त्यो दिन उनको मन जति खुसीले चंगा भएको थियो, उति नै थियो मनभरी दकस!
१५ वर्षको जेल सजाय काटेर निस्किएका थिए दिलबहादुर!
२ वर्षअघिको कुरा हो। उनी पुग्दा गाउँ १५ वर्षअघि छोडेजस्तो थिएन। उनी पनि त सामान्य गाउँलेबाट 'गैंडा तस्करीका कसुरदार' बनेका थिए।
उनको मनभरि धेरै कुरा खेल्दै थिए- गाउँलेसँग कसरी बोल्ने होला? छोराछोरीलाई के भन्ने होला?
गाउँले कस्ता भए होलान्, गाउँ आफै कस्तो भयो कुन्नि!
कारागारदेखि घर जाँदा उनले देखे, १५ वर्षमा उनको गाउँमा पिच बाटो पुगेछ।
पिच गरिएको कालो सडकले गाउँमा सुख र सुविधा लग्यो होला, गरिखाने मेलो पनि यही पिच सडक हुँदै गाउँसम्म पुग्यो होला भन्ने सम्झेर उनी खुसी भए।
पिच सडकसम्म बस र त्यसपछि केहीबेर हिँडेर उनी घर पुगे। साना छोराछोरी छाडेर गएका थिए, उनीहरू हलक्कै बढेका देखेर छक्क परे।
'छोराछोरी सानै थिए विहे गर्ने उमेरका भइसकेका रैछन्,' उनले भने,'धेरै कुरा फेरिएको रैछ।'
नफेरिएको एउटै कुरा थियो, गरिबी।
उनलाई लाग्छ- गरिबीले नै त हो आफूलाई जेलसम्म पुर्याएको।
हुर्किएका छोराछोरी पढ्न स्कुल गएका थिएनन्। हातमुख जोर्न १५ वर्षअघि उनले जे-जे काम गर्थे छोराछोरी पनि त्यही गर्न बाध्य थिए।
छोराछोरी हेरेर छक्क पर्दापर्दै उनको मन स्याइँय भयो, 'यिनीहरू पनि तस्करीमा लागे भने?'
दुई वर्षदेखि यही कुरा सम्झेर उनको मन बेलाबेला तर्सिरहन्छ।
'छोराछोरीको पनि उस्तै हालत पो भएछ, पढ्न पाएका छैनन् खान लाउन उस्तै छ। अभाव भएर अपराधतिर लाग्ने हुन् कि भन्ने चिन्ताले मलाई पिरोलिरहन्छ,' उनले भने।
२०५८ सालताका उनी यिनै छोराछोरीलाई खाने-लाउने कुराको जोहो कसरी गर्ने भन्ने पीरमा थिए।
एकदिन चिनजानका अनिल घिसिङसहित तीन जना मानिस उनलाई गाउँमा भेट्न आए।
'एउटा झोला नारायणगढ पुर्याइदिनु पर्यो,' उनीहरूले भने, 'झोलामा महत्वपूर्ण औषधी छ तर सुरक्षाकर्मीले नदेख्ने गरी पुर्याउनु पर्छ।’
नारायणगढसम्म झोला पुर्याउँदा ६ हजार रुपैयाँ पाइने लोभले तानेर जेलसम्म पुर्याउला भन्ने सोचेका थिएनन् रे।
‘त्यतिखेरको ६ हजार भनेको ठूलो रकम थियो। दबाइ पुर्याउने काम निकै सानो। झोला बुझाएर फर्किँदा केही पैसाले खाने कुरा किनेर ल्याएको थिएँ। खुसी लागेको थियो,' उनले भने।
जब उनलाई झोला दिने अनिल घिसिङ र अम्बर चेपाङ पक्राउ परे। अनि बल्ल आफूलाई फसाइएको मेसो पाएको उनी बताउँछन्। झोलामा त गैंडाको खाग रहेछ।
२०६१ सालको वैशाखमा उनी पक्राउ परे।
गैंडा तस्करको मुद्दामा १५ वर्षको कैद भुक्तान गरेपछि उनमा एउटा इच्छा जागेको छ- वन्यजन्तुको संरक्षण गर्ने।
‘हामीलाई तस्कर भनेर थुन्ने सरकारले पेट भर्ने व्यवस्था गरिदिनिपर्यो,’ उनले भने, 'मलाई त अब वन्यजन्तु संरक्षणमा काम गर्ने मन छ।'
उनले यो कुरा चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन अणनाथ बराललाई भेटेर समेत सुनाइसके। दुई दिनअघि निकुञ्जको कार्यालयमा भएको कार्यक्रममा दिलबहादुरले यो कुरा बराललाई सुनाएका हुन्।
