गत बिहीबार सामाजिक सञ्जाल फेसबुक हेर्दै गर्दा एउटा स्ट्याटसले तान्यो।
नतानोस् पनि कसरी?
विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौंस्थित बसन्तपुर दरबार स्क्वायर परिसरमा देखिएको एउटा दुर्दशाबारे व्यंग्य गरिएको थियो।
स्ट्याटस थियो- 'काठमाडौं दरबार स्क्वायर घुम्दै गर्दा जब विदेशी पर्यटकको आँखा यता पर्छ र सोध्छन् होला, ह्वाट इज ड्याट?
हाम्रा गाइडले अकमकाउँदै भन्दा होलान्- ओह, इट इज ग्रेभ अफ मोटरसाइकल्स (मोटरसाइकलहरूको चिहान)।'
स्ट्याटस मात्रै होइन, रवि श्रेष्ठले थोत्रा मोटरसाइकलको थुप्रोको तस्बिर पनि हालेका रहेछन्। तस्बिर र लेखाइको तालमेल बडो गज्जब थियो।
त्यसले तानेपछि हामी बसन्तपुर पुग्यौं। हनुमानढोकास्थित काठमाडौं प्रहरी परिसरको पुरानो भवन छ। भुइँचालोका कारण प्रहरी परिसर अहिले टेकुमा सरेको छ। त्यही पुरानो परिसर भवनको छेवैमा रहेछ तस्बिरमा कैद भएको वास्तविकता।
बसन्तपुर दरबार हुँदै कालभैरवको मूर्तिबाट केही पाइलाअगाडि बढेर देब्रेतर्फ चिहाउने बित्तिकै मोटरसाइकल तथा स्कुटरका अस्थिपञ्जिरहरूको थुप्रोले झसंग बनाउँदो रहेछ। त्याँ दर्जन बढी दुईपांग्रे सवारी असरल्ल ढलिरहेका रहेछन्।
कतिपय त राख्दाराख्दै धूलो र खियाले मोटरसाइकल हो कि स्कुटर भनेर छुट्याउन पनि मुश्किल पर्ने। त्यसमाथि माटो थुप्रिएर झार उम्रिसकेको।
त्यहाँ विदेशी पर्यटकको नजर पर्दा साँच्चै के सोच्दा हुन्?
रवि श्रेष्ठले लेखेजस्तै अचम्म मानेर सोध्दा हुन्, 'त्यो के हो?'
गाइड अक्कबक्क पर्दै भन्दा हुन्, 'यो मोटरसाइकलको चिहान हो।'
'नेपालको काठमाडौं दरबार स्क्वायर जहाँ मोटरसाइकलको चिहान हुँदो रहेछ,' यस्तै सन्देश लिएर जाँदा हुन् उनीहरू।
हुन त कोभिड महामारीपछि विदेशी पर्यटक कम छन्। हामी पुग्दा पनि खास देखिएका थिएनन्। त्यही परिवेशसँग बानी परेका आन्तरिक पर्यटक आफ्नै तालमा दरबार र मन्दिर परिसरमा तस्बिर खिच्दै रमाइरहेका थिए। थोत्रे सवारीको थुप्रोतिर कमैले आँखा लगाउँथे।
रवि श्रेष्ठले पनि घुम्दाघुम्दै आँखा परेको बताए।
'मैले त्यही दिन मात्रै त्यो दृश्य देखेको हो,' उनले सेतोपाटीसँग भने।
त्यसबारे हामीले परिसरमै भेटिएका प्रहरी अधिकारीहरूलाई सोध्यौं। उनीहरूले यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।
'हामी त नयाँ हौं, आउँदादेखि नै यो थुप्रो यस्तै थियो। कसले कहिलेदेखि राखेको भन्ने हामीलाई केही जानकारी छैन,' एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने।
यसबारे बुझ्न प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्यौं। परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले आफूलाई पनि कुनै जानकारी नभएको बताए।
'हनुमान ढोकाअगाडि कहाँबाट हुन्छ मोटरसाइकलको थुप्रो? मलाई जानकारी छैन,' उनले भने।
प्रदेशसभा सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य दुईपांग्रेको त्यो थुप्रो ट्राफिक प्रहरीले बनाएको बताउँछन्।
'२०७२ को भूकम्पअघि त प्रहरी परिसर त्यहीँ थियो। त्यो परिसरको जग्गामा न्युरोड ट्राफिक जनसेवाले समातेका मोटरसाइकल राखेको हो। मैले राख्न भनेको थिएँ,' शाक्यले भने।
उनका अनुसार त्यहाँ धेरै वर्ष अगाडिदेखि ट्राफिक प्रहरीले समातेका मोटरसाइकल राख्न थालेको हो। सम्बन्धित सवारी धनी लिन नपुगेपछि थुप्रेर कवाडखाना झैं बनेको हो।
ट्राफिकको ठाउँ नभएकाले परिसरको जग्गामा ती सवारी राखिएको उनले जानकारी दिए। आवश्यकता हेरेर तिनलाई व्यवस्थापन गरिनेसमेत उनले बताए।
न्युरोड ट्राफिक कार्यालयले पनि राख्ने ठाउँ नहुँदा परिसर अगाडि थुपारिएको जानकारी दिएको छ। न्युरोड ट्राफिक प्रमुख डिएसपी सीताराम विष्टका अनुसार डेढ महिनाअगाडि ११ वटा चोरीका तथा विभिन्न मुद्दा चलेर लिन नआएका सवारी पनि त्यहाँ राखिएको छ।
'त्यहाँ सिभिल प्रहरीले जफत गरेका धेरै अगाडिदेखिका मोटरसाइकल छन्। यति नै छन भन्ने यकिन छैन। जफत गरेका समेत गरेर दर्जन बढी दुईपांग्रे थुप्रिएका छन्,' उनले भने।
सम्बन्धित व्यक्ति सवारी लिन नजाँदा त्यस्तो अवस्थामा राख्नुपरेको विष्टले जानकारी दिए।
त्यो स्थानबाट सवारी व्यवस्थापन गर्नुपर्यो भने ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरेर अगाडि बढ्ने पनि उनले बताए।