पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियामा राजा महेन्द्रको सालिक फेरि राखिने भएको छ। अत्तरिया सुदूरपश्चिम विभिन्न स्थान जान मिल्ने चोक हो। धनगढी, महेन्द्रनगर, डडेल्धुरा र चिसापानीबाट आएका बाटा यहीँ मिसिन्छन्।
अत्तरिया चोकमा २०४३ सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्याले महेन्द्रको सालिक अनावरण गरेका थिए। सुदूरपश्चिमलाई पूर्व-पश्चिम राजमार्गले भर्खरै जोडेको त्यो बेला राजा महेन्द्रको निकै चर्चा थियो।
राजमार्ग बनेपछि २०४२ सालमा धनगढी नगर पञ्चायतका प्रधानपञ्च बनिसकेका यज्ञराज पन्तको संयोजकत्वमा महेन्द्रको सालिक राख्न समिति बनेको थियो।
पन्त र उनका सहयोगीले भारतको राजस्थानका मुर्तिकारलाई महेन्द्रको सालिक बनाउन लगाएका थिए।
एकै ढुंगामा कुदेर बनाइएको जस्तो देखिने त्यो ६ फिटको सालिक ट्रकमा जयपुरबाट अत्तरिया पुर्याइएको थियो।
२०५२ देखि २०५८ सालसम्म राष्ट्रिय सभा सदस्य रहेका केइयाँ चौधरीका अनुसार सालिक अनावरण गर्न विरेन्द्र हेलिकप्टरमा अत्तरिया आएका थिए।
‘हरेक पाँच वर्षमा त्यस बेलाका पाँच विकास क्षेत्रको भ्रमण गर्न राजा आउँथे। ०४३ सालमा दीपायल आएका राजा अत्तरियामा महेन्द्रको सालिक उद्घाटन गर्न हेलिकप्टरमा आएका थिए,’ उनले भने।
वीरेन्द्र आउँदा वरपरका हजारौं मानिस अत्तरियामा भेला भएका थिए। त्यसबेला अत्तरियामा निकै चहलपहल भएको चौधरीले बताए।
अत्तरिया चोकमा स्थापना गरिएको महेन्द्रको सालिक वरिपरि हरियाली थियो। फूलहरू रोपिएका थिए। सानोतिनो पार्ककै रूपमा यसलाई बनाइएको चौधरीको बुझाइ छ।
दोस्रो जनआन्दोलनका बेला त्यो सालिक ढालिएको थियो। सालिकका खट्टा भाँचिएपछि तल खसेको थियो। त्यसको टाउकाको भाग फुटाइएको थियो। घाँटीदेखि घुँडासम्मको भाग अझै अत्तरिया चोकमा लडेको छ।
‘यहाँ पूर्वतिर फर्केर नमस्कार गरेको महेन्द्रको सालिक थियो, अहिले यहाँ विज्ञापन राख्न पोल गाडिएको छ,’ स्थानीय बेजु चौधरीले भने।
गोदावरी नगरपालिकाले विज्ञापन एजेन्सीबाट शुल्क लिने गरी यो चोकमा १० वर्ष पोल राख्न दिने सम्झौता गरेको छ। २०७४ मै यस्तो सम्झौता गरेपछि नगरपालिकाको चर्को आलोचना भएको थियो।
नगरपालिकाले प्रदेशलाई चिनाउनेभन्दा पनि कमिसनका लागि विज्ञापन राख्न दिएको आरोप लागेको थियो।
चोकमा राखिएको विज्ञापनका पोष्टरमा ढुंगा र गुलेली हानेर क्षति पुर्याउन थालेपछि एजेन्सीले विज्ञापन राख्न छोड्यो।
उसैले चोकमा बिजुली बत्ती, सिसिटिभी जोडेको थियो। सिसिटिभी पनि वेबारिसे भएका र बिजुलीको बिल तिर्नै बाँकी रहेको गोदावरी नगरपालिकाका मेयर हरीसिंह साउँदको सचिवालयले बताएको छ।
स्थानीय स्तरबाट विरोध भएपछि ४० प्रतिशत प्रदेश चिनाउने पोष्टर र ६० प्रतिशत एजेन्सीका विज्ञापन राख्ने कुरा भएको छ।
अहिले अत्तरिया चोकमा नयाँ विज्ञापन राखिएको छैन बरू पुराना पोष्टर च्यतिएर झुत्रा भएर झुण्डिएका छन्।
