यो साल चितवनको माडीका दुइटा विषय राष्ट्रिय बहसमा आए।
असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म भारतमा नभई माडीको अयोध्यापुरीमा भएको दाबी गरेका थिए।
त्यसको केही दिनमा त्यही अयोध्यापुरीको एउटा गाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट गएको टोलीले घर भत्काउने र आगजनी गर्ने काम गर्यो। त्यहाँ रहेका १० परिवारका भोगाइले सञ्चारमाध्यमहरूमा राम्रै चर्चा पाए।
यी बहसका बेला प्रधानमन्त्रीले मन्दिर निर्माण र सरकारले चेपाङ बस्तीको स्थानान्तरण गर्ने वाचा गरेका थिए।
प्रधानमन्त्रीको दाबी यता सरकारी निकायहरूले यहाँ राम मन्दिर बनाउने विषयमा निकै चासो देखाउँदै आएका छन्। नगरपालिकाले १०० विघा जमिन उपलब्ध गराउने निर्णय गरेर प्रधानमन्त्रीलाई बुझाइसकेको छ भने सरकारले मन्दिरको ‘डिजाइन’ को काम सुरू गरिसकेको छ।
माडीको सर्वदलीय टोलीलाई बोलाएर प्रधानमन्त्रीले मन्दिरका लागि आवश्यक पर्ने विशाल मूर्ति आफ्नोतर्फबाट बनाइदिने घोषणा नै गरेका छन्।
अयोध्याधाम निर्माणका लागि आवश्यक पर्ने बजेट उपलब्ध गराउने आश्वासन पनि उनले दिएका थिए।
नजिकैको चेपाङ बस्ती हात्ती लगाएर भत्काइएको, जलाइएको पनि साढे ३ महिना भयो। तर यो अवधिमा उनीहरूका लागि सामान्य टहरा बनाइदिनेसम्म कोही भएनन्। पाक्नै लागेको मकै हात्तीले माडेर स्वाहा बनाएको टुलुटुलु हेर्न बाध्य कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारलाई आश्वासनबाहेक केही मिलेको छैन।
‘नयाँ घर पाउने त परको कुरा भयो, जलेर बाँकी रहेकै घरमा पनि सुखले बस्न पाएका छैनौं,' घर जलेका वृद्ध काजिमान चेपाङले भने, ‘बेला–बेलामा खेती नलगाऊ है भनेर धम्की दिन चाहिँ आउँछन्।’
माडी नगरपालिकाले वर्षदिन पहिल्यै यहाँका सबै १६० परिवारलाई अन्यत्र घर बनाइदिएर व्यवस्थापन गर्ने आश्वासन दिएको थियो।
यहाँका १६० परिवारमा १० परिवारबाहेक अन्य करिब एक वर्ष अघि नै राइडाँडा, परूई, खरिकुना, प्याउली लगायतका स्थानमा झरेका छन्।
निकुञ्जको टोलीले यहाँ बाँकी रहेका १० घरमध्ये काजिमान र दिपबहादुर चेपाङको घर/गोठमा आगो लगाइदिएको थियो। अन्य घर तथा मचानहरू भत्काउनुका साथै उनीहरूले लगाएको सबै बाली नष्ट गरिदिएको थियो।
एक हप्ता भित्रमा बस्ती छाड्न धम्की दिँदै टोली हिँडे पनि व्यापक जनदबावपछि निकुञ्ज तत्कालका लागि पछि हटेको थियो।
२८ परिवारका लागि राइडाँडा भनिने स्थानमा घर बनेको छ। यस ठाउँमा अन्य १३ वटा घरमा जस्ता लगाउन मात्र बाँकी रहँदा निकुञ्जले निर्माणमा अवरोध गर्यो। अहिले यी घरहरू अलपत्र अवस्थामा छन्।
घर निर्माणका क्रममा काठमा अनियमितता भएको भन्दै उजुरी परेपछि निकुञ्जले निर्माणमा अवरोध गरेको थियो।
अहिले यो मुद्दा अदालतमा पुगेको छ। सर्वोच्च अदालतले जस्तो अवस्थामा छ सोही अवस्थामा रहन दिन अन्तरिम आदेश जारी गरेको थियो।
