२०३२ सालताका स्कटल्याण्डका अनुसन्धानकर्ता एचआर अस्टर्न चितवन आएर घडियाल गोहीका अण्डाबारे अनुसन्धान गर्दै थिए।
उनले गरेको दौडधुपलाई हेरिरहेको चितवन राष्ट्रिय निकुञ्जलाई भने यो विल्कुलै नयाँ लागिरहेको थियो।
विश्वमै दुर्लभ मानिएको एक सिंगे गैंडा, बाघ लगायतका जीवको संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेको निकुञ्जलाई गोहीबारे खासै चासो थिएन।
यद्यपी नारायणी नदीमा प्रशस्तै गोही छन् भन्ने यहाँका अधिकारीहरुलाई थाहा थियो।
ती अनुसन्धानकर्तालाई निकुञ्ज अधिकारी रामप्रित यादवले सोधे, ‘तपाईंले यो अण्डामा के देख्नुभयो?’
उनले जानकारी दिए, ‘घडियाल गोही संसारबाटै लोप हुने क्रममा छ, म यसको कृत्रृम प्रजनन् गराउन सकिन्छ कि भनेर प्रयास गर्दैछु।’
उनले यादवसँग आग्रह गरे, ‘मलाई केही अण्डा उपलब्ध गराइदिनुस्, तपाईंहरुले भनेको पैसा म दिन्छु।’
विदेशीको कुराले यादवलाई थप चासो बढ्यो। सोधे, ‘यो अण्डा लगेर के गर्छौं?’
उनले जवाफ दिए, ‘यसबाट म गोहीको बच्चा निकालेर त्यसको विषयमा अध्ययन गर्छु।’
यो कुरा यादवको मनमै गड्यो।
‘हामीले गोहीको घरमै बसेर पनि यसको बारेमा केही बुझेका रहेनछौं भन्ने लाग्यो, ती व्यक्तिले के गर्दा रहेछन् भनेर हेर्ने इच्छा लाग्यो’, उनले सुनाए।
अण्डाको पैसा नलिने बरु ऊ सँगै गएर उसले गरेको काम हेर्ने निधो उनले गरे।
यादव ती विदेशीसँगै भारतको उडिसा पुगे। त्यहाँ अण्डाबाट गोहीको बच्चा निकालेको देखे। अण्डालाई बालुवामा राखेर हिटर बालेर तापक्रम मिलाई बच्चा कोरलिएको थियो।
तर ती विदेशीले कृत्रिमरुपमा जन्माएको बच्चा बाँच्न सकेन। अण्डा बोकेर धेरै पर पुगेका कारण असर परेको आँकलन गरियो।
तर यादव नेपालमा हामी पनि यसैगरी बच्चा कोरल्न सक्छौं भन्ने मनाशाय बनाएर फर्किए।
साथीहरुलाई आफूले देखेका कुरा सुनाए।
२०३४ तिर उनी आफैंले परीक्षण गर्न थाले।
‘सुरुआतमा त म सफल भइनँ, बच्चा निस्किए पनि मरिहाल्थे। पछि ८५ प्रतिशतसम्म सफल भइयो’, उनले सुनाए, ‘यस बारेमा सबैलाई बताएपछि यही प्रजनन् केन्द्र नै स्थापना गर्ने निर्णय भयो।’
त्यो प्रजनन् केन्द्र स्थापना भएको ४२ वर्ष भइसकेको छ।
यो अवधिमा यहाँ जन्मिएका १५ सय भन्दा बढी बच्चाहरुलाई हुर्काएर देशका विभिन्न नदीहरुमा छाडिसकिएको छ।
करिब ५०० वटा गोही अहिले पनि प्रजनन् केन्द्रमा छन् । यद्यपी नदीमा छाडिएका गोहीहरु संरक्षण हुन सकिरहेका छैनन्।
‘हामीले त निकुञ्जलाई गैंडा र बाघ संरक्षणमै केन्द्रित गरेका थियौं। गोही पनि महत्वपूर्ण रहेछ भन्ने विदेशीबाटै थाहा भयो, पछि यसलाई पनि प्राथमिकतामा राखियो’, उनले भने।
यादवकाअनुसार निकुञ्ज स्थापनाताका राप्ती नदीमा गोही नै देखिन्थेनन्।
