काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका आइजिपी दीपक थापाबीच मौखिक सहमति भएको छ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए।
अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको भूकम्पका कारण त्यहाँको भवन जीर्ण बनेको हो। त्यसपछि दुवै प्रहरी कार्यालयलाई अन्यत्र सारिएको थियो।
स्थानीयले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरमा प्रहरीको भवन राख्न नहुने भन्दै हटाउनुपर्ने माग राख्दै आएका छन्।
भूकम्पले चर्किएको हनुमानढोकाको भवन सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्।
२०१२ सालमा स्थापना भएको यो कार्यालयमा रातो स्टिकर लगाइएको छ।
-ink-1750312932.jpeg)
प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले दुई रोपनीको जग्गामा फैलिएको भवन भत्काउने मौखिक सहमति भएको बताए।
‘प्रहरी संगठन प्रमुख र मेयर शाहबीच हिजो भेट र कुराकानी भएको थियो। कुराकानीबाट भवन भत्काउने एक किसिमको मौखिक सहमति भएको छ,’ उनले भने।
अहिले रामशाहपथमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन पनि बनाउनुपर्नेछ।
त्यस ठाउँमा जग्गाको पनि कमी भएकाले महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको उनले बताए।
‘हामीलाई ट्राफिक प्रहरीको भवन बनाउन आवश्यक परेको छ। त्यस ठाउँमा जग्गाको पनि कमी छ। त्यसकारण महानगरले जग्गा उपलब्ध गराउने सहमति पनि भएको हो,’ उनले भने, ‘त्यहाँ महानगरकै नगर प्रहरी पनि राख्ने कुरा छ।’
अहिले महानगर प्रहरी बल पनि जीर्ण रहेको सुन्धाराको बागदरबारमा बस्दै आएको छ।
दुई पक्षबीच मौखिक सहमति भएपनि लिखित सहमति हुन भने बाँकी रहेको प्रवक्ता घिमिरेले बताए।
यसबारेमा संगठनमा समेत छलफल हुने उनको भनाइ छ।
‘अहिले लिखित रूपमै सहमति भइसकेको त होइन। मौखिक समझदारी जस्तो बनेको हो। यसमा संगठन प्रमुखले राय लिनुहुन्छ,’ उनले भने।
मेयर शाहको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले हनुमानढोकाको भवन रहेको ठाउँमा पोखरी बनाउनेबारे छलफल भएको बताए।
त्यस्तै अहिले भोटाहिटीमा प्रहरीको साइबर ब्युरो राखिएको छ। ब्युरोको सामाखुसीमा नयाँ भवन बनाइरहेको छ।
बाहिरी संरचना बनिसकेको भएपनि फर्निचरहरू राख्न बाँकी छ। केही महिनामा ब्युरो त्यहाँ सर्नेछ।
भोटाहिटीबाट ब्युरो सरेपछि त्यहाँ काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ को वडा कार्यालय राख्ने पनि सहमति भएको मेयर शाहको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।
‘ब्युरोको अहिलेको भवनमा वडा नम्बर २७ को कार्यालय राख्ने विषयमा छलफल भएको हो,’ उनले भने, ‘बग्गीखानामा ट्राफिक प्रहरी र महानगर प्रहरी बल दुवै रहने गरी भवन बनाउने कि भन्नेबारे पनि छलफल भएको हो।’
यसअघि ब्युरोको भवनमा मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन सार्ने तयारी थियो। तर अब त्यो भवनमा वडा कार्यालय राख्ने भएपछि मानब बेचबिखन अनुसन्धान ब्युरोको भवनका लागि जग्गा खोज्ने पनि उनले बताए।