‘हामी गरिब छौं, वनका रूख, दाउरा काटेर नबेचिकन खान पनि पाइँदैन,' उनले बुधबार बरालसँग भने, ‘हामीलाई आत्मनिर्भरताको बाटो देखाइदिनुस्, संरक्षणको काममा सरकारलाई हामी सहयोग गर्छौं।’
यस्तो इच्छा त्यसै उनमा जागेको होइन। जेल परेपछि उनलाई थाहा भयो आफूले अपराध गरेको रहेछु भन्ने।
जेलमा उनका गाउँले र साथीहरू पनि यस्तै मुद्दामा परेका थिए। उनलाई काम गराउने २ जना त जेलमै मरे।
‘कारागारमा हुँदा हामी बीच ठूलो गल्ती गरिएछ भन्ने कुरा हुन्थ्यो,' उनी भन्छन्, ‘गरिबीले गर्नु गर्यो, गैंडा मारी पछुतो भयो।’
जेलमा उनलाई काम लगाउने जेलबाट फर्केपछि पनि समाजले आफूलाई शंकाकै नजरले हेरेको देखेर उनलाई नरमाइलो लाग्थ्यो।
समाजको मन जित्न पनि उनी अब वन्यजन्तुको संरक्षणमा लाग्न चाहन्छन्।
'हामीलाई समाजले तस्कर भनेर हेला गरेजस्तो महसुस हुन्छ,' उनले बुधबार प्रमुख वार्डेन बरालका अघि भने, 'हाम्रो गल्तीको सजाय त सरकारले दियो तर अबको बाटो देखाइदिए हुन्थ्यो।'
दिलबहादुर जस्तै जेलबाट फर्किएका अरूले पनि समाजमा पुनर्स्थापना हुन आफैं संघर्ष गरिरहेका छन्।
१३ वर्षको काराबास भोगेर फर्किएका युवा जीतबहादुर तामाङले सामूहिक श्रमका लागि स्थानीयवासीलाई एकजुट बनाएका छन्। कृषि तथा पशुपालन सुरू गर्ने लक्ष्य उनीहरूको छ। तर तत्काल यो सुरू गरिहाल्न उनीहरूसँग पैसा छैन।
‘हामीलाई के गर्दा स्थानीयको जीवनस्तरमा सुधार आउँछ भन्ने थाहा छ तर स्रोत छैन,' जीतबहादुर भन्छन्, ‘हामी सहयोग खोजिरहेका छौं।’
उनले सामूहिक रूपमा गाईपालन गरेर डेरी सञ्चालन गर्ने उद्देश्य रहेको बताए। साथै व्यवस्थित खोर निर्माण गरेर बाख्रापालन गर्ने लक्ष्य पनि स्थानीयले बनाएका छन्।
पशुपालनबाट आउने मलले सामुहिक रूपमा व्यवसायिक तरकारी खेती गर्ने लक्ष्य उनीहरूले राखेका छन।
‘हामी विगतलाई बिर्सन चाहन्छौं । कसैप्रति हाम्रो कुनै गुनासो छैन,' उनी भन्छन्, ‘हामीलाई अबका दिनलाई अघि बढाउन फेरि विगतकै अवस्थामा पुग्न नपर्ने बन्न सहयोग चाहिएको छ।’
कोराक गाउँका प्रायः घरका सदस्यले गैंडा मुद्दामा अदालत धाएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रले पनि वन्यजन्तु तस्करीको मुद्दामा जेल परेका दिलबहादुरको जस्तो परिवारलाई सघाउने नीति बनाउँदै छ। चितवन राष्ट्रिय निकुञ्जले पनि चासो राखेको छ।
स्थानीय कालिका सामुदायिक वनका अध्यक्ष माधव गिरी जेलबाट छुटेका व्यक्ति र हाल जेलमै रहेका व्यक्तिका परिवारलाई वनको संरक्षणमा सहभागी गराउने अभियानमा सक्रिय छन्।
‘हामी वन जोगाउन खटेका छौं, उहाँहरू दैनिक खर्चको जोहो गर्न यही वनको रूख काट्नुहुन्छ,' उनी भन्छन्, ‘अब उहाँहरूलाई रूख काटेर होइन रूख जोगाएर खर्चको जोहो गर्न सिकाउनुपर्छ।’
रूख काटेर नभई यहाँको घाँस खुवाएर पशुपालनमार्फत आम्दानी लिनेगरी अघिबढ्नु सिकाउनुपर्ने उनी बताउँछन्।
कोराक-१० का वडाअध्यक्ष अम्बरबहादुर लामाका अनुसार गैंडासँग सम्बन्धित मुद्दामा विभिन्न जेलमा रहेका वडाका ५० भन्दा बढी व्यक्तिहरू गत सालमात्रै घर फर्किएका छन्। अझै उत्तिकै संख्यामा यहाँका बासिन्दा सोही मुद्दामा जेलमा बसिरहेका छन्।
