बुधबार बिहान ११ बजे बुधरामले बाबु सिंगराम चेपाङलाई डोर्याएर खुरखुरेस्थित कामना सेवा विकास बैंकको कार्यालयमा पुर्याए।
लट्टा परेको लामो कपालमाथि बाक्लो टोपी र खुट्टामा पुराना चप्पल लगाएका सिंगरामलाई बुधरामले बैंकको चिटिक्क परेको सोफामा बसाए। बैंकका कर्मचारीले केही कागजमा उनको ल्याप्चे लगाइदिए। केही बेरमा उनको हातमा १२ हजार रूपैयाँको बिटो थमाइदिए।
उनीहरूले पैसा दिँदै गरेको फोटो खिचे। कहिले पैसा गन्न लगाएर खिचे, कहिले बैंकका कर्मचारीको साथमा उनलाई राखेर फोटो खिचे।
सबैले उनलाई बधाई दिए। यो सब तामझाम देखेर सिंगराम भने अलमलमा परे।
उनलाई यो सब नाटक पो हो कि झैं लागिरहेको थियो।
‘यो पैसाले के गर्नुपर्ने हो? मलाई नै दिएको हो कि एकछिन राख्न मात्रै दिएको हो?’ उनले प्रश्न गरे।
सिंगराम उनै वृद्ध हुन् जसको नागरिकता प्रमाणपत्रमा लेखिएको उमेर वास्तविकभन्दा २० वर्ष कम देखिएपछि वृद्धभत्ताबाट वञ्चित हुँदै आएका थिए।
नागरिकतामा कम उमेर लेखिएका कारण वर्षौंदेखि वृद्धभत्ताबाट वञ्चित भएका राप्ती–१३, कान्दाका सिंगरामले अन्ततः भत्ता प्राप्त गरेका छन्।
८२ वर्ष पुगिसक्दा पनि नागरिकतामा २० वर्ष कम उमेर देखिएपछि उनले वृद्धभत्ता पाएका थिएनन्। नागरिकतामा उनको उमेर ६२ देखिँदा भाइ लालसिंगको उमेर ७१ पुगिसकेको थियो।
सेतोपाटीमा सिंगरामको विषयमा समाचार प्रकाशन भएपछि चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले चासो देखाउँदै समस्या समाधान गर्न सम्बन्धित शाखालाई निर्देशन दिएका थिए। जिल्ला प्रशासनको पुरानो अभिलेखमा सिंगराम विसं १९९५ मा जन्मिएको भेटिएपछि उनले नागरिकता पाएका थिए।
२०४६ सालमा नागरिकता वितरणका लागि तत्कालीन लोथर गाविस पुगेको टोलीले दिएको नागरिकतामा भने उनको उमेर त्यो दिन ३१ वर्ष पुगेको लेखिएको देखिन्थ्यो। भाइ लालसिंगको नागरिकतामा उमेर ४० वर्ष लेखिएको थियो। त्यतिखेर नागरिकतामा जन्म मितिको ठाउँमा उमेर लेख्ने चलन थियो।
‘मैले ५१ वर्ष पुगेँ भनेको ३१ वर्ष सुनेर त्यही लेखिदिएछन्,’ सिंगरामले सेतोपाटीसँग भनेका थिए, ‘उमेर ८२ पुगिसक्यो नागरिकताले ६२ भन्दो रहेछ।’
उनकी श्रीमती सुकमाया केही वर्षअघि बितिन्। बित्नुअघि उनले तीन वर्ष वृद्धभत्ता बुझेकी थिइन्। सिंगराम भने नागरिकता बोकेर सरकारी अड्डा धाइराखे तर पाएनन्।
उमेर छँदा नागरिकतामा कम उमेर हुँदा पनि खुसी भएका सिंगरामलाई वृद्ध अवस्थामा भने सास्ती भयो।
‘उहिलेका मान्छेले बुढो भयो भने मार्छन् भनेर सुनाउँथे, नागरिकतामा उमेर घट्दा राम्रै भएछ कि जस्तो लाग्थ्यो। तर बुढो भएपछि भाइहरूले भत्ता खाँदा पनि आफूले पाइनँ,’ उनले भनेका थिए, ‘आफ्नो कुरा राख्दा कसैले सुनेनन्।’
गाउँका आफू सरहकाले वृद्धभत्ता बुझ्न थालेको १२ वर्ष हुँदा पनि सिंगराम भने वृद्धभत्ता पाउने उमेर पर्खेर बसिरहेका थिए।
जिल्ला प्रशासन कार्यालयले अभिलेखमा उल्लेख भएअनुरुपको नागरिकता प्रमाणपत्र प्रदान गरेपछि सिंगरामले वृद्धभत्ता पाउने बाटो खुलेको थियो। वृद्धभत्ताका लागि उमेर पुगेपछि पूर्वी चितवनको खुरखुरेस्थित कामना सेवा विकास बैंकका कर्मचारीले गाउँमै पुगेर सिंगरामको बैंक खाता खोल्ने फारम भरिदिएका थिए।