२०३० सालमा निकुञ्ज स्थापना हुनुभन्दा तीन वर्ष अघिबाटै अध्ययन टोलीमा रहेर काम सुरु गर्न चितवन आएका उनीसहित सरकारका कर्मचारीहरु विश्वनाथ उप्रेती, कर्ण शाक्य अनि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का तर्फबाट परामर्षदाता जोन ब्लोर राप्तीकै छेउमै पाल टाँगेर बस्थे।
अहिले देशकै सबैभन्दा बढी घडियाल गोही पाइने नदी राप्ती नै हो।
पहिले गोहीको मुख्य बासस्थान मानिने गरेको नारायणीमा अहिले कम गोही देखिन्छन्।
नदी आसपासमा बढ्दो सहरीकरणले बढेको प्रदुषण, नदीमा बढ्दो मानव चाप र जथाभावी उत्खनन्ले गर्दा गोहीको संख्या घट्दो क्रममा छ।
‘पहिले मान्छेले ढुक्क भएर खोलाको पानी पिउँथे। अहिले खोलाको पानी माछाले पनि खान नसक्ने भयो’, उनी भन्छन्, ‘यो सबै मान्छेकै लापरबाहीले भइरहेको छ।’
विगतमा नारायणी नदीमा प्रशस्त गोही र डल्फिन देखिने गरेको यादव बताउँछन्।
‘मैले नारायणी र राप्तीमा ७० धार्नेको गोंछ माछा र २०० पाउण्डको सहररतार माछा पनि देखेको छु’, उनले भने, ‘तर अचेल ती जातका माछा हुर्किएर ठूलो हुनै पाउँदैनन्। २०० ग्राम हुँदैमा जालमा परिहाल्छन्।’
उनले नदीमा यति ठूला माछाहरु नदेखेको वर्षौं भयो।
मान्छेले माछा मारेर खाने क्रम बढेपछि गोहीले आवश्यक आहारा पनि पाउन छाडेको यादव बताउँछन्।
‘मान्छेले सानैमा माछा मारेर सक्न थाले, गोहीको आहारा मान्छेले खाइदिएपछि कसरी बचाउने’, उनी भन्छन्, ‘दुर्लभ वन्यजन्तु जोगाउने हो भने मानव चहलपहलमा नियन्त्रण गर्नुको विकल्प छैन।’
गोही संरक्षणको अभियानको सुरु गरेका यादवलाई अहिलेको अवस्था देख्दा असाध्यै दुःख लाग्छ।
‘अहिलेसम्म हामीले हजारौं गोही उत्पादन गरेर नदीमा छाड्यौं तर संरक्षणमा सबैजना सचेत नहुँदा जोगाउन सकिएको छैन’, उनी भन्छन्।
संरक्षणकर्मीहरुले जति दुःख गरेपनि सबै मान्छे सचेत भएन भने अन्य प्राणीको संरक्षण गर्न नसकिने यादव बताउँछन्।
यादव निकुञ्जको सहायक संरक्षण अधिकृत, प्रमुख संरक्षण अधिकृत हुँदै ३२ वर्ष सेवा गरेर २०५७ सालमा रिटायर्ड भए।
त्यसयता पनि विभिन्न संस्थामार्फत् संरक्षणका काममा सकृय छन्। कसैले वन र वन्यजन्तुको नाम उच्चारण गर्दा उनको मुहारै उज्यालो हुन्छ।
विश्वभर दुर्लभ मानिएका एक सिंहे गैंडा, बाघ देखि घडियाल गोहीलगायतका जीवहरुको संरक्षणमा उनले गरेका कामको प्रशंसा गर्ने धेरै छन्।
७५ वर्ष नाघेका उनी अझै पनि वन र वन्यजन्तु संरक्षणको अभियानमा सकृय छन्।
यादव सिराहामा जन्मिए, त्यहीं हुर्किए। तर जीवनको सबैभन्दा धेरै अवधि चितवनमा बिताए। त्यो पनि जंगल र जनावरको वरिपरि। पछि चितवनमै रहने निधो गरे। यहीं घर बनाए।
‘सिराहामा त म सालको रुखै देख्दिनँ, जंगलै नभएको ठाउँमा त कसरी बस्ने जस्तो लाग्छ’, यादव थप्छन्, ‘मलाई त जहाँ जंगल छ त्यहीं रमाइलो।’