शिशु कक्षाका विद्यार्थी शिक्षिकाको सिको गरेर नृत्य सिक्दै थिए, एक जना विदेशी कक्षा भित्र छिरे। सँगै छिरे माडी नगरपालिकाका मेयर ठाकुर ढकाल पनि।
विदेशीले मेयरलाई ती बालबालिका देखाउँदै भने, ‘दिज आर फ्युचर अफ योर कन्ट्री।’
मेयरले जवाफ दिए, ‘यस, दिज आर फ्युचर अफ आवर कन्ट्री।’
यो त्यहीँ विद्यालय हो, जसलाई केही वर्षअघि माडी नगरपालिकाले अर्को छिमेकी विद्यालयसँग मर्ज हुन निर्देशन दिएको थियो। नजिकै रहेको रिउ खोलाको बाढीले वर्षेनी डुबानमा पर्न थालेपछि विद्यालयले अन्यत्र जमिन खोजिदिन आग्रह गर्दा नगरपालिकाले जमिन खोज्न सहयोग गर्न नसक्ने भन्दै छिमेकी विद्यालयमा मर्ज हुन भन्यो। तर विद्यालयले मर्ज हुन मानेन।
बरू प्रधानाध्यापकको सकृयतामा शिक्षक, अभिभावक मिलेर जग्गादाता खोजे, भवन निर्माणका सहयोगी खोजे। अनि नयाँ विद्यालय भवन तयार पारे। नगरकै नमूना विद्यालय बनाए।
करिब पाँच वर्षपछि नगरपालिकाका मेयर ढकाललाई लाग्यो यहाँ भर्खरै भर्ना भएका कलिला बालबालिकाहरू देशको भविष्य हुन्।
प्रसंग माडी नगरपालिका-३ रतनीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको हो। रिउ खोलाबाट करिब १०० मिटर पर रहेको विद्यालय वर्षायाममा पानीले भरिन्थ्यो। पानी पर्न छाडेपछि खोलो त आफ्नै बाटोमा फर्कन्थ्यो तर विद्यालय बलौटे माटोले भरिएको हुन्थ्यो। आकासे पानी रोकिएपछि कक्षा कोठामा भरिएको बालुवा तह नलाइन्जेल हप्तौं विद्यालय बन्द गर्नुपर्दथ्यो। एक्कासी बाढी पसेर विद्यालय नै लाने हो कि भन्ने जोखिम पनि उत्तिकै थियो।
थारू, मधेसी र मुस्लिम समुदायका बालबालिका पढ्ने विद्यालयलाई व्यवस्थित बनाउन अभिभावकसँग स्रोत थिएन। उनीहरू आफैंलाई रिउ र रतनी खोलामा आउने बाढीबाट घर, खेत जोगाउन हम्मे भइरहेको थियो। ‘बाढीले घर, खेत नै लाने हो कि भनेर डराउनुपर्ने अवस्थाका हामीलाई विद्यालयका लागि नयाँ जग्गा खोज्नु, त्यहाँ भवन बनाउनु कहाँ सम्भव थियो र?,’ स्थानीय हसुमुदिन मियाँले सेतोपाटीसँग भने, ‘जोखिम मोलेर बालबालिका स्कुल जान्थे, त्यति भने पनि पढेका छन् जस्तो लाग्थ्यो।’
२०७३ सालमा माडी-४ का विरेन्द्रप्रसाद महतो विद्यालयका प्रधानाध्यपक बने। अर्को साल विद्यालयमा झन् ठूलो बाढी पस्यो। विद्यालयको विजोग हालतबारे बताउन उनी अभिभावकलाई पनि लिएर नगरपालिका पुगे। ‘तर मेयर सा’बले नगरपालिकाले नयाँ जग्गा दिन सक्दैन अर्को विद्यालयसँग मर्ज गर भन्नुभयो,’ प्रधानाध्यापक महतोले भने, ‘तर हामीलाई यो कुरा चित्त बुझेन। यसै पनि विपन्न समुदायका बालबालिकालाई थप पीडित बनाउन हुँदैन भन्ने लाग्यो।’
उनले विद्यालय व्यवस्थापन समिति, सबै अभिभावकसँग छलफल गरे। समाजसेवामा पनि सकृय नारायणगढका पुराना व्यापारी कृष्णबन्धु पियाका दाजुभाइको विद्यालय नजिकै प्रसस्त जमिन रहेको जानकारी उनीहरुले पाए। ‘हामी सम्पर्क शुत्र पत्ता लगाएर पियासम्म पुग्यौं, उहाँहरूले खुसी भएर हामीलाई १२ कट्ठा ७ धुर जमिन उपलब्ध गराइदिनुभयो,’ प्रअ महतोले सुनाए।
