राप्ती नदीको सानो टापुमा दुई वटा घडियाल गोही पाहर ताप्दै छन्। कहिले नजिकै बसेर बात मारेझैं गर्छन् त कहिले मुख खेलेर भिड्न लागे झैं देखिन्छन्।
करिब सय मिटर वर सौराहा 'राप्ती विच'मा सुनसरी इनरूवाका दीपनारायण चौधरी र मोरङ बेलबारीका कृष्ण राई छिनो र हेम्मर चलाउन व्यस्त छन्।
बन्दै गरेको ‘सौराहा पार्क’ मा राखिएका बढेमानका तीनवटा ढुंगामध्ये एकलाई घडियाल गोहीको आकार दिन व्यस्त छन् चौधरी र राई।
‘प्रकृतिमा रमेको गोही हेर्दै, ढुंगामा कुँद्दै छु,’ चौधरीले भने, ‘जिन्दगीमा धेरै ढुंगालाई मूर्ति बनाएँ तर प्राकृतिकरूपमा खेलिरहेका वस्तुलाइ हेर्दै आकार दिने अवसर कहिल्यै पाएको थिइनँ, नयाँ अनुभव सँगाल्दै छु।’
चौधरीले केही वर्षअघि सिराहामा पोखरीमा एउटा गोही देखेका थिए। तर त्यसलाई धेरै ध्यान दिएर हेरेनन्। केही दिन अघि सौराहामा गोहीकै मूर्ति बनाउन बोलाइएपछि उनी इन्टरनेटमा चित्रहरू हेर्न थाले।
‘गोहीको शारीरिक बनावट दिमागमा सेट गरेर त आएको थिएँ तर यहाँ त आँखै अगाडि देखिँदा रहेछन्, वास्तविक वस्तु नै हेरेर बनाउँदा पाउँदा त मूर्तिले अझ जिवन्तता पाउँछ,’ चौधरीले भने, ‘काम गर्दा पनि आनन्द आइरहेको छ।’
उही ढुंगामा छिनो चलाइरहेका राईले सौराहामा काम गर्दा विल्कुलै नौलो अनुभूति गरेको बताए।
‘केही वर्षअघि कोशीटप्पु वन्यजन्तु आरक्षमा सात दिन घुमेर जंगलीको हात्ती अवलोकनगरि फोटो खिचेर त्यसको मूर्ति खोपेको अनुभव त म सँग थियो। तर सौराहा त अचम्मैको ठाउँ रहेछ, गोही, गैंडा, हात्ती जुनसुकै जनावर पनि सजिलै देख्न पाइने,’ उनले भने, ‘यहाँ काम गर्न पाउँदा त आफूलाई भाग्यमानी ठानेको छु।’
भक्त राई अर्को ढुंगामा हात्ती कुँद्न व्यस्त छन्। नजिकैको सडकमा हात्ती लम्किरहेको छ। उनको नजर हात्तीतर्फ पुग्यो। राईले एकटकले हात्ती हेरे, अनि छिनोमा हेम्बर बजार्न थाले।
चितवनको कालिका नगरपालिकाको कयर खोलाबाट ल्याइएका बढेमानका ढुंगामा चितवनका पहिचान मानिने एक सिंगे गैंडा, पाटेबाघ, घडियाल गोही, हात्ती, हरिण, अजिंगर, हाँस, घोंगीलगायतको मूर्ति खोपिँदैछ। वन्यजन्तुसँगै यिनको संरक्षणमा खटिएका संरक्षणकर्मीको आकृति पनि उतारिँदैछ।
नेपाल ललितकला प्रतिष्ठानका मूर्ति विभाग प्रमुख लालकाजी लामा र चितवन ललितकला प्रतिष्ठानका अध्यक्ष चित्रकार दामोदर बराल मूर्ति निर्माण भइरहेको ठाउँमा भेटिए।
‘यसपटक चितवनका साथीहरु मूर्ति बनाउन अन्यत्र पुगिसकेकाले पूर्वी नेपालका साथीहरूलाई बोलाइयो,’ लामाले भने, ‘केही दिनपछि सौराहामा नेकपा एमालेको महाधिवेशन हुने र हजारौं मान्छे भेला हुने भएकाले त्यसअघिनै मूर्ति तयार पार्न पाए हुन्थ्यो भनेर द्रूत गतिमा काम भइरहेको छ।’
उनले ढुंगा असाध्यै साह्रो भएकाले निर्माणकार्यमा केही विलम्ब भइरहेको बताए।
‘तै पनि साथीहरू १ गतेबाटै खटिइराख्नुभएको छ, हामी निरन्तर यहीँ बसेर सघाइरहेका छौं,’ उनले भने, ‘१० गतेसम्ममा त सकिन्छ होला।’
सौराहामा चित्रकलाको व्यवसाय पनि सञ्चालन गर्दै आएका चित्रकार बरालले सम्बन्धित जनावरलाई हेर्दै कुँद्न पाहिएकाले मूर्तिहरू उत्कृष्ट बन्दै गरेको बताए।
‘सौराहा आउने पर्यटकले दुर्लभ वन्यजन्तुहरू देख्थे, कसैले तीसँग सेल्फी नै लिन्थे अब वन्यजन्तु देख्न नपाउनेले पनि तिनका जिवन्त मूर्तिमा तस्वीर खिचाउन पाउने छन्,’ बरालले भने, ‘चितवनको पहिचानलाई विश्वव्यापी बनाउन यी मूर्तिले सघाउनेछन्।’
उनले सौराहा पार्कमा निर्माण भएका मूर्तिहरु सौराहाका चिनारी बन्ने बताए।
सौराहा पार्क नेपाल पर्यटन बोर्डमार्फत् प्राप्त युएनडिपीको बजेटमा रत्ननगर नगरपालिकाले केही थप गरेर बनाउन सुरू भएको थियो। युएनडिपीको ४८ लाखमा रत्ननगर नगरपालिकाले १२ लाख रूपैयाँ थपेर सौराहामा जीविकोपार्जन पुनरोत्थानको लागि दिगो परियोजना कार्यक्रम सुरू भएको थियो। कार्यक्रमको ८० प्रतिशत हिस्सा सौराहा र आसपासका खोला, नदी सरसफाइमा खर्च गरेर बाँकी पार्कमा लगानी गरिएको हो।
मूर्ति निर्माणका लागिमात्रै १२ लाख रूपैयाँमा सम्झौता भएको लामाले बताए।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पार्क निर्माण भएसँगै सौराहा घुम्न आउने पर्यटकले नयाँ स्वाद पाउने बताए। ‘अब पर्यटकहरु यहाँको सुन्दर पार्कमा उभिएर राप्ती नदीका घडियालदेखि राप्ती पारिका बाघ, गैंडा, हात्तीलगायतका जनावर अनि तिनका मूर्तिहरू हेरेर रमाउन सक्छन्,’ मेयर वनले भने, ‘यसले सौराहाको पर्यटन विकासमा थप सहयोग पुर्याउने विश्वास छ।’