चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको समयमा राप्ती नदीमा यति धेरै माछा थिए कि, मारेर साध्यै थिएन। थारू समुदायका मानिस हरेक चाडको पहिलो दिन माछा मार्न जाने चलन थियो। उनीहरू माछा ओसारेर भ्याउँदैनथे। स-साना कुलामा पनि माछा प्रसस्तै भेटिन्थे।
चितवनको कसरानजिकै राप्ती नदीमा यही फागुन ८ गते गोही छाडेपछि पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले भने, ‘अहिले कस्तो दिन आयो! मान्छेको त कुरै छाडौं, घडियाल गोहीले पनि माछा खान पाएन भन्नुपरेको छ।’
मानव बस्ती हुँदै बग्ने खोला र नदीमा बढ्दो प्रदूषणका कारण माछा हराउन थालेको उनले बताए।
उनी भन्छन्, ‘निकुञ्जभित्रै उत्पति भएका खोलाहरूमा पहिलेजस्तै एकनासले पानी बगेको छ तर बाहिरबाट आउने खोलामा पानी घट्दै छ, माछा देखिँदैन। फोहोर बढेको छ।’
महतोका अनुसार नदीमा जथाभावी ढल मिसाउने, नदी किनारमा फोहोर थुपार्ने, कृषिमा विषादी धेरै प्रयोग गर्ने जस्ता कारणले माछाका प्रजाति लोप हुँदा घडियाल गोही पनि संकटमा परेको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य खोला र नदीहरूमा कहालीलाग्दो अवस्थामा जीवजन्तु बाँचिरहेको बताउँछन्। ‘बाढी आउँदा खोलामा प्लास्टिक र बोतलमात्रै देखिन्छ, त्यो कहाँ जान्छ होला! सबै प्रकृतिमै मिसिने हो,’ उनी भन्छन्, ‘यहाँका जीवहरू कसरी बाँचिरहेका होलान्! असाध्यै कहालीलाग्दो अवस्था छ।’
भावी पुस्ताका लागि घडियाल गोही कसरी जोगाउने भन्ने ठूलो चुनौती रहेको उनले बताए। नदी क्षेत्रमा मान्छेको गतिविधि बढ्दै जाँदा संरक्षणमा संकट बढ्दै गएको उनको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्जमा ‘घडियाल गोही संरक्षण तथा प्रजनन् केन्द्र’ छ। निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार यस केद्रमा ४० वर्षको अवधिमा जन्मेर हुर्केका एक हजार ९ सय ६२ वटा घडियाल गोही देशका विभिन्न नदीहरूमा छाडिएका छन्।
यस वर्ष गत मंसिर १९ देखि फागुन ६ गतेसम्ममा १०७ वटा गोही राप्ती, नारायणी र कोशीमा छाडिए। जानकारका अनुसार यी नदीहरूमा तीन सय वटा घडियाल गोही भेट्न पनि मुस्किल पर्छ। पौडेलका अनुसार केही गोही जालमा परेर मरे, केही बग्दै भारतका नदीहरूमा पुगे।
प्रमुख संरक्षण अधिकृत आचार्य छाडिएका गोहीमध्ये निकै कम मात्रै भेटिने गरे पनि जन्माउने, हुर्काउने र प्राकृतिक बासस्थानमा छाड्ने क्रम रोक्न नहुने बताउँछन्।
‘गोही छाड्नुलाई गोहीको मात्रै संरक्षण भन्ने बुझ्नु हुँदैन। समग्र नदी तटीय पारिस्थितिक प्राणाली जोगाउन भूमिका हुन्छ,’ आचार्य भन्छन्, ‘घडियाल गोहीले नदीमा पानीको शुद्धताको मापन गर्न सघाउँछ, नदीमा जीवन छ कि छैन भन्ने देखाउँछ।’
विज्ञहरूका अनुसार नारायणी नदीमा छाडिएका गोही कोशी नदी र भारतका विभिन्न नदीहरूमा पुग्ने गरेका छन्। गोहीहरू हजारौं किलोमिटर यात्रा गर्छन्।
चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवका अनुसार कालिगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पनि घडियाल गोही भेटिन्थे। प्रजनन् केन्द्रमा बच्चा हुर्काउन देवघाटभन्दा माथिल्लो क्षेत्रबाट पनि गोहीको अण्डा संकलन गरेर ल्याउने गरिएको थियो। अहिले नारायणगढस्थित नारायणी नदीको पुलभन्दा करिब चार किलोमिटर तलमात्र घडियाल गोही देख्न सकिन्छ।