अत्तरिया चोक कुरूप बनेको र इतिहास बचाउने भन्दै राजा महेन्द्रको जनआन्दोलनका बेला भत्काइएको सालिक फेरि राख्ने तयारी थालिएको छ।
सुदूरपश्चिमको अस्थायी र स्थायी राजधानीको बीचमा पर्ने अत्तरिया चोकमा राख्न १० लाख खर्चिएर महेन्द्रको सालिक बनाइँदै छ।
निर्माण कम्पनी र कृषि व्यवसायमा आवद्ध नेपाली कांगेसका महाधिवेशन प्रतिनिधि हरिदत्त भट्टराईको अध्यक्षतामा २१ सदस्यीय सालिक पुनर्निर्माण समिति बनाइएको छ।
‘समितिमा सबै दलका मान्छे छन्। एमाले, कांग्रेस, राप्रपाका छन्, माओवादीका भने छैनन्’ उनले भने।
अत्तरिया चोकलाई व्यवस्थित बनाउन छलफल गर्न आयोजित भेलाले उक्त समिति बनाएको हो।
‘शासन व्यवस्था जेसुकै आए पनि ऐतिहासिक महत्वका चिजको संरक्षण गर्न सालिक बनाउन लागिएको हो,’ भट्टराईले भने।
पछाडिको पिँढीलाई इतिहासका शासकबाट राम्रा के काम भए भन्नेबारे जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ।
तीन वर्षदेखि नै अत्तरिया चोक व्यवस्थापनको कुरा उठ्दै आएको छ।
‘हामीले विभिन्न दलसँग पनि समन्वय गरेका छौं, उहाँहरूबाट सालिक स्थापना गर्न खासै पहल भएन अनि एकजना पिठाधीशको अभिभावकत्वमा थालनी भएको हो,’ भट्टराईले भने।
दार्चुलामा एक मन्दिरका प्रमुख रहेका ती पिठाधीशले अभिभावकत्व गरेपछि यो काम अगाडि बढेको उनले बताए।
‘उहाँ सल्लाहकारको भूमिकामा हुनुहन्छ। हामीलाई उहाँले सल्लाह दिने हो, काम हामी आफैं गरिरहेका छौं,’ भट्टराईले भने।
सालिकसँगै नेपालको चुच्चे नक्सा पनि धातुबाटै बनाएर चोकमा राखिने उनले बताए। बजेटले भ्याए वरिपरि पानीको फोहरा पनि बनाइने छ।
सालिक बनाउन सरकारी निकायसँग पनि बजेट मागिने उनले बताए। सार्वजनिक रूपमा सहयोग आह्वान गर्ने र नभए व्यक्तिगत लगानीमा सालिक बनाउने योजना रहेको उनले सुनाए।
‘हामी हाम्रो ठाउँ राम्रो बनाउन चाहन्छौं,कसैले राजावादी वा केही भन्छ भने त्यो गलत हो,’ भट्टराईले भने।
सालिक निर्माणका लागि सुरूमा सबै निकायमा सहयोग माग्ने भट्टराईले बताए।
‘कसैबाट सहयोग नपाए समितिका सदस्यले पैसा उठाउने भन्ने भएको छ, हामी बैंकबाट ऋण निकालेर भए पनि सालिक बनाउने छौं,’ उनले भने।
इतिहाससँग जोडिएका सम्पदाको संरक्षण गर्नु देशप्रेमी युवाको दायित्व रहेको उनको भनाइ छ।
‘यहाँका राजाका श्रीपेच, महत्वपूर्ण चिनारी हामीले विदेशमा पैसा तिरेर हेर्नु परिरहेको छ, यहीँ भएका यस्ता सम्पदाको किन संरक्षण नगर्ने भनेर कुनै वाद नहेरी राष्ट्र प्रेमले सालिक बनाउन लागेका हौं,’ उनले थपे।
उक्त समितिले जिल्ला प्रशासन कार्यालयसँग पनि यो विषयमा छलफल गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सरोकार राख्नेहरूसँग समन्वय गरेर कसैबाट रोकावट नआए काम गर्न सकिने बताए।
‘सडकको छेउछाउ नजिक वा बीचमा केही बनाउनु परे सडक डिभिजनसँग समन्यव गर्नुहोला भनेका छौं। स्थानीय सरकार, सर्वदलीय, सर्वपक्षीय सहमति भएर सडकले पनि अनुमति दिए प्रशासनले सालिक राख्न रोक्दैन,’ उनले भने।