‘गत साउनदेखि असोजसम्मको वृद्धभत्ताबापतको १२ हजार रूपैयाँ उहाँले प्राप्त गर्नुभएको छ,’ बैंककी म्यानेजर विन्दु सिञ्जाली मगरले भनिन्, ‘अब उहाँले तीन–तीन महिनामा आएर भत्ता बुझ्न सक्नुहुन्छ।’
सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई महिनाको चार हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।
त्यो पैसा उनैले खर्च गर्न सक्नेगरी नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता हो भन्ने थाहा पाएपछि सिंगरामले १२ वर्षदेखिको सपना पूरा भएको बताए।
‘बेलैमा भत्ता पाएको भए पैसा जम्मा गरेर गाई, भैंसी, बाख्रा किन्थेँ, तीबाट आएको आम्दानी खान्थेँ। काम गर्न नसक्ने भएपछि पो भत्ता पाइयो, अब गाई–भैंसी किनम् कसले घाँस काटेर पाल्ने, बाख्रा किनम कसरी चराउने,’ उनले भने, ‘जे होस् मर्नुअघि भनेपनि भत्ता पाइयो, खुसी हुनैपर्यो नि।’
भत्ता बुझ्न बाबुलाई लिएर आएका बुधराम चेपाङले सरकारले दिएको पैसाले नुन, दाल, चामल किनेर लैजाने बताए। ‘घरमा मकै बाहेक केही पनि छैन, चामलको भात खान साह्रै दुःख छ,’ उनले भने, ‘यो पैसाले नुन, दाल, चामल, मासु किनेर बुबालाई खुवाउँछु।’
सिंगराम कान्दास्थित एक खोलाको आडमा पानी घट्ट चलाउने काम गर्छन्। छिमेकीले ल्याएको मकै, कोदो पिसेर आउनले आम्दानीबाट उनले जीवन चलाउन थालेको वर्षौं भयो। खोलाको डिलमा रहेको घट्ट अनि नजिकै रहेको ठूलो ढुंगा मुनिको ओडारलाई बारेर बनाएको कोठामै उनको दैनिकी बित्ने गरेको छ।
‘घट्टमा एक पाथी मकै पिस्यो भने पाँच मुठी मैलाई दिन्छन्। अब त बुढो भएँ, त्यो काम पनि राम्रोसँग गर्न सकेको छैन,’ सिंगरामले भने, ‘भत्ता पाइराख्यो भने त अब दुःख कम गरेपनि खान पुग्छ होला।’
स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले सिंगरामको नागरिकतामा उल्लिखित उमेर मिलाउन धेरै प्रयास गरेका थिए।
‘प्रशासन कार्यालयका प्रतिनिधिसँग उहाँले आफ्नो गुनासो राख्नुभयो तर उमेर परिवर्तन गर्न नमिल्ने बरू जेष्ठ नागरिकलाई गाविसले नै भत्ता दिनसक्ने भनेर फर्काइदिए,’ थपलियाले भने, ‘तर गाविसले यसमा बेवास्ता गर्यो। उहाँले कतैबाट सहयोग पाउनुभएन। समाचारमा आएपछि बल्ल उहाँको सपना साकार भयो।’
केही व्यक्तिले उनका लागि घर बनाउन आर्थिक सहयोग गरेको जानकारी दिँदै थपलियाले अब उनलाई ओडारको छाप्रोबाट घरमा सार्ने प्रयास गरिने बताए।
सिंगरामको गाउँ पुग्न पूर्व–पश्चिम राजमार्गको भण्डाराबाट करिब तीन घन्टा गाडी चढेर करिब दुई घन्टा पैदल यात्रा गर्नुपर्छ। यी बस्तीमा सरकारी निकायको उपस्थिति असाध्यै कम हुन्छ। लामो समय हिँड्नुपर्ने बाध्यताका कारण चुनावको समयमा उम्मेद्वारसमेत पुग्न सक्दैनन्।
चितवनको विकट पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङ नेपालको अतिसिमान्तकृत वर्गमा पर्ने आदिवासी हुन्। विकटको बसाइ र विपन्न अवस्थाका कारण यस क्षेत्रका धेरैले अझैपनि नागरिकतासमेत पाएका छैनन्।