विद्युत् प्राधिकरणको भरतपुर सबस्टेसनमा रहेको एउटा ट्रान्सफर्मर पड्किएको गाइँगुइँ केही दिनदेखि नै चल्दै थियो। भरतपुर–५ का सुमन अधिकारीले त्यसैका कारण फाट्टफुट्ट बत्ती गइरहेको हुनसक्ने अनुमान गरेका थिए।
तर केही बेरमा बत्ती आइहाल्थ्यो, खासै समस्या हुन्थेन।
मंगलबार मध्याह्न पनि त्यसैगरी बत्ती गयो। यसपालि भने लामो समयसम्म आएन। अपराह्न चार बजेबाट त आँगनछेउको धारामा नियमित झर्ने गरेको पिउने पानी पनि आएन।
भाँडो थापेर निकै बेर कुर्दा पनि पानी नझरेपछि सुमनले फेसबुकमा लेखे- ‘धारामा पानी नआउँदा गाउँ नै काकाकूल भयो।’
मंगलबार मात्र होइन, बुधबार बिहान पनि पिउने पानीको भाँडा रित्तै भयो। ‘विद्युत् लाइन नहुँदा मोबाइलको चार्ज पनि सकियो, लौ प्रलय नै भएछ कि झैं भयो,’ उनले सुनाए।
लगातार लामो समय विद्युत् अवरूद्ध हुँदा भरतपुरका उद्योग, कलकारखाना, अस्पताल, सरकारी कार्यालयका सेवामा पनि समस्या आउन थाल्यो। ‘तिहार बेला बजारमा माग बढी भएकाले त्यहीअनुसार काम गर्ने तयारी थियो तर यही बेला बिजुली आएन। कर्मचारीहरू उद्योग सरसफाई गरेर फर्किए,’ पूर्णिमा मसला उत्पादक मालिका फुड्स प्रालिका प्रमुख चुडामणि ढकालले भने, ‘लोडसेडिङ हट्यो भनेर जेनेरेटर पनि किनिएन, एक्कासि लामो समय लाइन जाँदा आपतै पर्यो।’
तिहारको रमझममा भरतपुर सहर अन्धकार बनेपछि सामाजिक सञ्जालमा प्राधिकरणको निकै आलोचना भयो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई 'किन भरतपुर अन्धकार बनाएको' भन्दै उपभोक्ताले तारन्तार प्रश्न गरे।
बुधबार दिउँसो अचानक खबर फैलियो, भरतपुरमा बिजुली फिर्ता ल्याउन कुलमान घिसिङ आफैं आउँदै छन्।
चौबीस घन्टादेखि अन्धकार सहरलाई यो खबरले तरंगित बनायो।
कुलमान बुद्ध एयरको जहाज चढेर भरतपुर ओर्लिए। उनी आइपुग्दा काम नलाग्ने अवस्थामा पुगेको ३० एमबिएको ट्रान्सफर्मर हटाएर स्टकमा रहेको २२.५० एमबिएको ट्रान्सफर्मर जोड्ने तयारी हुँदै थियो।
उनले फिल्डमै गएर प्राविधिकहरूबाट भइरहेको काम एकछिन नियाले, अनि जनशक्ति थपेर भए पनि जतिसक्दो छिटो काम सक्न निर्देशन दिए, ‘कति लेभर चाहिन्छ ल्याउनुस्, के–के खुवाउनुपर्छ खुवाउनुस्। एक–दुईवटा खसी काटेर दिए पनि हुन्छ तर काम छिटो हुनुपर्यो।’
विगतमा पनि विद्युत आपूर्तिमा समस्या आइपर्दा फिल्डमा पुगेर आफैं खट्ने भएकाले कुलमानको तारिफ हुने गर्छ। कुलमानले बुधबार भरतपुरमा उस्तै शैली अपनाए।
उनी जहाजबाट ओर्लेर सिधै सबस्टेसनमा गए, कर्मचारी तथा प्राविधिकहरूलाई निर्देशन दिए र आफू पनि रातभरि त्यहीँ खटे। उनी राति साढे ८ देखि २ बजेसम्म सबस्टेसनमै अन्य प्राविधिकहरूसँग डटेर बसेका थिए।
