एक जमाना थियो- २५ वर्षे ठिटो काँधमा ग्लाडुलसको बिटो बोकेर सारा सहर चहार्दा पनि किनिदिने कोही हुन्थेन।
ललितपुरको गोदावरीमा नर्सरी व्यवसाय गरेका दीपक पाख्रिनले ग्लाडुलस पनि फूलाएका थिए। फूलका सुन्दर गुच्छा तयार गरेर किनिदिन आग्रह गर्दै पाख्रिन उपत्यकाका पसल-पसल चहार्थे। फूल हेरेर मानिसहरू दंग पर्थे तर किन्न तयार हुन्थेनन्।
धेरै धाउन थालेपछि केही ठूला व्यापारी फूल राखिदिन तयार भए तर पैसा भने बिक्री भएमात्रै दिन सक्ने सर्त तेर्साए। पाख्रिन त्यो सर्तमा मञ्जुर भए। उनलाई भाग्यले साथ दियो, दिएका फूल ती पसलबाट बिक्री हुन थाले। बिस्तारै माग बढ्न थाल्यो।
फूल बिक्री हुन थालेपछि उत्साहित बनेका पाख्रिनले खेतीको क्षेत्र बढाउँदै लगे। ललितपुरको एक निजी विद्यालयमा पढाउने उनी शिक्षण पेशा नै त्यागेर फूल खेतीमा होमिए।
पाख्रिन ६० वर्षे उमेरमा पनि चितवनको दिव्यनगरमा फूल खेतीमा रमाउँदै छन्। पश्चिम चितवनको मेघौली घर भएका उनी घरदेखि करिब ५ किलोमिटर पूर्वमा तीन बिघा जमिन भाडामा लिएर सयपत्री र ग्लाडुलस फूलको व्यावसायिक खेती गर्दै आएका छन्।
‘जमाना फेरिएको छ, त्यतिखेर जति दुःख गरे पनि बजार थिएन। अहिले दुःख गर्न सके बिक्रीको समस्या नै छैन,’ पाख्रिनले भने, ‘कसैले नगरेको व्यवसायमा हात हालेर बजार बनाउँदै यहाँसम्म आइपुगें।’
शिक्षण पेशा त्यागेपछि पाख्रिनले फूल खेतीबाहेकको कुनै पेशा अँगालेनन्। यही पेशाबाट उनले घरबार चलाए, चार जना छोराछोरीलाई उच्च शिक्षा दिए, घर-घडेरी जोडे।
‘व्यवसायमा अघि बढ्दै गर्दा धेरै उतारचढाव आए। कहिले वर्षाले, कहिले भूकम्पले दुःख दिए। खेती गरेको ठाउँ छाड्दै हिँड्नु पनि पर्यो, व्यवसाय डुबेर ऋण पनि लाग्यो तर व्यवसाय कहिल्यै छाड्नु परेन,’ उनले सुनाए, ‘फूलबाहेक अरू केही देख्दिनँ, मेरो त जिन्दगी नै यसैले चलाइरहेको छ। अहिले सबै ऋण पनि तिरेर ढुक्कसँग बसेको छु।’
दस वर्ष ललितपुरमा फूल खेती गरेका पाख्रिन धादिङको नौबिसे, मकवानपुरको मनहरी, पूर्वी चितवनको जयमंगला, पश्चिम चितवनको मेघौली हुँदै भरतपुर-२६ दिव्यनगर आइपुगेको ५ वर्ष भयो। सुरूआती दिनबाटै ग्लाडुलसको खेती गरेका उनले सयपत्रीको खेती सुरू गरेको १६ वर्ष भयो। हाल दिव्यनगरको २ बिघा जमिनमा सयपत्री र एक बिघामा ग्लाडुलस फूलाउने गरेको उनले बताए।
‘वर्षमा दस महिना सयपत्री फूल फूल्छ, देशका विभिन्न ठाउँबाट अर्डर आइराख्छ, टिप्दै, माला उन्दै पठाउँछु,’ उनी भन्छन्।
फूल खेतीबाट वर्षमा १२ लाख रुपैयाँसम्म कमाउने गरेका छन् पाख्रिनले। फूलको गोडमेल, रेखदेख, फूल टिप्ने, माला उन्नेदेखि बजार पुर्याउनेसम्मको काम गर्न ५ जना कर्मचारी राखेका छन् उनले।
उनकाअनुसार मेहनत गर्न सके सयपत्री फूलको व्यावसायिक खेतीबाट फाइदा राम्रो लिन सकिन्छ।