२०७४ सालको पुसमा जग्गा त प्राप्त भयो तर अब त्यहाँ विद्यालय भवन बनाउने कसरी? प्रअ महतो वडा, नगरपालिकादेखि जिल्ला धाउन थाले। जिल्ला शिक्षा समन्वय ईकाई चैतमा जस्ताले छाएको तीन कोठाको एक तल्ले भवन निर्माणको योजना दिन तयार भयो। तर पाँच कक्षासम्म पढाउनुपर्ने विद्यालयलाई तीन कोठे भवनले पुग्ने कुरा भएन। आधा विद्यार्थी विद्यालयमा, आधा सामुदायिक भवनमा राखेर पढाउनुपर्ने भयो। महतोले तीन कोठे भवनको जस्ता हटाएर दुई तल्लाको छ कोठे भवन निर्माण गर्ने योजना स्वीकृत गराए। ईकाईबाट प्राप्त बजेटमा १८ लाख रूपैयाँ आफैंले थप गरेर विद्यालयको भवन तयार पारे।
‘विद्यालय आफैंले जग्गा खोजेर भवन पनि बनाएपछि मेयर सा’बको मन पग्लिएछ, मैले व्यक्तिगतरूपमा लगानी गरेको रकम नगरपालिकाले दुई वर्षमा फिर्ता दियो,’ महतोले सेतोपाटीसँग भने, ‘६ कोठाको भवन तयार भयो। सबै विद्यार्थीलाई नयाँ विद्यालयमा पढाउन थालियो।’
महतो त्यतिमा रोकिएनन्। ६ कोठाको भवन प्रथामिक विद्यालय चलाउनकै लागि पर्याप्त थिएन, उनले विद्यालयलाई निमाविमा बढुवा गर्ने सपना देखिसकेका थिए। विद्यार्थीलाई औपचारिक शिक्षामा मात्रै सीमित नराखि शिक्षण सिकाई क्रियाकलापमा सकृय बनाउनुपर्छ भन्ने मान्यता राख्थे। यसका लागि कम्प्युटर ल्याब, पुस्तकालय अति आवश्यक थियो। तर थप कोठा निर्माणका लागि बजेट दिन कुनै पनि सरकारी निकाय तयार भएनन्।
महतो विद्यालयलाई आर्थिक सहयोग गर्नसक्ने दातृ संस्थाको खोजीमा लागे। इन्टरनेटमार्फत खोजी गर्दै जाँदा उनले फ्रान्सको मोनटाग्न एण्ड पर्टेज नामको संस्था फेला पारे। ‘यस संस्थाका अध्यक्ष गेरार्ड क्लेरमाइड भ्रमणका लागि नेपाल आइरहने रहेछन्, यहाँको कुनै क्षेत्रमा सहयोग गर्ने चाहना उनको रहेछ,’ महतोले भने, ‘मैले इमेलमार्फत उहाँलाई स्कूलको अवस्था बताएँ।’ उनीहरूका बीचमा ११ महिनासम्म इमेल आदानप्रदान भइराख्यो।
एक दिन क्लेरमाइड माडीको रतनीस्थित विद्यालयमा झुल्किए। विद्यालय, विद्यार्थी, समुदायको आर्थिक हैसियत बारे आफैंले देखे। ‘पाँच पटकसम्म विद्यालय आएपछि उहाँ हामीलाई सहयोग गर्न तयार हुनुभयो,’ प्रअ महतोले भने, ‘उहाँको संस्थाले विद्यालयमा नयाँ भवन निर्माण गर्न डेढ करोड रूपैयाँ सहयोग गर्ने भयो।’
विदेशी सहयोग सिधै विद्यालयले खर्च गर्न नपाउने प्रावधानका कारण दातृ संस्थाले दिएको आर्थिक सहयोगमा शेर्पा ट्रष्ट नेपाल नामक संस्थाले विद्यालय भवनको जिम्मा पायो। उक्त संस्थाले एक करोड दस लाख रूपैयाँ लागतमा ६ कोठाको दुई तल्ले पक्की भवन निर्माण गरेको छ। उक्त भवनमा रहेको कम्प्युटर ल्याबमा माडी नगरपालिका र दातृ संस्थाले दिएका १०/१० थान कम्प्युटर राखिएका छन्। विद्यालयको कार्यालय, लाइब्रेरी र तीन वटा कक्षा यो भवनमा छन्।
भवन उद्घाटनका लागि दातृ संस्थाका अध्यक्ष क्लेरमाइडसँगै नेपालका लागि फ्रान्सका राजदूत गिल्लेस बोउरबाओ पनि रतनी आइपुगेका थिए। उनीहरूले यहाँ पढ्दै गरेका बालबालिकालाई ‘नेपालका भविष्य’ भन्दै उनीहरूको शिक्षामा आवश्यक सहयोग गर्ने बताए। क्लेरमाइडले पुस्तकालयमा सयौं पुस्तकहरु राखिदिने प्रतिबद्धता जनाए।
