डिखला गाउँमा अहिले पीडा र मौनता छ। स्थानीय नि:शब्द छन्।
सोमबार राति बझाङको थलारा गाउँपालिका-४ डिखलामा पहिरो जाँदा दुई परिवारका २३ जना बेपत्ता भएका थिए।
तीमध्ये दुई जनाको शव फेला परेको भए पनि अरू भेटिएका छैनन्।
चार दिनदेखि शोकमग्न बनेको गाउँका १ सय ८५ परिवार विस्थापित भएर गाउँलेको शरणमा छन्। कोही स्कुलमा, कोही आफन्तकहाँ बसिरहेका छन्।
‘एक दिनसम्म त हराएकाहरूको खोजी गर्न पनि सकेनौं, न प्रहरी थिए, न कसैलाई फोन गर्न नेटवर्क थियो,’ स्थानीय शिक्षक मदनबहादुर साउदले भने।
मंगलबार भने हेलिकप्टरमार्फत् खोजी कार्यका लागि सुरक्षाकर्मीको टोली राहतको सामानसहित डिखला पुगेको थियो।
त्यो टोलीले ५० पेटी चाउचाउ, ७ क्वीन्टल चामल, तेल लगायतका खाद्यान्न र ओढ्ने-ओछ्याउने सामग्री लगेको थियो।
माथिल्लो डिखलाका ८० र तल्लो डिखलाका एक सयभन्दा बढी घर जोखिममा छन्।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा नै निरीक्षणका लागि आउने कुराले डिखलाबासीमा झिनो आशा पलाएको थियो। बुधबार बेलुका नै उनीहरूले प्रधानमन्त्री आउने कुरा सुनेका थिए।
‘प्रधानमन्त्री आउने थाहा पाएपछि हामीले लिखित रूपमा आफ्ना कुरा सुनाउँला भन्ने तयारी गरेका थियौं,’ साउदले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै समय तालिकामा थलारामा स्थान अवलोकनको कार्यक्रम राखेको थियो।
त्यही अनुसार डिखलाबासी बिहीबार बिहानैदेखि प्रधानमन्त्रीको स्वागत गर्न पर्खेर बसेका थिए।
डिखलामा जमिन थिलथिलो भएको छ। अहिले बसोबास गरिरहेको बस्ती जोखिममा छ।
‘यस्तो घटना फेरि नहोस् भन्ने हामी चाहन्छौं, बस्ती सारेर सुरक्षित स्थानमा बसोबास गराउनुपर्यो भन्ने माग राखेर गाउँलेहरूले प्रधानमन्त्री बुझाउन ज्ञापन पत्र लेखेका थिए,’ साउदले भने, ‘सबैको सल्लाह अनुसार गाउँका समस्या प्रधानमन्त्रीलाई सुनाउन ज्ञापन पत्र लेख्यौं, तर उहाँ सदरमुकाम पुगेर जानुभएछ, हाम्रो गाउँमा आउनु भएन।’
उनका अनुसार गाउँमाथि प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर भने उड्यो। हेर्दाहेर्दै आकाशबाट अन्तै मोडियो।
‘प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिन नपाउँदा मन खिन्न भयो, खुसी पनि निराशमा परिणत भयो,’ उनले भने।
गाउँलेले अब गाउँपालिकाको कार्यालयमार्फत् ज्ञापन पत्र बुझाएर प्रधानमन्त्रीसमक्ष पुर्याउने योजना बनाएका छन्।
डिखलामा एक वर्षअघि अहिलेको भन्दा दुई सय मिटर टाढा बर्खाको समयमा पहिरो आएको थियो। सो पहिरोले सामान्य क्षति गरेको थियो। बेमौसममा चाहिँ त्यहाँ यस्तो पहिरो कहिल्यै पनि आएको थिएन।
बाबु-बाजेलाई सोध्दा उनीहरूले यो मौसमा यस्तो पानी परेर पहिरो नआएको मदनले सुनाए।