कुसुमखोलाबाट झरेका २८ परिवार बाहेकका अन्यका लागि घर बन्न सकेको छैन। उनीहरू बसाइँ सर्दा लिएर आएको काठपात, डाँडा–भाटा जोडेर ठडाएको घरमा जीवन निर्वाह गरिरहेका छन्।
‘तिमीहरूलाई तल व्यवस्थित घर बनाइदिन्छौं भनेको पनि धेरै भइसक्यो, तर नयाँ घर पनि बनेन, पुरानोमा बस्न पनि दिएनन्,' दीपबहादुरले भने, ‘सबैलाई आफ्नै चिन्ता छ, हाम्रो पीडा कसले बुझ्ने। हामीलाई घर बनाइदिने वाचा पनि बिर्सिएजस्तो छ।’
दीपबहादुरले कुसुमखोलामा जलेकै ठाउँमा अर्को झुप्रो ठडाएका छन्। पहिले कुसुमखोलाबाट झर्दा उनले केही काठ परूईमा झारेका थिए। त्यहीँ जोडेर सानो झुप्रो बनाएका छन्। त्यही झुप्रोमा भेटिएका उनले सुनाए, ‘यो झुप्रोले खान दिँदैन, खाना उब्जाउन त कुसुमखोला जानै पर्यो।’
नगरपालिकाको आश्वासनलाई पत्याएर एक वर्षअघि झिटीझाम्टो बोकी परूई झरेका वीरबहादुरको परिवारमा ७ जना छन्। सबैजना एक कोठे छाप्रोमा बस्छन्।
‘७ कट्ठा जमिन दिन्छौं, घर बनाइदिन्छौं भनेका थिए। तर न आधिकारिकरूपमा जमिन पाइयो, न त घर नै बन्यो’, वीरबहादुर भन्छन्, ‘दसैंपछि घर बनाइदिन्छौं भनेका छन्, हेरौं के हुन्छ।’
खरले छाएको उनको झुप्रोले वर्षा थेग्दैन। अरू समयमा पनि सबैजना एकै साथ घरभित्र सुत्न मिल्दैन।
‘छोराबुहारी भित्र सुते हामी बाहिर, हामी भित्र सुते छोराबुहारी बाहिर सुत्नुपर्छ। पानी नपरे हुन्थ्यो भनेर कामना गर्छौं,' वीरबहादुरले दुःख सुनाए।
भोगचलन गर्दै आएको ठाउँ छाडेर नगरले तोकेको स्थानमा आइपुगेका यहाँका स्थानीयलाई दैनिकी चलाउनै हम्मे छ। त्यसमाथि अयोध्यापुरीमा विशाल मन्दिर बन्न लागेको खबरले आफूहरूलाई गिज्याएझैं लाग्ने स्थानीयको भनाइ छ।
‘हामीलाई दिएको वाचा सम्झिदिए पुग्थ्यो। मन्दिर बनाउन लागेको खबरले गिज्याएझैं लाग्छ,' स्थानीय भन्छन्, ‘पहिले मान्छे बाँच्ने व्यवस्था गरेर मन्दिर बनाए हुन्थ्यो।’
माडी नगरपालिकाको ध्याउन्न भने यो समस्यालाई सल्टाउनेमा भन्दा अयोध्याधाम बनाउनेमा केन्द्रित छ। अयोध्या अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समिति नै निर्माण गरेर यसको तयारी तीव्र पारिएको छ।
नगरपालिकाका मेयर ठाकुर ढकालले अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी आवश्यक कार्य प्रारम्भ गर्न प्रधानमन्त्रीलाई पत्राचार गरिएको बताए।
यसमार्फत माडीको विकास हुने विश्वास नगरपालिकाको छ।
यसैको प्रचारका लागि कात्तिक १८ गते राम मन्दिर निर्माण गर्ने भनिएको स्थानमा भगवान रामका चरित्र वर्णन गरिएको श्रीरामचरितमानसको संगीतमय परायण गरिँदैछ। यसलाई नगरपालिकाले सघाएको छ। यसको माध्यमबाट रामको जन्म नेपालमै भएको प्रचार हुने र यहाँ अयोध्याधाम निर्माणमा दबाव पुग्ने आशा नगरपालिकाको छ।
यद्यपी मेयर ढकाल नगरपालिकाले अयोध्याधामलाई जत्तिकै प्राथमिकता कुसुमखोलाबासीको व्यवस्थापनलाई पनि दिइएको दाबी गर्छन्।
‘तर हामीलाई अदालतले रोकिरहेको छ, अदालतको अन्तिम आदेश आओस् भनेर पर्खिरहेका छौं,' उनले भने, ‘त्यसपछि हामी व्यवस्थापनमा लाग्छौं।'
