मोटरसाइकल हराएको भन्दै खोजिदिन माग गरेर प्रहरी कार्यालयमा दैनिक दुई–तीनवटा निवेदन आएकै हुन्छन्। तर भेटिने कमै हुन्छन्। फट्टफुट्ट मोटरसाइकल भेटिए पनि चोरीमा संलग्नलाई समात्न भने प्रहरी असफल हुँदै आएको थियो।
पछिल्लो एक हप्तामा प्रहरीले मोटरसाइकल चोरीको गिरोहलाई नै नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ। चोरीको गिरोहलाई नियन्त्रणमा लिन प्रहरी आफैं चोरदेखि ग्राहकसम्म बनेको चितवन प्रहरीका प्रमुख एसपी नान्तिराज गुरुङले बताए।
गुरुङका अनुसार उक्त गिरोहले सामान्य औजारको प्रयोग गरेर मोटरसाइकलको ‘लक’ फोड्ने गरेका थिए। त्यसपछि उनीहरूले सोही मोटरसाइकल चलाएर विभिन्न जिल्ला पुर्याउने गरेका थिए।
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न बाराको करैयामाई गाउँपालिका-५ घर भई हाल चितवनको खैरहनी-९ बस्ने २८ वर्षीय विजय चौधरी, बाराको करैयामाई-५ घर भई हाल भरतपुर महानगरपालिका-३ बस्ने १९ वर्षीय राकेश चौधरी, बाराको कोल्हवी नगरपालिका-७ बस्ने २४ वर्षीय महेश चौधरी, भरतपुर-११ बस्ने २६ वर्षीय दिनेश गुरुङ र भरतपुरकै २५ को मनोज दराईलाई नियन्त्रणमा लिएको छ।
साथै प्रहरीले उनीहरुबाट मोटरसाइकल खरिद गरेर पार्टपुर्जा खोली साटफेर तथा बिक्री वितरणमा संलग्न दुई जनालाई पनि नियन्त्रणमा लिएको छ। चितवनको खैरहनी नगरपालिका–१२ बस्ने २४ वर्षीय समिर चौधरी र सोही ठाउँका २८ वर्षीय अमृत चौधरीलाई ठूलो परिमाणमा मोटरसाइकलका पाटपुर्जासहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो।
प्रहरीले उनीहरूलाई आठ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो। सबैलाई संगठित अपराध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको एसपी गुरुङले बताए।
चितवनबाट चोरी गरिएका अधिकांश मोटरसाइकलहरू बारा पुर्याउने गरिएको भेटिएको एसपी गुरुङले बताए। काठमाडौं, गोखा, तनहुँ, नवलपरासीलगायतका जिल्लाहरुमा पनि सोही गिरोहले चोरीका मोटरसाइकल बिक्री गर्दै आएको पाइएको उनले बताए।
यसरी समातियो गिरोह
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले मोटसाइकल चोरीको गिरोहलाई नियन्त्रणमा लिन कहिले आफैं चोर त कहिले ग्राहक बनेको बताए। ‘पहिले हामी मोटरसाइकल हराएको निवेदन आएपछि खोजी गर्दथ्यौं तर प्राय भेटिन्थेन,’ उनले भने, ‘हराउने क्रम बढेपछि उनीहरुकै सहयोगी बनेर विभिन्न माध्यमबाट सम्पर्क गरी रंगेहात पक्राउ गर्न सफल भयौं।’
भट्टका अनुसार पक्राउ परेको गिरोहमा संलग्न व्यक्तिहरू लक फोड्ने, पहिलो चरणमा कतै लगेर लुकाउने, दोस्रो चरणमा आफ्नो सेल्टरमा पुर्याउने, बिक्री वा पार्टपुर्जा खोलेर राख्नेसम्मका छन्।
