अघिल्लो हप्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राम मन्दिर आउने भएपछि माडी बाँदरझुलाका सुकुम्बासी परिवारहरू भेला भए।
आफ्नै वडामा पर्ने राम मन्दिर गाडी रिजर्भ गरेरै भए पनि पुग्ने निधो गरे।
ओली पुगेको दिन बाँदरझुलाबाट दुई गाडी सुकुम्बासी अयोध्यापुरीस्थित राम मन्दिर आइपुगेका थिए।
नेकपा एमालेले पार्टी अध्यक्ष ओलीका लागि पूजाको प्रबन्ध मिलाएको मन्दिर क्षेत्रमा ठूलो तामझामका थियो। अध्यक्षको स्वागतका लागि कार्यकर्ताहरू घण्टौंदेखि तयार भएर बसेका थिए। टन्टलापुर घामको प्रवाह नगरी हातमा फूलका गुच्छा लिएर लामबद्ध हुनेको संख्या पनि कम थिएन।
त्यहीँ भीडमा हराइरहेका थिए बाँदरझुलाका सुकुम्बासी पनि।
मन्दिरतिर हेरेर टोलाइरहेका बाँदरझुलाका रामबहादुर चेपाङलाई भने यो सब सामान्य लागिरहेको थियो।
‘हाम्रो गाउँमा पनि यसरी नै नेताहरू आइरहन्छन्, अस्ति भर्खर प्रचण्ड पुगेका थिए, त्यसअघि एमाले, कांग्रेस, राप्रपाका नेताहरू पनि पुग्ने गरेका थिए,’ उनले भने, ‘उनीहरूको काम नै यसरी स्वागत लिँदै, भाषण गर्दै हिँड्ने हो। के नौलो भयो र!’
बाँदरझुला भारतसँग सीमा जोडिएको चितवनको एक गाउँ हो। माडी नगरपालिकामा पर्ने यो गाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।
ओली प्रधानमन्त्री हुँदा चितवन राम जन्मभूमी रहेको दाबी गरेपछि राम मन्दिर निर्माणको घोषणा गरिएको अयोध्यापुरी माडीको वडा नम्बर ९ मा पर्छ। बाँदरझुला, कुसुमखोला, प्याउलीलगायतका सुकुम्बासी बस्ती पनि यहीँ वडामा पर्छन्।
बाँदरझुलामा अहिले ७ सय भन्दा बढी परिवारको बसोबास छ, जनसंख्या करिब ५ हजार। उनीहरूमध्ये दुई सयभन्दा बढी परिवार चेपाङ छन्। तनहुँ, मकवानपुर, धादिङ्लगायतका जिल्लाबाट बसाई आएका मान्छेले यहाँ बस्ती बसाएका थिए।
यो गाउँमा कसैसँग पनि जग्गा धनीपुर्जा छैन। बसाइ सरेर आउँदा जति जमिन चर्चिए त्यति नै जमिन भोग गर्दै आएका छन्।
चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने यो गाउँमा भोट माग्न सबै पार्टीका नेताहरू पनि पुग्छन्।
सुकुम्बासीलाई प्रभावमा पार्दा पुरै गाउँको भोट एकै ठाउँमा खस्ने लोभले नेताहरू सक्दो आश्वासन दिएर फर्कन्छन्।
२०७४ सालको संसदीय निर्वाचनमा विजयी भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँदरझुला पुगेर भनेका थिए, अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै सुकुम्बासी समस्या समाधानका लागि ठोस निर्णय गर्छ।
त्यसअघि भोट माग्दै उनले सुकुम्बासीलाई लालपुर्जा दिने वाचा गरेका थिए।
निर्वाचनको केही समयपछि प्रचण्डको माओवादी र नेकपा एमाले एकीकरण भएर शक्तिशाली नेपाल कम्युनिष्ठ पार्टी बन्यो। प्रचण्ड पनि पार्टी अध्यक्ष बने। अर्का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। उनले चितवनका पुराना नेता देवी ज्ञवालीलाई अध्यक्ष बनाएर भूमि समस्या समाधान आयोग गठन गरे।