उनले अयोध्याको काममात्र अघि बढाएर चेपाङको घर निर्माणबाट भाग्न नखोजेको बताए। काम गर्न खोज्दा विभिन्न क्षेत्रबाट अवरोध भएका कारण समस्या भएको उनले बताए।
‘हामी त उनीहरूलाई घर बनाउने मात्र नभई उनीहरूलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर लागेका छौं,' मेयर ढकालले भने, 'तर चाहेर पनि गर्न सकिएको छैन।'
उनकाअनुसार ६० वटा घर बनाउनका लागि बागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्टाएको छ। ८० वटा घर बनाउन छिमेक विकास बैंक र माडी नगरपालिकाका बीचमा समझदारी भइसकेको छ। तर अहिलेसम्म यी घर बनाउने सुरसार भने छैन।
मेयर ढकाल भन्छन्, ‘हामी यस विकासमा संघीय सरकारको निर्णय आओस् भन्ने चाहन्छौं।’
उनले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, वन मन्त्रीलगायतका सरोकारवाला सबैसँग यस विषयमा कुरा भइरहेको बताए।
अयोध्याधाम बनाउने विषयमा भने प्रधानमन्त्रीले नै अग्रसरता लिएका कारण उत्साहित भएर नगराबासी लागेको उनले दाबी गरे।
समग्र माडी नै निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।
त्यसैले विकास निर्माणका काममा कठिनाइ हुँदै आएको मेयर ढकालको भनाइ छ। अब भने सरकारको ध्यानाकर्षण गराएर मन्दिरदेखि सुकुम्बासीको घरसम्मका सबै समस्या समाधानको प्रयास गर्ने उनले बताए।
चितवनकै नेता देवी ज्ञवाली अध्यक्ष रहेको सुकुम्बासी समस्या समाधान आयोगले समेत यहाँका सुकुम्बासी परिवारको विषयमा अध्ययन गरिरहेको ढकाल बताउँछन्।
‘उहाँहरूले पनि चासो लिनुभएको छ, आयोगले पनि यसलाई प्राथमिकतामा राखेर काम गरोस् भनेका छौं,' ढकालले भने, ‘हामी केही दिनमै आयोग र निकुञ्जसँग बसेर यस विषयमा छलफल गर्दैछौं। त्यसपछि प्रधानमन्त्रीलाई पनि भेट्छौं।’
माडीमा अयोध्याधाम निर्माणमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अग्रसरता लिँदै आएपनि यही क्षेत्रका सांसदसमेत रहेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने यस विषयमा अहिलेसम्म मौन छन्। 'धर्म भनेको अफिम हो' भन्ने मार्क्सको भनाइ मान्दै हुर्किएका कम्युनिष्टहरू सत्तामा भएका बेला अयोध्याधामको निर्माण प्राथमिकतामा पर्नु सुहाउँदो नभएको कतिपय कम्युनिष्ट नेताकार्यकर्ताले भनिरहन्छन्। तर केन्द्रदेखि स्थानीय सरकार कम्मर कसेर राम मन्दिर निर्माणमा लागिपरेका छन्।
बागमती प्रदेश सरकारलेसमेत अयोध्याधाम निर्माणका लागि सहयोगको वचन दिएको समितिका पदाधिकारीहरू बताउँछन्।अयोध्या अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल यस क्षेत्रमा बन्ने अयोध्याधामले पर्यटन विकास गर्दै माडी क्षेत्रको विकास गर्ने बताउँछन्।
साविकको अयोध्यापुरी गाविसका अध्यक्षसमेत रहेका पौडेल भन्छन्,‘यसलाई पार्टीको दर्शनसँग नजोडी धार्मिक पर्यटनमार्फत् विकासको अभियानमा लाग्नुपर्छ भनेर अघि बढेका छौं। तर सरकारले मन्दिरसँगै सुकुम्बासीको व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ।’