अन्ततः उनी भरतपुर पुगेको करिब १४ घन्टापछि बिजुली बल्यो। यसबीच प्राधिकरणका कर्मचारीले ८ घन्टामै बिजुली आपूर्ति सुरू हुने गरी काम भइरहेको बताएका थिए।
पावर ट्रान्सफर्मरमा समस्या आएपछि करिब ३६ घन्टा अन्धकार बनेको भरतपुरमा बिहीबार बिहान २ बजेबाट बत्ती बल्न थाल्यो। ‘प्राधिकरणका कर्मचारी र बाहिरबाट आएका मजदुरहरूले रातभर काम गरेका छन्। लामो प्रयासपछि विद्युत् सप्लाई गर्न सकियो,’ प्राधिकरणको हेटौंडा ग्रिडका प्रमुख राजु श्रेष्ठले भने, ‘चाडपर्व बेलामा विद्युत् काट्यो भनेर ठूलो दबाब आइरहेको थियो, धन्न लक्ष्मीपूजाको दिन सप्लाई गर्न सक्यौं।’
विद्युत् लाइन काटेको भन्दै सबस्टेसनमै आएर उपभोक्ताले गाली गरेको उनले बताए। कसैले भने चाडबाड बेला पनि रातभर काम गरिरहेको भन्दै धन्यवाद दिएका थिए।
श्रेष्ठले के कारणले दुईवटा ट्रान्सफर्मर बिग्रियो भन्ने विषयमा काठमाडौंबाट आएको प्राविधिक टोलीले अध्ययन गरिरहेको बताए। ‘उहाँहरूले भनेपछि त्यो कुरो थाहा होला, अहिल्यै बोल्न मिल्दैन,’ श्रेष्ठले भने, ‘यो ब्याडलक चाहिँ हो।’
उनले समस्या परेको समयमा कार्यकारी निर्देशक फिल्डमा आएर निर्देशन दिँदा काम गर्नेलाई हौसला मिलेको बताए। ‘उहाँले जनशक्ति, स्रोत अभाव हुन भएन, काम छिटो हुनुपर्यो भन्नुभयो। त्यो निर्देशनले काममा सहयोग नै पुगेको छ,’ उनले भने।
उनका अनुसार सबस्टेसनमा थप एक ट्रान्सफर्मर जोड्ने काम पनि सकिएको छ। पोखराबाट ल्याइएको ट्रान्सफर्मर जोडिएको भए पनि त्यसले काम गर्न केही घन्टा समय लाग्ने उनले बताए।
‘बिग्रिएको ट्रान्सफर्मर झिक्नै बढी समय लाग्छ। त्यसपछि ५५ टनको ट्रान्सफर्मर त्यो ठाउँमा राख्न झन् बढी गाह्रो हुन्छ,’ उनले भने, ‘हामी दिनरात नभनी काम गरिरहेका छौं। अब भरतपुरवासीले तिहारमा बत्ती जान्छ कि भनेर पीर मान्नुपर्दैन।’
श्रेष्ठका अनुसार सबस्टेसनमा प्राधिकरणका दुई दर्जनभन्दा बढी र बाहिरका मजदुरहरू १५ जना खटिएका छन्। काठमाडौंबाट चार जनाको टोली पनि यहीँ बसेर काम गरिरहेको छ।
प्राधिकरणको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले तिहार बेला विद्युत् नहुँदा उपभोक्तालाई मनाउनै हम्मे भएको बताए। ‘हामी रातभर पनि काम गरिरहेका छौं, काम गर्न गाह्रो छ, उपभोक्तालाई सम्झाउन झनै गाह्रो छ,’ उनले भने, ‘दिनमा पाँच घन्टाजति त फोन उठाएर विद्युत् छिट्टै आउँछ भन्दैमा बित्यो।’
ट्रान्सफर्मरमा समस्या भएपछि भरतपुर महानगरपालिकाका १३ वटा वडामा विद्युत् सेवा अवरूद्ध बनेको थियो। विद्युत् अवरूद्ध भएको क्षेत्रमा प्राधिकरणका करिब ५५ हजार ग्राहक छन्।