‘हामीले उनीहरुको सम्पर्क नम्बर पत्ता लगाएर उनीहरूलाई हामी भएको स्थानमा आउनका लागि प्रेरित गर्यौं,’ उनले भने, ‘यसका लागि कहिले मोटरसाइकल चोरी गरेको भन्दै कुन ठाउँमा ल्याइदिउँ भन्यौं, उनीहरू भएकै ठाउँमा पुगेर सबै कुरा पत्ता लगायौं।’
उनीहरूले मनी ट्रान्सफरमार्फत् पैसा बुझ्ने गरेको पत्ता लगाएपछि प्रहरीले ग्राहक बनेरसमेत केहीलाई नियन्त्रणमा लिइएको जनाएको छ। ‘हामीले मनी ट्रान्सफरबाट पैसा पठाएर त्यहाँ आउनका लागि प्रेरित गर्यौं, प्रहरीलाई क्षेत्रमा खटाएर उनीहरूलाई नियन्त्रणमा लिइयो,’ उनले भने।
चितवनमा बढ्दै गएको मोटरसाइकल चोरीको विषय प्रहरीको टाउको दुखाइको विषय बन्दै गएको थियो। मोटरसाइकल हराउने क्रम थप बढ्न थालेपछि केही दिनअघिबाट विशेष अपरेसन सुरू गरिएको डिएसपी सूर्यबहादुर थापाले बताए।
उनले मोटरसाइकल चोरीको विषयमा चितवनमा प्रहरीले अहिलेसम्मकै ठूलो सफलता हात पारेको दाबी गरे। ‘केही वर्षदेखि यो गिरोहले चितवनको भरतपुर क्षेत्रबाट निरन्तर रुपमा मोटरसाइकल चोरी गर्दै आएको पाइएको छ,’ उनले भने, ‘हामी उनीहरूकै माध्यमबाट गिरोहमा संलग्न अन्य व्यक्ति तथा नक्कली सवारीसाधन चलाउनेहरूलाई नियन्त्रणमा लिँदैछौं।’
प्रहरी कार्यालयका अनुसार चितवनमा पल्सर मोटरसाइकल धेरै चोरी हुने गरेको छ। पल्सरको एनएस, केटीएम डियो २२० मोटरसाइकल चोरीको उजुरी धेरै परेको थापाले बताए। यी मोटरसाइकलको मूल्य अहिले तीन लाख ५० हजार देखि ६ लाख रुपैयाँसम्म छ।
प्रहरीका अनुसार यो गिरोहले चोरीका मोटरसाइकल ६५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको थियो। उनीहरूले मोटरसाइकलमा नयाँ नम्बर प्लेट राख्नेदेखि सोही अनुसारको ब्ल्यूबुक तयार पार्ने काम पनि गर्दै आएका थिए।
‘ट्राफिक प्रहरी पनि झुक्किने खालको कागज पत्र तयार पारिएको भेटिएको छ,’ एसपी गुरुङले भने, ‘सजिलै सक्कली पहिचान गर्न नसकिने कागजपत्र तयार पारिएका कारण बजारमा गइसकेका चोरीका मोटरसाइकल पत्ता लगाउन समस्या भइरहेको छ।’
मेसिन रिडेवल ब्ल्यूबुक नहुँदा यातायात कार्यालयमार्फत् खोजी गर्न पनि कठिनाइ हुँदै आएको उनले बताए।
बिमामार्फत रकम पाउने भएकाले प्राय:ले मोटरसाइकल हराइहाले पनि तत्कालै प्रहरीमा उजुरी गर्दैनन्। बजार क्षेत्रमा सिसिटिभी क्यामराको पहुँच नहुँदा पनि चोरी भएको जानकारी भइहाले पनि खोजी गर्न समस्या भइरहेको गुरुङले बताए। केही महिनायता प्रहरीले हप्तामा दुई वटासम्म मोटरसाइकल भेटाएर सम्बन्धित धनीलाई बुझाउँदै आएको उनले बताए।