अध्यक्ष बनेपछि ज्ञवाली बाँदरझुला पुगे। वस्तुस्थिति बुझेपछि सुकुमबासीले जग्गाधनीको पुर्जा पाउने आश्वासन दिएर फर्किए।
तर बाँदरझुलाबासीले जग्गा धनीपुर्जा पाएनन्। बरू प्रचण्ड र ओलीका पार्टी फुटे। प्रचण्डको जोडबलमा बनेको नयाँ सरकारले ज्ञवाली अध्यक्ष रहेको आयोग नै खारेज गरिदियो। प्रचण्ड र ज्ञवालीको आश्वासन यसपटक पनि भाषणमै सीमित बन्न पुग्यो।
२०७४ साल यताका आश्वासनप्रति बाँदरझुलाका सुकुम्बासी बढी नै आशावादी थिए। किनभने उनीहरूलाई आश्वासन दिने पार्टीले यसपटक वडा, नगरपालिका, प्रदेश हुँदै केन्द्रीय सरकारसमेत चलाएको थियो।
‘अब त नेताले लालपुर्जा देलान् जस्तो छैन, त्यसैले भगवानसँग हात थाप्न आएको,’ चेपाङले भने, ‘मान्छेले नसुनेको भगवानले सुन्लान् कि! हामी त पाए दुई हात थाप्ने न हो।’
सपत्नी राम मन्दिर पुगेर पूजा, अर्चना गरिसकेपछि कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘अब भगवान रामले माडीलाई मणि बनाउनेछन्।’
माडीमा अयोध्याधाम बनेपछि धार्मिक पर्यटनको केन्द्र बन्ने र यसमार्फत माडीको विकास हुने उनको तर्क थियो। गत संसदीय निर्वाचनमा प्रचण्डलाई भोट माग्न पुग्दा ओलीले माडीलाई मणि बनाउने उद्घोष गरेका थिए।
भाषणमा करिब एक घण्टा खर्चिँदा पनि ओलीले सुकुमबासीको समस्याका विषयमा बोलेनन्। बरू ती समस्या पनि भगवान रामकै हातमा सुम्पिएर उनी हिँडे।
मन्दिर आडको मञ्च अगाडि चौरमा पलेँटी कसेर बसेका बाँदरझुलाका सुकुमबासीहरू ओलीको धार्मिक प्रवचन सुनेर फर्किए।
‘लालपुर्जा पाइहालौंला भनेर आएको त होइन तै पनि भेटेर गाउँका समस्या बताउन पाइन्छ कि भनेर आएका थियौं,’ जुठबहादुर भुजेलले भने, ‘लालपुर्जा त उहाँ सरकारमै हुँदा त पाइएन अब के पाइएला र !’
कुरा राख्न पाएको भए अर्को चोटि सरकारमा पुग्दा बाँदरझुलालाई पनि सम्झन आग्रह गर्ने सोच थियो उनको।
‘कि लालपुर्जा दिनुपर्यो, कि, अन्त सार्नुपर्यो। हामीलाई सधैँ दुई पहाडमा मिचिएको ढुंगा जस्तो बनाउनुभएन,’ उनले भने, ‘तर हाम्रो कुरो कसले सुन्ला र, सबै आश्वासन मात्रै दिन्छन्।’
बाँदरझुलाका ७० वर्षीय भीमबहादुर गुरूङले नेता ओली कसरी बोल्छन्, बोली एकातिर, काम अर्कोतिर गर्छन् कि गर्दैनन् भनेर हेर्न आएको बताए।
‘पहिले गाउँमै पुगेर आश्वासन दिएका प्रचण्डले नापी हुनै लागेको जग्गाको काम बिगारे, सरकार ढलाएर आयोग पनि ढलाइदिए,’ गुरूङले भने, ‘ओलीले के भन्छन् सुनौं आफ्नै वडामा बनेको राम मन्दिर पनि पसौं भनेर आएको। नेताले नदिए राम, सीतासँगै लालपुर्जा माग्नुपर्ला।’
केही वर्षअघि राप्रपाका नेता विक्रम पाण्डे भूमिसुधार मन्त्री हुँदा बाँदरझुला बस्ती स्थानान्तरणको प्रकृया सुरू गरेको बताएका थिए।
