चौरमा एउटी सानी 'केटी' छ। ऊ कहिले दौडन्छे, कहिले खान्छे, कहिले घाम त कहिले ओतमा टहलिएकी हुन्छे। मन लागेको गर्छे।
एक जना पुरूष उसको पिछा छाड्दैनन्। ती पुरूषको काम नै केटीको ख्याल राख्ने, केटीलाई खुवाउने अनि टहलाउने भएको छ अचेल।
जाजरकोटका लोकबहादुर महतरालाई गैँडाकी बच्ची ती फुच्ची केटी आफ्नै सन्तानझैं लाग्छ।
दिनहुँ तोरीको तेल दलेर टिलिक्क टल्काउने, उसलाई दूध पिलाउने, सुताउने उनै हुन्। दश महिना भयो उसैको वरिपरि बिताएको।
त्यसैले पनि लोकबहादुरलाई यो फुच्ची ‘क्युट केटी’ असाध्यै प्यारी लाग्छ।
फुच्चीको नाम हो- पुष्पा। फूलजस्तै सबैकी प्यारी छ, पुष्पा। उसलाई देख्नेले एउटा सेल्फी त लिएकै हुन्छन्।
कति मान्छे आए, कतिले फोटो खिचे, के–के भने उनलाई मतलब छैन। आफ्नै धुनमा मस्त हुन्छ ऊ।
पुष्पा टुहुरी केटी हो। जंगलको बीचमा अलपत्र भेटिएकी थिई।
गत साल माघ ३ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने तमासपुरको घना जंगलमा जन्मेको केही समय भएकी ऊ एक्ली भेटिई। निकुञ्जको टोलीले निकैबेर उसकी आमाको खोजी गर्यो तर भेटाएन।
दुई दिनसम्म खोजी गर्दा पनि आमा नभेटाएपछि त्यो सानी केटीलाई गाडीमा हालेर सौराहा ल्याइएको थियो ।
त्यसयता उसलाई यहाँको प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र परिसरमा आश्रय दिइएको छ। निकुञ्ज भित्रका सयौं एक सिंगे गैंडामध्ये ऊ कसकी सन्तान हो भन्ने अहिलेसम्म कसैले थाहा पाएका छैनन् तर उसले यहाँ आएपछि सुन्दर नाम पाई अनि उस्तै माया।
केही महिना अघिसम्म गाई, भैंसीको दूधमात्रै खाने पुष्पा अचेल घाँसका कलिला मुना खाने भएकी छ। यसबाहेक उसलाई बेला–बेलामा फलफूल र अन्न पनि खान दिइन्छ।
जंगलमा भेटिँदा जुरूक्क उठाएर गाडीमा हलिएकी पुष्पाको तौल अहिले ५०० किलो पुगिसकेको छ।
उसको हेरचाहमा खटिएका लोकबहादुर भन्छन्, ‘हामीसँग लुटुपुटु गर्ने पुष्पा हेर्दा हेर्दै हच्काउनै नसक्ने भई।’
उनका अनुसार सुरूमा पचाउन नसक्ली भनेर दूधसमेत फ्याट निकालेर दिइन्थ्यो। स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गरिएको थियो।
चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले जंगलमा टुहुरो अवस्थामा भेटिएका जनावरहरूलाई उद्धार गर्दै आश्रय दिने गरेका छन्। केन्द्रका प्रमुख बाबुराम लामिछानेकाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र यहाँ गरी अहिलेसम्म २५ वटा गैंडाका टुहुरा बच्चाहरूको उद्धार गरिएको छ।
पुष्पालाई उद्धार गरिएको केही समयमा गैंडाको एउटा केटोलाई पनि उद्धार गरिएको थियो। तर केटो पुष्पाभन्दा ठूलो थियो। केही समय केन्द्रमा आश्रय दिएपछि उसलाई पदमपुर क्षेत्रमा अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबारगरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ) मा राखिएको छ। लामिछानेका अनुसार उक्त केटो अहिले प्राकृतिक अवस्थामै फर्कन थालेको छ।
पुष्पाले भने जन्मेबाटै जंगलको बसाइ व्यहोरेकी छैन। त्यसैले उसलाई तत्कालै जंगल लगेर छाड्दा अन्य जनावरको डर हुन्छ।
लामिछाने भन्छन्, ‘पुष्पालाई पनि कार्यालय वरपरका जंगलहरूमा चराउन बानी पार्दै विस्तारै प्राकृतिक अवस्थामै फर्काउने तयारी छ।’
पुष्पालाई जस्तैगरी केही वर्ष अघि उद्धार गरिएका दुइटा टुहुरा गैंडा मेघौली र मंगले अचेल सौराहा वरपर देखिन्छन्।
कहिलेकाहीँ त उनीहरू सौराहाको मुख्य बजारमै पुग्छन्। उनीहरूलाई हेर्न पर्यटकको लाइन नै लाग्छ।
लामिछाने केन्द्रमा पालिएका टुहुरा जनावरहरू यसरी मानवबस्तीमा नपसून् भनेर सजग रहेको बताउँछन्।
‘आफ्नै अगाडि गैंडा देखेर पर्यटकहरू खुसी त भएका छन् तर मान्छेसँग धेरै घुलमिल हुँदा सहर पस्ने र क्षति गर्ने सम्भावना हुन्छ,' उनी भन्छन्, ‘त्यसैले सकेसम्म जंगलमै फर्काउने प्रयास हाम्रो रहन्छ।’
उनकाअनुसार केन्द्रमा हुर्किएका टुहुरा वन्यजन्तुमध्ये अधिकांश प्राकृतिक बासस्थानमा फर्किएका छन्।
‘पुष्पालाई पनि जंगलमै फर्काउन हामी प्रयास गर्छौं,' लामिछाने भन्छन्, ‘एउटा पोथी गैंडालाई योग्य बनाएर प्राकृतिक वातावरणमा पुर्याइयो भने यसमार्फत धेरै केटाकेटी जन्मन सक्छन्।’
गत वर्ष मात्रै सय भन्दा बढी टुहुरा वन्यजन्तुको उद्धार गरिएकोमा अधिकांशलाई आवश्यक उपचार गरेर प्राकृतिक बासस्थानमै फर्काइएको छ।
वन्यजन्तु अस्पताल निर्माणका क्रममा रहे पनि सुरू भइनसकेका कारण जैविक विविधता संरक्षण केन्द्रमै पशु चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको निगरानीमा अस्पतालका सेवाहरू दिइएको लामिछानेले बताए।
गत वर्षमात्रै चितवन तथा अन्य विभिन्न जिल्लाबाट गरी १४ वटा चितुवाहरूको उद्धार गरिएको थियो। तीमध्ये ८ वटालाई जंगलमा लगेर छाडिएको छ।
समस्यामा परेका अजिंगर, सर्प, लाटोकसेरोलगायतका चरा, जंगली बिराला, चित्तल, बँदेल, बाघ, हात्तीलगायतका वन्यजन्तुलाई पनि उद्धारगरी उपचार गर्ने र योग्य बनाएर छाड्ने गरिएको लामिछानेले बताए। जंगलमा छाड्न योग्य नभएकालाई चिडियाखानामा पठाइन्छ।