‘गाउँको अहिलेको मुख्य चुनौती नै जेलबाट फर्किएकाहरूलाई पुनः उस्तै काममा जानबाट रोक्ने हो भन्ने थाहा छ वडास्तरबाट मात्रै यो सम्भव छैन,’ लामाले भने, ‘उनीहरू सबैको आर्थिक अवस्था कमजोर छ। कतिपयको त बस्न मिल्ने घर पनि छैन। प्रायश्चित गरिरहेकाहरूको जीवनस्तर सुधार्ने सहयोगी खोजिरहेका छौं।’
उनले तत्कालका लागि सीपमूलक तालिम सञ्चालन गरेर आत्मनिर्भर बनाउन स्थानीय तह तथा अन्य निकायको सहयोग भित्र्याउने प्रयास पनि भइरहेको बताए।
वडाध्यक्ष लामाले सरकारको बजेटमार्फत गाउँमा बिजुली, सडक, खानेपानीलगायतका सुविधाहरू पुगेपनि स्थानीयको चेतना र जीवनस्तरको विकासमा काम हुन नसकेको बताए ।
फेरि अपराधमा फर्कन दिन हुन्नः निकुञ्ज
२०७४ सालपहिले निकुञ्जसँग सम्बन्धित मुद्दा निकुञ्ज आफैंले हेर्थ्यो। पक्राउ गर्नेदेखि सजाय तोक्नेसम्मको अधिकार निकुञ्जलाई नै थियो।
त्यतिखेर चितवन निकुञ्जको चोरी सिकारी नियन्त्रण इकाइमा समेत काम गरेका हालका निकुञ्जका चिफ वार्डेन बराल विभिन्न मुद्दाका करिब एक सय भन्दा बढी व्यक्तिहरूलाई आफैंले पक्राउ गरेको बताउँछन्।
‘उनीहरूले अहिले गरेको पश्चाताप देख्दा अबका दिनमा संरक्षणमा उनीहरूको पनि सहयोग लिन सकिन्छ कि भन्ने लागेको छ,' बराल भन्छन्, ‘एक पटक अपराध गरेर फर्किसकेको व्यक्ति पुनः सोही काममा नफर्कियोस् भन्नेमा सजग रहँदै उनीहरूलाई सहयोग गर्ने तयारी हाम्रो छ।’
उनले निम्न आर्थिकस्तर भएका प्रायः व्यक्ति बाध्यताका कारण अपराध लागेको आफूलाई महसुस भएको बताए।
‘गैंडाको चोरी सिकारीमा कोही रहरले, कोही बाध्यताले, कोही परिवन्धमा परेर, कोही योजनावद्ध रूपमा लागेका छन्,' उनले भने, ‘पक्राउ पर्नेहरू प्रायः विपन्न वर्गका नै छन्, जसले केही हजार रुपैयाँको लोभमा तस्कारलाई सहयोग गरे।’
खागका लागि गैंडा मार्ने, छालाका लागि बाघ मार्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा तस्करी गर्ने मुख्य व्यक्तिलाई पक्राउ गर्न निकुञ्ज असफल हुँदै आएको उनले बताए।
‘हामीले नचाहेर नसमातेको होइन, नसकेर हो,' उनले भने, ‘मुख्य तस्कर हाम्रो पहुँचभन्दा बाहिर सुरक्षित भएर बसेको छ, उसलाई सहयोग गर्नेहरु फन्दामा परिरहेका छन्।'
उनका अनुसार ०५०-०६० को दशकमा आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर तस्कारहरूले चेपाङ समुदायका युवाहरूको भरपुर प्रयोग गरेको पाइएको थियो।
‘उनीहरू वर्षौं जेल पर्दा परिवारको अवस्था झन् नाजुक बन्न पुग्यो, अहिले पछिल्लो पुस्ता पनि त्यसैगरी मतियार बन्ने डर छ,' उनले भने, ‘उनीहरूलाई आत्मनिर्भर बनाउन पाए निकुञ्जका गैंडा जोगिन्थे की भनेर सहयोग जुटाउने प्रयासमा छौं।’
बरालले सहयोगको विषयमा राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्र र तराई भूपरिधि योजना(ताल) सँग छलफल भइरहेको बताए।
यी पनि पढ्नुस्:
गरिबीले ‘तस्करै-तस्कर’ जन्माएको एउटा गाउँको कथा
अब जंगल जानेछ भैंसीको दूध खाएर हुर्किएकी केटी