इच्छाकामना गाउँपालिकाको भालुमारा भन्ने स्थानबाट नदीजन्य पदार्थको अबैध उत्खनन् गर्दै गरेका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा नम्बर ७ मा पर्ने उक्त क्षेत्रमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको जानकारी पाएपछि प्रहरी टोली पुगेको थियो।
बिहीबार बिहान साढे ५ बजेको समयमा उत्खनन् र ओसापोसार गरिरहेको अवस्थामा २० वटा सवारी साधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए।
चार वटा जेसिबी, नदीजन्य पदार्थ लोड गरिएका १० वटा टिपर र ६ वटा ट्याक्टर नियन्त्रणमा लिइएको उनले बताए। नियन्त्रणमा लिइएका सवारी साधनहरू आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा बुझाइएको डिएसपी अधिकारीले बताए।
जिल्ला समन्वय समिति चितवनका प्रमुख चुडामणि शर्मा गौतमले प्रहरीले इच्छाकामनामा अबैध उत्खनन् गरेको अवस्थामा नियन्त्रणमा लिएको भनेर सवारी साधनहरू बुझाएको बताए। ‘कुन ठाउँमा, कसरी उत्खनन्, ओसारपोसार भइरहेको रहेछ भन्ने विषयमा बुझ्ने काम हुँदैछ,’ गौतमले सेतोपाटीसँग भने, ‘प्रहरीले हामीलाई रातको समयमा उत्खनन् भइरहेको पाइएपछि नियन्त्रणमा लिइएको बताएको छ।’
यसअघि सोही क्षेत्रको खगेरी खोलाबाट मापदण्डलाई मिचेर गिटी, ढुंगा उत्खनन् गरिएको थियो। इच्छाकामना गाउँपालिका, भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको सहमतीमा वन क्षेत्रमा मापदण्ड मिचेर गिट्टी, ढुंगा उत्खनन् गरिएको थियो।
भरतपुर महानगरपालिकाको विकासका लागि नदीजन्य पदार्थको अभाव भएको भन्दै उक्त सहमति गरिएको थियो। उक्त सहमतीपछि इच्छाकामना गाउँपालिकाले सगरमाथा–कृपा–रोयल जेभीलाई अमानतमा २० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएको थियो।
गौतमले खगेरी खोलामा २० हजार घनमिटर मात्रै उत्खनन् गर्ने अनुमती दिइएका कारण उक्त परिमाणमा उत्खनन् गरिएपछि बन्द गरिएको बताए। ‘अहिले उत्खनन् भएको ठाउँको विषयमा जिल्ला समन्वय समितिलाई जानकारी छैन, उत्खननको अनुमति दिइएको भए त हामीलाई थाहा हुन्थ्यो, प्रहरीले कागजपत्र नहेरी नियन्त्रणमा लिएन होला,’ उनले भने।
ढुंगा, गिट्टी, बलुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड-२०७७ मा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत हुनुपर्ने उल्लेख छ। नदीजन्य पदार्थ उत्खनन्का लागि सम्बन्धित स्थानीय तहले उक्त प्रतिवेदन स्वीकृत गरेपछि जिल्ला समन्वय समितिले त्यसलाई सिफारिस गर्नुपर्छ। तर यस विषयमा कार्यालयलाई कुनै जानकारी नभएको गौतमले बताए।
मापदण्डमा घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर दुरीभित्रको नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने उल्लेख छ। इच्छाकामना–७ मा यसअघि र अहिले उत्खनन् भएको क्षेत्र राष्ट्रिय वनसँग जोडिएको छ।
वडाध्यक्ष बमबहादुर थापाले अहिले उत्खनन् गरिएको क्षेत्र निजी क्षेत्रको भएको बताए। २७ सय घनमिटर उत्खननका लागि गाउँपालिकालाई ५ लाख २८ हजार रुपैयाँ राजश्व बुझाएर निर्माण कम्पनीले कार्यादेश ल्याएको उनले दाबी गरे।
‘अस्तिबाट काम सुरू गरें, गाउँपालिकाले हिजो काम नगर भनेपछि बन्द गरें, आज बिहान गाउँपालिका अध्यक्षले काम गरे हुन्छ भन्नु भएपछि खन्न थालेका थिए। प्रहरीले समातेर लगिहाल्यो,’ उनले भने।