चितवन कालिका नगरपालिका–१० को छेरबाङका कृष्णबहादुर चेपाङले खोरियामा मकै लगाएर १० भारी जति फलाउँथे, त्यही मकै हुन्थ्यो उनको दसैं मनाउने अन्न।
यसपालि असोजमा लगातार परेको पानी र हावाहुरीले मकै घोघा नलाग्दै ढलाइदियो। त्यही बेलादेखि उनलाई दसैं कसरी काट्ने भन्ने चिन्ता पर्यो।
राहत बाँडिएको थाहा पाएपछि सोमबार शक्तिखोर आइपुगे कृष्णबहादुर।
दुई बोरा चामल पाएपछि उनमा खुसीको सीमा थिएन। ६५ वर्षका उनलाई ६० किलो चामलसहित केही पोका तेल, नुन, तरकारी बोकेर ठाडै उकालो करिब तीन घण्टाको बाटो हिँड्नु थियो।
'दसैं आयो कि दशाझैं लागेको थियो,' उनले भने, ‘यति पाएपछि त दसैं–तिहार सजिलै कट्छ।’
बारीमा अहिले कोदोको बाला लाग्न थालेको छ। कात्तिकको अन्त्यसम्म कोदो पाक्छ, खानका लागि तयार हुन्छ। त्यतिन्जेललाई पुर्याउने मकैले नै हो। मकै भित्र्याउन नपाएपछिको एक मात्र साहरा कन्दमूल हो। चेपाङ समुदायले भोक टार्न खाने गिठा, भ्याकुरको सिजन पनि अहिले सकिन थाल्यो।
राहत लिन आएकी इच्छाकामना गाउँपालिकाको चौकीडाँडाकी ७० वर्षीया मिनमाया चेपाङ केही दिनयता कन्दमूलले नै जीवन निर्वाह गर्दै आएकी थिइन्।
‘यसपालि मकैमा गेडै लागेन, कोदोको मात्रै भर थियो,' उनले सुनाइन्, ‘चामलले सजिलो हुने भयो।’
छेरबाङकी जुनमाया चेपाङका ६ भाइ छोरा छन्। सबै छोराहरू विभिन्न जिल्लामा गएर ज्याला मजदूरी गर्थे। तर लकडाउन सुरू हुँदा फर्किएका उनीहरूलाई ठेकेदारले अझै बोलाएको छैन। कमाइ गरेर परिवारलाई खुवाउनेहरू नै घरमा थन्किँदा यसपालिको दसैं कसरी टार्ने भएको थियो जुनमायालाई।
‘छोराहरूको कमाइले किनमेल गरेर दसैं मनाइन्थ्यो,' उनले भनिन्, 'अहिले त उनीहरूलाई पनि आफैंले खोजेर खुवाउनुपर्ने अवस्था आयो।’
दर्जन बढी संख्याको परिवारलाई दसैं मनाउने राहत बुझेकी जुनमायाले भनिन्, ‘यस्तो भोकमरीमा राहत पाउँदा को पो खसी हुन्न र...’
दैनिक ज्याला मजदूरीको माध्यमबाट जीवनयापन गर्दै आएको चेपाङ समुदायमा दसैंको समयमा भोकमरी लागेको जानकारी पाएपछि केही संस्थाहरूले ती ठाउँका बासिन्दालाई खाद्यान्न सहयोग गरेका थिए।
जर्मन नेपाल मैत्री संघले कालिका–१० छेरबाङका ११७ परिवार र नेपाल बाल सहायता संघले इच्छाकामना गाउँपालिकाका ३० परिवारलाई राहत उपलब्ध गराएका थिए।
राहतको संयोजन गरेका गामबेंसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले दसैं, तिहार लगायतका चाडपर्वमा भोकमरी देखिन थालेपछि राहत वितरण गरिएको बताए।
‘हामीले गाउँमा पुगेर समस्या बुझेपछि आवश्यकता अनुसारको परिवार छुट्याउँदै खाद्यान्न सहयोग गरेका छौं’, उनले भने, ‘सरकारी निकायको ध्यान नपुगेको क्षेत्रमा गैरसरकारी संस्थाहरूको ध्यानाकर्षण गराएर भने पनि राहत पुर्याइएको छ।’
कालिका–१० का वडाध्यक्ष दिलबहादुर गुरूङले वडास्तरबाट लकडाउनको समयमा केही राहत उपलब्ध गराइएको भए पनि पछि नसकिएको बताए।
‘यसपालि अत्यधिक वर्षा र हावाहुरी तथा रोगका कारण मकैको उत्पादन ह्वात्तै घटेका कारण समस्या भएको छ,' उनले भने, ‘गाउँमा भोकमरी लागेको जान्दाजान्दै पनि राहत पुर्याउन सकिएको थिएन।’
पहाडी क्षेत्रमा मकैमा ‘जिमाहा’ रोग लागेको छ। त्यस्तै, मकै उम्रिँदै गर्दा आएको सहल किराको झुण्डले पनि चितवनको पहाडी क्षेत्रमा असर पारेको थियो।
जिल्लाको कालिका र राप्ती नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ।
कृषि तथा पशुपालनमा अग्रसर हुँदै गएपनि प्राकृतिक विपत्ति तथा लकडाउनको असरले यस क्षेत्रमा भोकमरीको अवस्था आएको वडाध्यक्ष गुरूङले बताए।