अछामको तर्माखाद गाउँपालिका-५ नाडामा पहिरो गएको १० घण्टा बढी बितिसकेको छ।
गाउँमा पहिरोले ठूलो मात्रामा धनजनको क्षति गरेपछि त्यहाँका स्थानीयहरू डराइरहेका छन्।
पहिरोमा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको छ। उनीहरूको खोजी गाउँले आफैंले गरेका थिए।
अहिले पनि सिमसिमे पानी परिहेको छ। डाँडाबाट पहिरो खस्ने अझै उच्च जोखिम छ। गाउँमाथिबाट अलिअलि ढुंगामाटो बगिरहेको छ।
पहिरोले आंशिक रूपमा क्षति पुर्याएका र उच्च जोखिममा भएका स्थानीयहरू सुरक्षित ठाउँमा जान चाहन्छन्। तर, सुरक्षित ठाउँ कसरी जाने भन्ने विकल्प उनीहरूसँग छैन।
‘चारैतिरबाट बाटो बन्द छ, केही बुढापाका र बालबच्चामाथि छानामा राखेर आएका छौं, बाँचेका सबैलाई उद्धार गरी सुरक्षित ठाउँमा लान बाटो नभएर धेरै गाह्रो भएको छ,’ वडा सदस्य कमलादेवी बुढाले भनिन्।
उनका अनुसार पहिरो प्रभावितहरूलाई तत्काल सुरक्षित ठाउँमा लग्नुपर्ने अवस्था छ।
घटनाको लामोसमयसम्म त्यहाँ कुनैपनि उद्धार स्थानीयहरूको सम्पर्कमा छैनन्।
‘पहिरो प्रभावित र बेपत्ता भएकाहरूको खोजीका लागि हाम्रो टोल समाजका सबै स्थानीयहरू जम्मा भएका छौं, गाउँकै प्रहरी चौकीका दुई जना प्रहरी पनि छन्,’ उनले भनिन्।
नाडावासीहरू अहिले उद्धारको टोलीको पर्खाइमा छन्। घटनास्थलतर्फ उद्धार टोली आएको या, नआएकोबारे केही जानकारी नभएको स्थानीय प्रतापबहादुर शाहीले बताए।
‘प्रहरी अन्य उद्धार टोली सम्पर्कमा छैनन्, बाटो अवरूद्ध छ। कहाँ पुगे भन्ने केही सम्पर्क छैन,’ उनले भने।
उद्धारका लागि आफूहरूले कसैलाई फोन गर्न सक्ने अवस्था नरहेको उनी बताउँछन्।
‘हामी प्रभावितहरूको खोजी उद्धारमा छौं, हामी आफैं व्यस्त छौं, कसैलाई फोन गर्नसक्ने अवस्था छैनौं,’ उनले भने।
तुर्माखाद गाउँपालिकाका-५ का वडाध्यक्ष मोहनबहादुर शाहीका अनुसार घटनास्थलमा उद्धारका लागि गएका सुरक्षाकर्मी र प्रशासनको टोली बाटो अवरूद्धका कारण बीचमै अड्किरहेको छ।
‘जिल्लाबाट गएका प्रहरी, आर्मी लगायतका सुरक्षा निकायका टोली बाटोमै अड्किएका छन् भन्ने जानकारी पाएको छ, वडा पाँचमा अडिएको छ। घटनास्थलबाट उनीहरू डेढ, दुई घण्टा टाढा छन्,’ उनले भने।
शाहीका अनुसार माथिबाट पहिरो आइरहेको कारण वडा नम्बर ५ कै ठाक्चा खोलामा थुनिएको छ। जताततै पहिरो छ। भिरालो जमिन छ।
‘मेरो भर्खर आउँदै गरेको टोली फोनमा कुरा भएको थियो, खोलामा पहिरो आइरहेका कारण हामी बाटोमै रोकिएका छौं भन्दै थिए, उनीहरू माथिबाट आउनुपर्ने हो, बाटो थाहा नभएर तलबाट आएछन्, पहिरो कम भएदेखि केहि घण्टापछि घटनास्थलमा उक्त टोलीहरू पुग्छन् कि?,’ वडा अध्यक्ष शाहीले भने।
नाडाका तत्काल पाँच घरपरिवारलाई अन्त सार्नुपर्ने अवस्था छ। उद्धार टोली बाटोमै अलपत्र हुँदा सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न त्यहाँ लगिएको थियो।
‘जोखिम परिवारलाई उद्धार गर्न केही समयअघि हेलिकप्टर सुर्खेतबाट लगिएको थियो, बाक्लो कुहिरो लागेकोले ल्यान्ड हुन सकेन, दुई-चार चक्कर लगाई फर्कियो, मौसममा केहि सुधार भएपछि फेरि लग्नेछौं,’ उनले भने।
नाडामा जग्गा जमिन धानवालीमा पनि ठूलो क्षति भएको छ। भिरालो जमिन भएकाले माथि पाखा डाँडाबाट आएको पहिरोले ठूलोमात्रामा जमिन लगेको वडाध्यक्ष शाहीले बताए।
‘ठूलो पहिरो आएकोले बेपत्ता भएकाहरूको खोजी कार्य गर्न गाह्रो भएको हो,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय अछामा डिएसपी नारायण डाँगीका अनुसार जिल्लामा पहिरोका कारण २२ जनाको मृत्यु भएको छ।
जिल्लामा अझै केही बेपत्ता छन्। ११ जनाको उद्धार गरेर अस्पतालमा ल्याई पुऱ्याएर उपचार भइरहेको छ। तीन जनालाई हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।
पहिरोका कारण तुर्माखादका ४ जना, कमलबजारका १२ जना, ढकारी गाउँपालिकामा १ जना गरी १७ जनाको मृत्यु भएको छ। पछि थप पाँच जनाको शव फेला परेको कार्यालयले जनाएको छ।
कमलबजार र ढकारी गाउँपालिकामा पहिरो प्रभावितहरूको उद्धार करिब-करिब भइसकेको छ। तर पनि तुर्माखाद गाउँपालिका विकट भएका कारण उद्धार टोली घटनास्थलमा पुग्न नसकेको उनले बताए।
‘अहिले पहिरो प्रभावितहरूको उद्धार कार्य जारी छ, तुर्माखादमा अहिलेसम्म पहिरो आइरहेको र बाटो अवरूद्ध भएको र त्यसमाथि उक्त स्थल धेरै विकट र टाढा भएका कारण उद्धार टोली घटनास्थलमा पुग्न नसकेको हो,’ उनले भने।
मृतकको पहिचान पनि खुलेको छ।
ढकारी गाउँपालिका-६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ।
यस्तै, कमलबजार नगरपालिका-६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरू कामीको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ।
यसैगरी, कमलबजार नगरपालिका–८, ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाईं र चार वर्षीया कल्पना दमाईको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।