भरतपुर अस्पतालमा जन्मिएकी छोरीलाई पहिलो पटक काखमा राख्दा बिष्णुबहादुर मल्ल दंग थिए। श्रीमती सुकमायालाई व्यथा लागेपछि अस्पताल पुर्याइहाले पनि अप्रेसन गर्नु परेको थिएन। कपडाले बेरिएकी छोरीलाई स्वास्थ्यकर्मीले बिष्णुको जिम्मा लगाइदिएका थिए।
बिष्णुले जब शरीरमा बेरिएको कपडा निकालेर हेरे, छोरीका दुबै हात थिएनन्। उनी झस्किए। जन्मिनुअघि उनले चितवन मेडिकल कलेजमा आमा र बच्चाको नियमित परीक्षण गराउने गरेका थिए। परीक्षणका रिपोर्टबाट आमा-बच्चाको अवस्था सामान्य छ भन्नेबाहेक अरू जानकारी पाएका थिएनन्।
उनले भरतपुर अस्पतालमा रहेका आफन्तलाई छोरीको हात नभएको सुनाए। स्वास्थ्यकर्मीसँग कुरा राखे। स्वास्थ्यकर्मीले ‘जन्म नै यस्तै भएको हो, भाग्यमै यस्तै रहेछ भनेर चित्त बुझाउनु’ भनेपछि उनले मन बुझाए।
बिष्णु र आफन्तले चित्त बुझाए पनि त्यो कुरा आमा सुकमायालाई थाहा थिएन। डिस्चार्ज भएर घर पुगेपछि मात्रै उनले छोरीबारे थाहा पाइन्। सुरूमा गाह्रो भए पनि बिस्तारै चित्त बुझाइन्।
२०७४ सालको मंसिर ८ गते जन्मिएकी सुवर्णा मल्ल गत शुक्रबार पदमपुरस्थित निजी विद्यालय चित्रवन स्कुलमा अन्य बालबालिका सरह लेखपढ गर्दै गरेकी भेटिइन्। कालिका नगरपालिका-३ स्थित घरबाट नजिकै रहेको स्कुलमा नर्सरी कक्षामा पढ्छिन् सुवर्णा।
कक्षाका अरू विद्यार्थी हातले लेख्छन् सुवर्णा गोडाका औंलामा कलम च्यापेर लेख्छिन्। कहिले इरेजर च्यापेर लेखेका कुरा मेट्छिन्, कहिले साथमा रहेको बोत्तलको बिर्को गोडाले खोलेर गोडैले पिउँछिन्। स्कुलमा खाजा पनि गोडैले खान्छिन्। साथीहरूले हातले गर्ने प्रायः कामहरू उनी गोडाले गर्छिन्।
‘अन्य स्कुलहरूमा लैजाँदा भर्ना नलिएपछि उहाँहरू यहाँ आइपुग्नुभएको रहेछ। हामीले भर्ना लिएर पढाउन सुरू गर्यौं। सुरूमा गाह्रो भए पनि म्याडमहरूको मेहनतले नानीले गोडालाई हातको विकल्प बनाएर अन्यले सरह लेख्न थालेकी छन्,’ चित्रवन स्कुलका प्रिन्सिपल लक्ष्मीप्रसाद पोखरेलले भने। उनले सुवर्णाले गोडाले लेखेका अक्षरहरू अन्य विद्यार्थीका भन्दा सुन्दर हुने बताए।
प्रिन्सिपल पोखरेलले परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण सुवर्णालाई नि:शुल्क पढाउँदै आएको बताए।
‘अपाङ्गता भएकै कारण उनी पढाइबाट बञ्चित हुनु नपरोस् भनेर हामीले नि:शुल्क पढ्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘नानीले पनि राम्रो गर्दै गएको देख्दा खुसी लाग्छ।’
सुवर्णा विद्यालयमा साथीहरूसँग मज्जैले घुलमिल भएकी छन्। उनी सहपाठीसँग खेल्छिन्, रमाइलो गर्छिन्। कसैले पनि उनको शारीरिक अवस्थाको कारण नराम्रो व्यवहार गरेको आफूले थाहा नपाएको पोखरेलले बताए।
बिष्णुको परिवार २०५० सालमा पदमपुर आइपुगेको हो। राप्ती नदीपारि हाल चितवन राष्ट्रिय निकुञ्ज रहेको क्षेत्रमा रहेको बस्ती स्थानान्तरण हुँदा यो परिवार पनि यहाँ आइपुगेको थियो। ११ वर्ष अघि उनले सुकमायासँग विवाह गरेका थिए।
बिष्णु ट्याक्टर चलाउने काम गर्छन्। सुकमाया सौराहास्थित एक होटलमा काम गर्छिन्।
‘अचेल छोरीले पढेको, राम्रो लेखेको देख्दा साह्रै खुसी लाग्छ,’ बिष्णु भन्छन्, ‘उनलाई राम्रो पढाउन पाए हुन्थ्यो भनेर दिनरात दुःख गरेका छौं।’ उनले जन्मिएको बेलामा हात नदेख्दा दुःख लागे पनि अहिले छोरीले खुसी दिन थालेको बताए।
‘हामो कमजोर आर्थिक अवस्थाका कारण छोरीलाई पढाउन नसक्ने अवस्था नआइदिए हुन्थ्यो भन्ने कामना गरेका छौं,’ उनले भने।
सुवर्णाले घरमा हातले गर्ने सामान्य काम गोडाले गरे पनि लेख्न भने विद्यालय गएपछि मात्रै सिकेकी थिइन्। सुकमायाले छोरीलाई सुरूमा गोडाले लेख्न गाह्रो भए पनि बिस्तारै बानी पर्न थालेको बताइन्। ‘होमवर्क गर्दा समातेर सघाउनु पर्थ्यो, अचेल आफैंले गर्छिन्। दिसा, पिसाब गर्दा समस्या हुन्छ, अरू काम त गोडाले गर्न सक्ने भएकी छन्,’ सुकमायाले भनिन्।
उनले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सुवर्णालाई धेरै पढाउन सकिँदैन कि भन्ने चिन्ता रहेको बताइन्।
‘हामीले पढाउन सके त हात नभए पनि लेख्न, पढ्न सकिने रहेछ,’ उनले भनिन्, ‘१० कक्षासम्म त चित्रवन स्कुलले नि:शुल्क पढाइदिन्छौं भनेको छ। त्यसपछि के गर्ली भन्ने पीर लाग्छ!’