नेपालमा बाघको संख्या दोब्बर बढी पुगेपछि यसले उत्साहसँगै कतिपय सर्वसाधारणमा त्रास सिर्जना गरेको छ।
साउन १३ गते सरकारले अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा नेपालमा बाघको संख्या ३५५ पुगेको तथ्यांक सार्वजनिक गरेको थियो। जुन संख्या नेपालले लिएको लक्ष्यभन्दा बढी हो।
सन् २००९ मा नेपालले बाघको संख्या १२१ रहेकोमा २०२२ सम्ममा दोब्बर वृद्धिको लक्ष्यसहित २५० पुर्याउने संकल्प गरेको थियो। तर सो संख्या लक्ष्यभन्दा पनि सय बढीले पुगेको छ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा भएका बाघमध्ये पर्सामा ४१, बाँकेमा २५, बर्दियामा १२५, शुक्लाफाँटामा ३६ र सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन्।
यसरी बाघको संख्यामा उल्लेख्य वृद्धि भएपछि यसले बाघ र मानवबीच हुने द्वन्द्वदेखि बाघकै व्यवस्थापनमा पनि चुनौती थपिएको छ।
इटालीको युनिभर्सिटी अफ फेराराबाट बाघसम्बन्धी विषयमा विद्यावारिधि गरेका चिरञ्जीवी पोखरेल बाघको संख्या उल्लेख्य वृद्धि हुनुले उत्साहसँगै चुनौती पनि थपिएको बताउँछन्।
उनले नेपालजस्तो गरिब मुलुकले बाघ संरक्षणमा यत्रो फड्को मार्नु गौरवको विषय रहेको उल्लेख गरे।
'अहिलेको नतिजाले नेपालले बाघ संरक्षणमा के गरिरहेको छ भन्ने कुरा विश्वलाई पस्किएको छ। यो गौरवको विषय हो,' पोखरेलले सेतोपाटीसँग भने, 'तर यो सँगसँगै जोखिम पनि बढेको छ। अब मानव र वन्यजन्तुबीचको द्वन्द्व कसरी कम गर्न सकिन्छ, त्यसमा काम गर्नुपर्छ।'
उनले यही गतिमा बाघको संख्या वृद्धि भएमा अबका तीन चार वर्षमा यो संख्या अझै बढेर जाने बताए। तर यसरी बाघको संख्या बढ्दै जाँदा नेपालले कति वटा बाघलाई व्यवस्थापन गर्न सक्छ भन्ने सवाल उठ्न सक्छ।
योबारे पोखरेल भन्छन्, 'चार सय हारहारीमा नेपालमा बाघ भयो भने हामीले अप्ठ्यारो लिनुपर्दैन। अहिले त झन् पहाडी भेगमा पनि बाघ भेटिएको रेकर्ड छ। त्यसले गर्दा पनि यस्ता पकेट क्षेत्रहरू पहिचान गरेर बाघको वासस्थान विस्तार गर्न सकिन्छ।'
पोखरेलका अनुसार पोथी बाघले २५ देखि ३० वर्ग किलोमिटरलाई आफ्नो क्षेत्र बनाउँछन् भने भाले बाघले ४० देखि १०० वर्ग किलोमिटरसम्म आफ्नो क्षेत्र बनाउँछन्। तर कतिपय अवस्थामा भाले बाघले उक्त क्षेत्रभित्रै धेरै पोथीहरूलाई आफ्नो अधिनमा राखेको हुनसक्छ।
यसरी बाघको संख्यामा उल्लेख्य उपलब्धि हासिल गरिरहँदा निकुञ्ज वरिपरिका बासिन्दा भने त्रसित छन्। यसअघि पनि पटक/पटक बाघ आक्रमणका कारण मानवीय क्षतिको घटना घटिरहेकोमा बाघको संख्या थप वृद्धि भएको कुराले उनीहरूमा चिन्ता थपेको छ।
पोखरेल भन्छन्, 'द्वन्द्व छ। किनभने हामी जंगल जानुपर्ने हुन्छ। तर द्वन्द्व कसरी घटाउने भन्नेबारे अध्ययन् हुनुपर्छ। त्यसका लागि विकल्प अवलम्बन गर्न सकिन्छ। दाउराको ठाउँमा बायो ग्यास प्रयोग गर्न सकिन्छ। सरकारले अनुदानस्वरुप विद्युतीय चुला दियो भने दाउराका लागि जंगल जानुपर्दैन। योसँगै राहत र बीमाका कुरालाई ध्यान दिनसक्यौं भने बाघ र मानवबीच हुने द्वन्द्वलाई कम गर्न सक्छौं।'