पाएको छु’, रेग्मीले भने, ‘यसमा मेरो एक रुपैयाँ पनि खर्च परेको छैन।’
उनको जमिनको करिब ५ कट्ठाको हिस्सा माछा पोखरीमा परेको छ। उक्त पोखरीबाट उत्पादन भएको माछा बिक्रीबाट आउने आम्दानीको हिस्सा पनि उनले पाउँछन्। जमिनलाई चक्लाबन्दी गरेर यान्त्रिकीकरण गर्दा कम खर्चमा धेरै आम्दानी
हुने भएकाले सबै किसान उत्साहित भएको उनले बताए।
सहकारी संस्थाले स्थानीयको जमिन २० वर्षका लागि सम्झौता गरेको छ। यहाँ उत्पादन हुने धानबाट प्रतिकट्ठा एक मुरी किसानलाई उपलब्ध गराउँछ। गतवर्ष यसरी किसानलाई धान उपलब्ध गराउँदा पनि सहकारी संस्थालाई ९ लाख रुपैयाँ नाफा भएको थियो।
‘उत्पादन बढ्यो भने किसानको मुनाफा पनि बढ्दै जान्छ’, गायक भन्छन्।
सहकारी संस्थाले भैंसी र पाडा पालनका लागि व्यवस्थित गोठ बनाइरहेको छ। यसै वर्षदेखि भैंसी पालन र अर्को वर्षदेखि बाख्रा पालन सुरू गर्ने तयारी छ। माछा पालन गरिएको क्षेत्रमा बंगुर र हाँस पालन गर्ने तयारी छ।
गायककाअनुसार उक्त सहकारी संस्था स्थापना गरेर सामूहिक खेती सुरू गरेयता अहिलेसम्म करिब ७ करोड रुपैयाँ खर्च भएको छ। यसमा सरकारको ठूलो सहयोग छ। चक्लाबन्दीदेखि यान्त्रिकीकरणसम्म सरकारले ७० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराएको छ।
किसानको लगानी भने करिब २ करोड रुपैयाँ छ। कृषिमा गरेको लगानीलाई सहकारी संस्थाको शेयरका रूपमा राखिएको छ।
रोप्ने देखि थन्काउनेसम्मका मेसिन
माडीमा कृषियोग्य भूमि प्रशस्त भए पनि यहाँको कृषि परम्परागत पद्दतिमा आधारित छ। तर सूर्योदय सहकारीले माडीको कृषिमा क्रान्ति ल्याइदिएको छ।
गत असारमा मेसिनले धान रोपिएको कान्तिपुरमा कात्तिकमा धान काट्नेदेखि थन्काउनसम्म सक्ने मेसिन भित्रियो।
बागमती प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र र माडी नगरपालिकाको अनुदान सहयोगमा ल्याइएको मेसिनले अहिले धमाधम धान काटेर थन्काउन थालेको छ।
मेसिन किन्न करिब ४० लाख रुपैयाँ लागेको छ। मेसिन चलाउन वीरगञ्जबाट भारु १ लाख तिरेर चालक झिकाइएको छ। खर्च धान्न नगरपालिकाका अन्य स्थानका धान काटेर थन्काउनसमेत सोही मेसिन प्रयोग गरिएको छ। यसबापत् सहकारीले एक घन्टा बराबरको ५ हजार रुपैयाँ लिन्छ।
प्रबन्धक गायकका अनुसार सहकारी संस्थाले अहिलेसम्म डेढ करोड रुपैयाँ बराबरका यन्त्र भित्र्याएको छ। धान काट्ने रिपर २ वटा, धान, मास झाँट्ने, मकै छोडाउने ठेसर, खेत जोत्न प्रयोग गरिने ट्याक्टर, मकै लगाउने मेसिन, विषादी छर्ने मेसिन सहकारीका छन्। धान रोप्ने मेसिन पनि ल्याउने अन्तिम तयारीमा छ।