‘खट्न सक्ने हो भने धान, मकै, तरकारी खेतीबाट भन्दा सयपत्रीबाट राम्रो नाफा लिन सकिन्छ,’ उनले भने, ‘तरकारी खेती गर्ने फूल खेतीमा आउन सक्ला तर फूल खेती गर्ने किसान तरकारीतिर कहिल्यै जाँदैन।’
यति हुँदाहुँदै पनि फूल खेतीमा आकर्षण बढ्न नसकेको उनले बताए।
सयपत्री र ग्लाडुलसमा मात्रै नभई मखमली, गुलाब, कार्नेसन, अर्किडलगायतका फूलको व्यावसायिक खेतीको पनि प्रचुर सम्भावना रहेको उनी बताउँछन्।
‘सयपत्री फूलको खेती बढ्न थाले पनि प्रायः तिहार केन्द्रीत भए, तिहार बाहेकको समयमा पनि यसको मालाको माग बढ्दो छ। सुख, दुःख सबैमा सयपत्रीकै माग हुन्छ,’ उनले भने, ‘अन्य समयमा पनि सयपत्रीको उत्पादन बढाउन सक्यौं भने नेपाली मुद्रा कम विदेशिने थियो।’
पाख्रिनकाअनुसार काठमाडौंमा मात्रै सयपत्री फूलको माग दैनिक ५ हजार वटा मालाको छ। तिहारको समयमा त माग ह्वात्तै बढ्छ। तर यो पूरा गर्न नेपाली उत्पादनले सक्दैन। त्यसकारण भारतबाट आउने फूलले बजार पाइरहेको छ। तिहारको समयमा भारतबाट करिब २० लाख माला नेपाल आउने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांकले बताउँछ। यसबाहेक वर्षमा करिब १० करोड रुपैयाँ बराबरको सयपत्री फूल आयात हुने गरेको छ।
पाख्रिनले नेपालमा सयपत्री फूलको खेती बढाउने र बजार व्यवस्थापन गर्न सक्ने हो भने नेपाली पैसा बाहिरिन रोक्न सकिने बताए। साथै सयपत्रीको बीउ उत्पादन र फूललाई टिकाउ बनाउनका लागि पनि अध्ययन हुनुपर्ने उनले बताए।
‘मैले लोकल फूलकै बीउ जमाएर व्यावसायिक खेती गर्न सकिन्छ कि भनेर प्रयास गरें तर राम्रो भएन। त्यसैले कलकत्ताबाट बीउ ल्याएर बेर्ना उमार्ने गरेको छु,’ उनले भने, ‘यहीँ विस्तृत अध्ययन गरेर स्तरीय बीउ बनाउनतिर पनि लाग्नुपर्छ।’
उनले कलकत्ताबाट प्रतिकिलो २० हजार रुपैयाँ तिरेर सयपत्री फूलको बीउ ल्याउने गरेको बताए। एक किलो बीउबाट २५ हजार वटा बिरुवा तयार गर्न सकिन्छ। उनले बिरुवा उत्पादन गरेर बिक्री पनि गर्ने गरेका छन्। यस वर्षमात्रै उनले ५ लाख वटा बिरुवा बिक्री गरे।
नेपाली सयपत्री फूलको अर्को समस्या भारतीय जत्तिको टिकाउ नहुने हो।
‘भारतबाट ४-५ दिन अघि टिपेर ल्याइएका सयपत्री यहाँ धेरै दिन राख्दा पनि नबिग्रने तर नेपालको उत्पादन टिपेको केही दिनमै ओइलाउने समस्या छ,’ उनले भने, ‘यस विषयमा अध्ययन गरेर भारतीय उत्पादनसँग प्रतिष्पर्धी बनाउनु आवश्यक देख्छु।’
फूलमा देश नै आत्मनिर्भर भए आयात रोक्न सहज हुने उनले बताए। माग पूरा गर्नै नसक्दा आयात रोक भनेर फूल व्यवसायीका संस्थाहरूले सरकारलाई दबाब दिएरमात्रै अर्थ नहुने उनको बुझाइ छ।
‘व्यापारीले भने नेपाली उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ, त्यो अहिले भइरहेको छैन,’ उनी भन्छन्, ‘जसले व्यापारीको चाप्लुसी गर्छ उसैको बिक्री हुने समस्या छ।’
