लगातारको वर्षापछि आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशभित्र १५ जनाको मृत्यु भएको छ।
गत आइतबार रातिदेखि यहाँ पानी परेको थियो।
सबैभन्दा धेरै डोटीमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। बझाङसहित विभिन्न जिल्लामा २८ जना बेपत्ता छन्। उनीहरू बाढी र पहिरोमा परेर बेपत्ता भएका हुन्। उनीहरूको उद्धार गर्न स्थानीयले माग गरेका छन्।
बझाङमा पहिरोमा परेर बेपत्ता भएका २३ जनाको उद्धार हुन सकेको छैन। मंगलबार दिउँसो थलारा गाउँपालिका–४ डिख्लामा गाउँमाथि पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए।
उद्धार टोली अहिलेसम्म घटनास्थल पुगेको छैन। स्थानीय शिक्षक मदन साउदले २४ घन्टा बितिसक्दा पनि उद्धार टोली नआएको गुनासो गरेका छन्।
घटनास्थलमा इलाका प्रहरी चौकी झोताबाट मंगलबार चार जनाको टोली डिख्ला गएको थियो। भारी बर्षा र राती परेपछि त्यो टोली घटनास्थलमा पुग्न सकेन। बुधबार बिहान उनीहरू घटनास्थल गएका छन्। बेपत्ताहरूको खोजी कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
साउदले थप उद्धार टोली आवश्यक रहेको बताए। प्रदेश सरकारले उद्धारका लागि हेलिकप्टर पठाउने भने पनि पठाइसकेको छैन। ‘एक जनाको शव देखिएको छ,’ उनले भने।
पशुचौपाय पनि पहिरोमा पुरिएका छन्।
साथै मल्लो डिख्लाका १ सय ४८ घरधुरीका ७ सय ५४ जना बिस्थापित भएका छन्। उनीहरू अहिले विद्यालयमा, पसल, र पहिरो जोखिम नभएका घरमा बसेका छन्। बिस्थापित भएकाहरुलाई खान, बस्न गाह्रो भइरहेको साउदले बताए।
तल्लो डेख्लाका २३ जनासँगै ७ वटा घर, पशुचौपाय पुरिएका छन्। ७० बर्षीया उजली पार्की, ५० बर्षीया हासु पार्की, ६ बर्षीया आयसु पार्की, १२ बर्षीया हिमा पार्की, ८ बर्षकी सिमा पार्की, ६० बर्षीया हर्क सार्की बेपत्ता छन्।
साथै धनगिरी सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की , इस्वरा देवी सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, पनि पहिरोमा बेपत्ता भएका छन्।
विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की , एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की, सिम्जिबी सार्की पनि बेपत्ता भएका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बेपत्ता भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको बताइन्।
उनले खोज तथा उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँमा पनि हेलिकप्टर पठाइने जानकारी दिइन्।