कृषिले सुरू गर्यो गाउँ फर्क अभियान
सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलकाअनुसार यस बस्तीका प्रायः युवा विदेश छन्। ‘गाउँमा कुनै सम्भावना नदेखेपछि युवाहरू विदेश पलायन भए’, पौडेल भन्छन्, ‘सामूहिक खेतीपछि उनीहरुको पनि आशा पलाएको छ।’
युट्युब, फेसबुकलगायतबाट गाउँका सामूहिक खेतीबारे जानकारी पाएपछि विदेशिएका युवाले गाउँ फर्कने सोच बनाउन थालेको उनले बताए।
‘विदेशिएका चार जना सामूहिक खेती सुरू भएपछि फर्किसकेका छन्’, पोडेलले भने, ‘अन्यले ३०-३५ जनाले पनि अब छिट्टै गाउँमै आएर कृषिलाई अघि बढाउने सोच बनाएका छन्।’
सामूहिक खेतीमा प्रशस्त सम्भावना देखिए पनि युवा जनशक्ति विदेशिएका कारण धेरै रकम बाहिरिने गरेको पौडेलले बताए।
‘गाउँमा बुढाबुढीमात्र छौं, काम गर्न बाहिरका मान्छे बोलाउनु पर्छ’, उनले भने, ‘यहीँका युवाहरू फर्किए भने त त्यो पैसा पनि गाउँमै रहन्छ।’
विगतमा सय कडा २ देखि ३ रुपैयाँ ब्याजमा ऋण खोजेर खेतीबाली लगाउनु परेको पौडेल सम्झन्छन्। ऋण थेग्न नसकेर धेरै परिवार गाउँबाटै पलायन भएको उनले बताए।
‘तर अहिले यान्त्रिकीकरणले किसानहरू सबै खुसी छन्, राज्यबाट राम्रो सहयोग मिलिरहेको छ’, उनले भने, ‘हाम्रोतिर त गाउँ फर्क अभियान सुरू भएको छ।’
कृषिलाई पर्यटनसँग जोड्ने प्रयास
सामूहिक कृषिको अवधारणाले सफलता पाउन थालेपछि स्थानीयले कृषिलाई पर्यटनसँग जोड्ने प्रयास थालेका छन्। प्रदेश सरकार र नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा अहिले कान्तिपुरमा ५० वटा होमस्टे बनिरहेका छन्। गन्धर्व, विश्वकर्मा, ब्राह्मण, क्षेत्री समुदायले होमस्टे सञ्चालन गर्नेछन्।
सहकारी संस्थाका प्रबन्धक गायककाअनुसार होमस्टेका लागि २० वटा घरहरू केहीदिनमै तयार हुनेछन्। अन्य ३० वटा घर नयाँ वर्षभित्रमा तयार गर्ने लक्ष्य छ।
होमस्टेका लागि प्रदेश सरकारले प्रतिघर ३ लाख रुपैयाँ उपलब्ध गराएको छ। माडी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ। होमस्टे तयार पार्न ९ लाख रुपैयाँसम्म लाग्ने अनुमान छ।
गायकले पर्यटकलाई आकर्षित गर्ने खेतीतर्फ ध्यान दिन लागेको बताए। ड्रयागन फ्रुट, सूर्यमुखी फूल, तोरीलगायतको खेतीमार्फत् पर्यटकलाई आकर्षण गराउने लक्ष्य उनीहरुको छ। एकै ठाउँबाट सबै खेतीको अवलोकन गर्न मिल्नेगरी भ्यू टावर निर्माण गर्ने तयारी पनि सहकारीको छ।
‘सामूहिक खेती कान्तिपुर’ माडीको पर्यटकीय गन्तव्य बैकुण्ठ ताल र प्रधानमन्त्रीले घोषणा गरेको अयोध्याधाम निर्माण क्षेत्रको नजिकै पर्छ।