भारतीय फूलमा धेरै नाफा हुने भएकाले व्यापारीको प्राथमिकतामा भारतीय उत्पादन नै हुने गरेको पाख्रिनले बताए।
पाख्रिन केही वर्षअघि फूल खेतीको विषयमा अध्ययन गर्न भारत राजस्थानको अजमेर जाँदा दुर्घटनामा परेर घाइते भए। उनको खुट्टामा गम्भीर चोट लाग्यो। तैपनी उनी पछि हटेनन्, बरू डटेर खेतीमा लागे। फूल फूलाएर बिक्री गर्न थालेको ३५ वर्ष भइसक्दा पनि पाख्रिन थाकेका छैनन्। बरू यो व्यवसायमा लाग्न खोज्नेलाई हौस्याउनेदेखि जानेको सिकाउने गर्छन् उनी।
विश्वविद्यालयमा कृषि विषय पढेका विद्यार्थी पनि फूल खेतीको विषयमा सिक्न उनीकहाँ आउँछन्। उनीहरूलाई आफूले जानेका कुरा सिकाएर पठाउँछन् पाख्रिन।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक सूर्य ढुंगानाले दुई वर्षदेखि सयपत्री फूलको खेती सुरू गरेका छन्। उनले खेती गर्ने क्रममा पुराना किसान पाख्रिनसँग धेरै कुरा सिकेको बताए।
‘कृषिका विद्यार्थीले सैद्धान्तिक रूपमा त राम्रै ज्ञान पाएका हुन्छन् तर प्रयोगात्मक ज्ञानको कमी हुन्छ। पढाइबाट सबै खेतीको विषयमा ज्ञान नहुन पनि सक्छ,’ उनले भने, ‘व्यवसायिक रूपमै खेती गर्न चाहनेले अनुभवी किसानसँग व्यवहारिक सीप सिक्नुपर्छ। मैले पनि सयपत्री फूलको खेती सुरू गर्दा उहाँसँग धेरै कुरा सिकेको छु।’
केही वर्षदेखि सयपत्री फूल फूलाउन सुरू गरेका उनले यस वर्षदेखि बीउ जमाएर बिरुवा आफैंले उमारेको बताए। पाख्रिनले जस्तै ढुंगानाले पनि बिरुवाहरू आफूलाई पुर्याएर अन्यत्र पनि बिक्री गरेको सुनाए। गत वर्ष १० कट्ठामा सयपत्री लगाएका उनले यस वर्ष एक बिघा जमिनमा लगाएका छन्।
‘बीउका लागि भारतकै भर पर्नुपर्ने र फूल पनि धेरै त्यतैबाट आउने अवस्था अहिलेसम्म छ। त्यसलाई बिस्तारै कम गर्दै लैजानु पर्ने चुनौती छ,’ बाली प्रजनन् विषयका अध्यापक ढुंगानाले भने, ‘खेती सुरू गरेको छु। अब त्यस विषयमा अध्ययन-अनुसन्धान पनि अघि बढाउँछु।’
उनले लगानी कम र नाफा बढी हुने व्यवसाय भएकाले फूल खेतीप्रति युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए।
एक कट्ठा जमिनमा १ हजार वटा बिरुवा रोप्न मिल्छ। एउटा बिरुवाले एउटा मालालाई पुग्ने फूल सजिलै दिन्छ। मालाको मूल्य न्यूनतम आउँदा पनि एक कट्ठा जमिनबाट दुई महिनाको अवधिमै २० देखि ४० हजार रुपैयाँसम्म आम्दानी लिन सकिने ढुंगाना बताउँछन्।
चितवनमा अहिले ५० बिघा बढी जमिनमा सयपत्री फूल खेती छ।
तिहारबाहेकका समयमा भने सयपत्री फूल कमैले लगाउँछन्। पाख्रिनका अनुसार सयपत्री फूलको मूल्य एउटा मालाको न्यूनतम ३० रुपैयाँ हुँदा किसानले नाफा कमाउन सक्छन्। अहिले किसानले प्रातिमाला ८० देखि १०० रुपैयाँसम्म पाउने गरेका छन्।