यादवका अनुसार घडियाल शुद्ध पानीमा मात्र बस्छ, मान्छेले नदेख्ने शान्त ठाउँ रूचाउँछ, जिउँदो माछा मात्रै खान्छ। यादव भन्छन्, ‘नदीमा मान्छेका गतिविधि बढेपछि घडियाल संकटमा पर्छ।’ उनले नारायणी र राप्तीमा ठूला माछाका प्रजाति देखिन छाडेको धेरै भएको बताए।
घडियालले नदी किनारको बालुवा खोस्रिएर अण्डा पर्छ। फागुन महिनातिर निकुञ्जका कर्मचारीहरू गोहीको अण्डा खोज्न निस्कन्छन्। उनीहरुले चैत लागेपछि केही अण्डा गोही प्रजनन् केन्द्रमा ल्याउँछन्। प्रजनन् केन्द्रमा ७५ देखि ८० दिनमा अण्डाबाट बच्चा निस्किन्छ। केन्द्रले ती बच्चा राप्ती नदीका माछा खुवाएर हुर्काउँछ। करिब ६ वर्षका भएपछि बच्चा प्राकृतिक बासस्थानमा छाड्छ।
नदीमा छाडिएका गोहीको समय समयमा अनुगमन गर्ने गरिएको सहायक संरक्षण अधिकृत पौडेलले बताए। ‘हामीले छाडेका गोही एक–दुई वर्षमै कता पुग्छन् थाहै हुँदैन। पानीको तापक्रम, शुद्धता, आहारा अनुसार गोहीहरूले विचरण क्षेत्र बनाउँछन्,’ उनले भने, ‘नदीको पानी सफा राख्न सक्यौं भनेमात्रै हामीले छाडेका गोही हामीसँग हुन्छन्।’
विगतमा केन्द्रभित्रै घडियाल गोहीको अण्डा उत्पादन गर्ने गरिएको थियो। केन्द्रमा रहेको एकमात्र भाले गोही बुढो भएपछि केही वर्षदेखि प्राकृतिक बासस्थानबाट अण्डा संकलन गरेर प्रजनन् गराउने गरिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ४३ वर्ष पुगेको भालेको विकल्पमा अर्को ल्याउने प्रयास गरिरहे पनि अहिलेसम्म सफल हुन नसकेको बताए। उनका अनुसार भाले घडियाल जन्मिन तापक्रम मिल्नुपर्छ।
‘प्रजननका क्रममा ३० देखि ३२ डिग्री सेल्सियस तापक्रम भएमात्रै भाले जन्मदो रहेछ। यसबाट तलमाथि भए पोथी जन्मने रहेछ,’ उनले भने, ‘भालेको संख्या असाध्यै थोरै हुन्छ। बच्चा हुर्काउन पनि सजिलो छैन, बाँच्नेको संख्या निकै कम हुन्छ।’
तिवारीका अनुसार नदीमा छाडिएका गोही नेपालको तल्लो तटीय क्षेत्र हुँदै भारत पुग्ने क्रम बढ्नुमा गण्डक ब्यारेज मुख्य कारण हो। ब्यारेजबाट गोही तल जान्छ तर माथि फर्कन सक्दैन।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार प्रजनन् केन्द्रमा एउटा गोही जन्माएर प्राकृतिक बासस्थानमा छाड्दासम्म १० लाख रूपैयाँभन्दा बढी खर्च हुन्छ। खाना, हेरचाह, कर्मचारी गरी एउटाकै लागि यति खर्च हुन्छ। प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार माथिल्लो तटीय क्षेत्रमा जनचेतना बढाउँदै नदी स्वच्छ राख्न नसक्ने हो भने निकुञ्जले जतिसुकै प्रयास गरे पनि गोही जोगाउन मुस्किल पर्नेछ।
घडियाल गोही भारत र नेपालमा मात्र पाइन्छ। अब घडियाल संरक्षण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
‘निकुञ्जले आफ्नो क्षेत्रभन्दा बाहिर गएर संरक्षण गर्न सक्दैन, नदीको माथिल्लो क्षेत्रमा बढ्दो प्रदूषणको असर तलैसम्म परेको छ,’ आचार्य भन्छन्, ‘अब स्थानीय तहसँग सहकार्य गरेर माथिल्लो क्षेत्रमा हुने फोहर, रासायनिक प्रदूषण, कीटनाशक औषधिको प्रयोग कम गर्न जनचेतना बढाउनु जरुरी छ।’
माछा मारेर जीवन चलाउने समुदायका लागि फरक रोजगारी सिर्जना गर्न आवश्यक रहेको पनि उनको भनाइ छ। यस्ता समुदायलाई सघाउन निकुञ्जसँग आर्थिक स्रोत नरहेको आचार्यले बताए।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल विकासका काम गर्दा प्राकृतिक सम्पदाको संरक्षणमा ख्याल राख्नुपर्छ भन्ने जान्दाजान्दै पनि कमीकमजोरी हुने गरेको बताउँछिन्। उनले महानगरका लागि गहनाका रूपमा रहेका नदी र निकुञ्जका जीवको संरक्षणमा ध्यान दिने बताइन्।