विगतमा चितवनको सोही क्षेत्र (त्यतिखेरको क्षेत्र नम्बर ५) बाट निर्वाचन जितेका पाण्डेले वन मन्त्री बनेपछि चितवन राष्ट्रिय निकुञ्जको भूभाग अतिक्रमण गरेर बसाइएको बस्तीलाई अन्यत्र स्थानान्तरण गर्ने बताउने गरेका थिए।
उनले स्थानान्तरणका लागि जग्गाको खोजीसमेत भइसकेको दाबी गरेका थिए।
सुरूसुरूमा त बाँदरझुलामा बसोबास गर्ने सुकुमबासीको व्यवस्थापनको विषयमा माडी नगरपालिका मेयर ठाकुर ढकालले पनि चासो देखाउने गरेका थिए। उनले संघीय सरकारले राम मन्दिर बनाउँदै गर्दा बाँदरझुलासँगै कुसुमखोला, परूई खोला, राइडाँडालगायतका ठाउँमा बसोबास गर्ने सबै सुकुम्बासी परिवारको पनि व्यवस्थापन हुनुपर्ने माग राख्ने गरेका थिए।
तर देवी ज्ञवाली नेतृत्वको आयोगले सुकुम्बासीको विवरण माग्दा चितवनका सबै स्थानीय तहले पठाए माडीले पठाएन।
चितवनका १५ हजार ६ सय ७९ भूमिहिन र २३ हजार १४२ अव्यवस्थित बसोवासीले जग्गा धनीपुर्जाका लागि निवेदन दिँदा माडी नगरपालिकाका तीन हजार १७९ अव्यवस्थित र दुई हजार २७४ सुकुम्बासी परिवारले निवेदन दिएका थिए।
‘उनीहरूले जग्गा धनीपुर्जा प्राप्तिका लागि निवेदन दिए पनि माडी नगरपालिकाले हामीलाई त्यो सिफारिस गरेर पठाएन,’ ज्ञवालीले भने, ‘चितवनका सबै स्थानीय तहले पठाउँदा माडीले किन पठाएन भन्ने कुरा हामीलाई अझै पनि जानकारी छैन।’
विगतमा बाँदरझुलालाई स्थानान्तरण गर्ने वा त्यहीँ लालपुर्जा बाँड्ने भन्ने सम्बन्धमा छलफल हुने गरे पनि निर्णय नभएको ज्ञवालीले बताए।
‘भारतको सीमा क्षेत्रमा रहेकाले त्यो बस्तीलाई हटाउन हुँदैन, सीमानाको संरक्षणकै लागि भने पनि बस्ती त्यहीँ रहन दिनुपर्छ भन्नेमा हामी थियौं,’ उनले भने, ‘लालपुर्जा बाँड्ने तयारी हुँदाहुँदै आयोग नै खारेज गर्दिएपछि सबै कुरा अन्योलमा पर्यो।
सुकुम्बासीको आशा फेरि पनि आशामै सीमित बन्यो।’
केही दिनअघि जिल्ला प्रशासन कार्यालयले गरेको एक कार्यक्रममा सहभागी हुन बाँदरझुला पुगेका प्रचण्डले सुकुम्वासीको समस्या समाधान गर्नेतर्फ सरकार लागेको भन्न छुटाएनन्।
‘ठोस कार्य योजना बनाएर लालपुर्जा वितरण गर्नू भनेर मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु,’ उनले भनेका थिए।
चितवन निकुञ्जले उक्त क्षेत्रलाई वन्यजन्तुको आवतजावत बढी हुने क्षेत्र मान्ने गर्छ। मानव चहलपहल बढेसँगै उक्त क्षेत्रमा वन्यजन्तु कम देखिन थालेको निकुञ्ज बताउँछ।
बाँदरझुला बस्तीलाई पहिले जिल्ला वन कार्यालयले हटाउन कोसिस गरेको थियो।
उक्त ठाउँ २०५३ सालमा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेपछि निकुञ्जले पनि दुई पटकसम्म हटाउने प्रयास गर्यो।
बाँदरझुलाको दक्षिणी सीमानामा भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्र पर्छ।