अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै बिहीबार साँझ चितवनमा चैते छठ मनाइएको छ।
चितवनको नारायणी नदीको किनारमा साँझ भेला भएका सयौंले सूर्यलाई अर्घ्य अर्पण गर्दै यो पर्व मनाएका हुन्। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका विभिन्न जिल्लाहरुमा धुमधामका साथ मनाइन्छ।
सूर्यको उपासना गरिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाइने गरिन्छ। मनोकांक्षा पूरा भएकाहरु पञ्चेबाजासहित नारायणी नदीमा पुगेर सूर्यलाई अर्घ्य चढाएका थिए।
चैते छठ पर्व मिथिलाञ्चलका जिल्लाहरुमा चार दिनसम्म मनाइने प्रचलन छ। अन्तिम दिन शुक्रबार बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन्।
यो पर्व शरद ऋतुको कार्तिक षष्ठीका दिन पनि मनाइन्छ। त्यसपछि अर्को वसन्त ऋतु लागेपछि चैत महिनाको षष्ठीका दिन यो पर्व मनाइन्छ।