पहिले १४३ जना विद्यार्थीले पढ्ने गरेकोमा अहिले २५६ विद्यार्थी पढ्छन्। यहाँ शिक्षकले कम्प्युटरमा तयारी गरेर प्रोजेक्टरमार्फत पढाउन थालेका छन्। विद्यार्थी पनि कम्प्युटरमा अभ्यस्त बन्न सिक्दैछन्। सानो कक्षाका विद्यार्थीलाई गीत, संगीत, नृत्यमार्फत पढ्न सिकाउने गरिएको छ। ‘यहाँको पढाइ राम्रो छ भन्ने सुनेपछि बोर्डिङ पढेका बालबालिका पनि छाडेर यहाँ आउनेक्रम चलिरहेको छ,’ महतोले भने, ‘माडी नगरपालिकाले त हामीलाई उत्कृष्ठ विद्यालय भनेर सम्मान नै गर्यो।’
प्रधानाध्यापक महतोको सपना अब विद्यालयलाई प्रविधिले भरिपूर्ण बनाएर निम्न माध्यामिक तहसम्म स्मार्ट कक्षा सञ्चालन गर्नेछ। ‘यहाँ पाँच कक्षासम्म त पढ्छन् तर विपन्न वर्गका बालबालिका त्यसभन्दा माथिका कक्षा पढ्न अन्यत्र जाँदैनन्,’ महतोले भनेँ, ‘यहीँ विद्यालयमा कक्षा थप गर्न सक्ने हो भने उनीहरुको पढाइले निरन्तरता पाउँछ। हामीसँग उनीहरुलाई अन्यत्र पढेको भन्दा दक्ष बनाउन सकिन्छ भन्ने आँट छ।’
तह बढाउनका लागि दातासँग थप जग्गा सहयोग मागेको उनले बताए। ‘जग्गा उपलब्ध गराउने आश्वासन पनि पाएका छौं, त्यहाँ भवन बनाउने स्रोतको खोजी पनि हुँदैछ,’ उनले भने, ‘अब त मेयर सा’बको पनि मन पग्लिएको छ, नगरपालिकाको पनि राम्रै सहयोग आउँछ होला।’
विद्यालयले नवजात शिशुलाई विद्यालयमा स्वागत गर्ने नयाँ कार्यक्रम पनि सुरू गर्दैछ। प्रअ महतोकाअनुसार यो कार्यक्रमअन्तर्गत छरछिमेकमा शिशु जन्मिएको थाहा पाएपछि विद्यालयका प्रतिनिधि पाँच सय रूपैयाँ बराबरको पौष्टिक आहार र कपडा लिएर घरमै पुग्छन्। ‘शिशुको अभिलेख विद्यालयमा राखिन्छ। ऊ तीन वर्ष भएपछि विद्यालयमा स्वागत गर्छौं र भर्ना हुँदा थप पाँच सय रुपैयाँ उपलब्ध गराउनेछौं,’ महतोले योजना सुनाए। यो कार्यक्रमका लागि ५ लाख रुपैयाँको कोष निर्माण गर्ने योजना उनको छ। कोष बनाउन विभिन्न संघ, संस्थासँग सहयोगको आग्रह गरिएको उनले बताए।
२१ वर्षदेखि विद्यालयको व्यवस्थापन समितिमा रहेका स्थानीय मकसुध सेखले प्रधानाध्यापक महतो आफ्ना बालबालिकाका लागि भगवान बनेर आएको बताए। ‘उहाँ नभएको भए हाम्रा नाति, नातिनाले यसरी पढ्न कहाँ पाउँथे र? उनीहरू पनि हामी जस्तै निरक्षर हुन्थे होलान्। घुँडासम्म पानी हुने ठाउँमा ज्यान जोखिममा राखेर बालबालिकालाई पढ्न पठाउनुपर्थ्यो,’ सेखले भने, ‘गतिलो हेडसर पाउँदा गाउँ नै फरक हुने रहेछ।’ सेखले सबै अभिभावकले हेडसरको काममा सहयोग गर्ने गरेको बताए। उनले थपे, ‘हाम्रो ठाउँमा भविष्यमा उहाँ भन्दा बढी पढेका सरहरु पनि आउलान् तर उहाँको जति दिमाग भएको मान्छे त कहिल्यै भेटिँदैन जस्तो लाग्छ।’
माडी नगरपालिकाका मेयर ढकालले बालबालिकालाई स्तरीय शिक्षा दिएर विद्यालयले राम्रो काम गरिरहेको देख्दा खुसी लागेको बताए। ‘हामी अबको पुसमा नगर परिषद् गर्दैछौं, विद्यालयलाई के-कस्तो सहयोग चाहिन्छ भन्नुहोला आवश्यक सहयोग हुनेछ,’ मेयर ढकालले भने।