डिखलाबासीले पहिरो आउनुको कारण जमिन कमजोर हुनु, गाउँको माथि घर बनाउन ढुंगा निकाल्नु, लगातारको पानीले जमिन गल्लु, हेभी इक्युमेन्ट सामग्री प्रयोग गरी उत्खनन् गर्नु लगायत कारण पहिरो गएको अनुमान लगाएका छन्।
‘गाउँका मान्छेलाई बस्तीमा बसौं कि नबसौं लागेको छ। बसे पहिरोले गाउँमा पुर्याएको क्षतिले दु:खेको छ। नबसौं भने पनि अन्त जाने ठाउँ छैन,’ साउदले भने, ‘मेरो स्कुलमै पढ्ने केटाकेटी पनि बेपत्ता छन्, उनीहरू कहाँ होलान्, कस्तो अवस्थामा होलान्, यही मात्र दिमागमा आउँछ।’
बेपत्ता भएका आफन्तहरू रुँदै दिन काटिरहेका छन्। मृतकका आफन्त कोही बेहोस् हुन्छन्। मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली र समवेदना प्रकट गरेर साथीभाइ-इष्टमित्रले सहानभूति दिइरहेका छन्।
बझाङको थलारा गाउँपालिका-४ डिखला प्राकृतिक रुपले रमणीय गाउँ थियो। माथि डाँडा र जंगल छ। वरिपरि खेत र पाखो जग्गा छ।
‘कलक सार्की र नरबहादुर पार्कीको परिवारका २३ जना हराएको कुरा सरकारले सुनोस्’
कलक सार्की र नरबहादुर पार्की छिमेकी हुन्।
सोमबार राति पानी पर्न थाल्यो। नरबहादुर पार्कीको घर वरिपरि बेस्सरी पानीको भेल बग्न थाल्यो।
यो देखेर उनी डराए। उनले छिमेकी कलक सार्कीको घर सुरक्षित ठाने। उनले श्रीमती र छोराछोरी त्यहीँ लगे।
आफ्नो घरमा केही घटना हुने सोचेर सरसामान, अन्न ल्याउन नर कलकलाई साथमा आफ्नो घरमा फर्के।
दुबै जना कलकको घरमा सरसामान लग्न तयारी गर्दै थिए। त्यहीबेला कलकको घरमा झ्याप्प बत्ती गयो। त्यहीबेला ठूलो र डरलाग्दो आवाज आयो। ढुंगा र जमिन हल्लियो। त्यो आवाजले नर र कलको होस् हरायो।
पानी परिरहेको र त्यसैमाथि अँध्यारो हुनाले घटनास्थलमा उनीहरू जान सकेनन्। केही समयपछि पहिरोको छेऊछेऊमा गएर कलक र नर माथिका छिमेकी करन साउदको घर पुगे।
रातभरि उनीहरू त्यहीँ बसे। बिहानै ५ बजे पूरै गाउँमा हताहतीको हल्ला सुनियो।
पछि गाउलेहरूसँगै कलक र नर घटनास्थलनजिक गए। त्यहाँ पूरै पहिरो मात्र देखेर दुबै जना बेहोस भएर ढले।
दोस्रो दिन पनि पहिरो आउन रोकिएन। सात वटा घर पहिरोले लग्यो। त्यस घटनामा कलककी श्रीमती, दुई भाइ, छोरा बुहारी, छोरीसहित १८ जना परिवारका सदस्य बेपत्ता भए। नरले पनि श्रीमती र छोरीछोरा गरी पाँच सदस्य बेपत्ता भएको बताए।
कलकले भारत बसेर भए पनि परिवारका सबैलाई राम्रो पालनपोषण गरेका थिए। उनका पहिरोमा बेपत्ता भएका दुई भाइमध्ये एक मदन सार्की शिक्षक थिए।
कलक र मदनलाई पीडा कम गर्न गाउँलेहरुले सान्त्वना दिइरहेका छन्। अहिले कोदो काट्ने सिजन हो। तर, घटनापछि कसैले काम गरेका छैनन्। सुरक्षाकमीसँगै गाउँलेहरू पनि बेपत्ता भएकाको खोजीमा छन्।
सेना, ससस्त्र प्रहरी बल, नेपाल प्रहरी गरी करिब ४० जना सुरक्षाकर्मीले मंगलबारदेखि बेपत्ता भएकाको खोजी गरिरहेका छन्।