गत वर्ष कात्तिकमा परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको थियो। कैलाली र कञ्चनपुरमा लगाएको धान बालीमा त्यतिबेला धेरै नोक्सानी पुगेको थियो।
अहिले त्यहीँको प्रभावले यहाँको जनजीवनमा असर परेको छ।
यो वर्षपनि सुदूरपश्चिममा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ।
पछिल्लो सातायता मात्रै यस प्रदेशमा बाढी र पहिरोका कारण २७ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्।
गत शुक्रबार दार्चुलाको महाकालीमा आएको बाढीबाट-२ र नौगाडमा गएको पहिरोबाट-३ गरी पाँच जनाको मृत्यु भएको छ। बाढीमा बेपत्ता भएका अन्य दश जनाको खोजी अझै जारी छ। उनीहरू फेला परेका छैनन्।
मानवीय क्षतिसँगै त्यहाँको खेतीयोग्य जग्गा जमिन, भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन्।
उनका अनुसार बेपत्ता दश जनाको खोजी जारी छ।
‘उहाँहरूलाई खोज्ने जारी छ, खोला बढ्ने र घट्ने भइरहेकाले बेपत्ताको खोज्न सकिएको छैन। यस्तै महाकालीमा पनि पानीको बहाव घटेको छैन, खोलामा ठूलो भल छ, त्यहाँ खोज्न स्काइभेटर लगाइरहेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी साउँदले भनिन्।
जिल्लामा प्रारम्भीक तथ्यांक संकलनको क्रममा महाकाली नगरपालिका बाढीबाट ७५ र नौगाड गाउँपालिकामा पहिरोबाट १७ गरी ९१ घरपरिवारहरू प्रभावित भएका छन्।
जसमध्ये ४२ घरपरिवार पुर्णरूपमा विस्थापित भएको छन्।
प्रदेश सरकारले दिने राहतमा बाढी र पहिरोबाट मृत्यु भएका परिवारलाई एक/एक लाख र ३० हजार क्रिया खर्च भन्दै एक लाख ३० हजार रकम प्रदान गर्ने सहायक प्रमुख जिल्ला अधिकारी साउँदले बताइन्।
यस्तै पूर्णरुपमा विस्थापित भएका घरपरिवारलाई ५० का दरले राहत उपलब्ध गर्ने भएको ।
‘राहत रकम दिनका लागि मुचुल्का गर्ने काम भइरहेको छ, केहि दिनमा राहत दिने भन्ने छलफल भइरहेको छ, आंशिक क्षति भएका परिवारलाई राहत दिन प्रदेश सरकारलाई थप तथ्यांक पठाउँछौं, त्यहाँबाट रकम आए राहत प्रदान हुन्छ, अझै प्रभावित बढ्ने अनुमान पनि गरिएको छ,’ उनले भनिन्।
जिल्ला विपद् व्यवस्थापन समितिका रहेको संघ सरकारको बजेटबाट पनि आवश्यकता हेरेर राहत प्रदान गरिने उनले बताइन्।
बाढी र पहिरोबाट प्रभावित भएकाहरू अहिले आफन्त तथा सरकारी भवनमा बसेका छन्।
यस्तै दुई दिनदेखि परेको अविरल वर्षाका कारण शुक्रबार राति अछाममा पनि ठूलो मात्रामा जनधनको क्षति गरेको छ।
यहाँको तुर्माखाद गाउँपालिका–५ नाडामा दुईघर पुरिदा ९ जना पहिरोमा बेपत्ता भएका थिए। जसमध्ये अहिलेसम्म ८ जनाको शव फेला परिसकेको छ भने अझै एक जना फेला परेका छैनन्। पानी परिरहेकाले नाडामा अझै पहिरोको जोखिम छ। त्यहाँ अहिले उद्धार टोली पुगिसकेका छन्, उनीहरूले बेपत्ता खोजी गरिरहेका छन् भने, जोखिममा रहेकालाई अर्काे सुरक्षित गाउँमा सार्ने काम भइरहेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।
‘गाउँपालिकासँग समन्वय गरेर उद्धारको काम भइरहेको छ, आज टाढा भएकोले राहत दिन सकिएन, भोली राहत लिएर जान्छौं, उद्धार टोली पनि त्यतै छ,’ उनले भने।
यस्तै, कमलबजार नगरपालिका–६ र ८ वडाका १२ जनाको पहिरोमा पुरिएर ज्यान गएको छ।
ढकारी गाउँपालिका–६ मा पनि एक जानको पहिरोका कारण मृत्यु भएको छ। सोही ठाउँका एक जना अझै बेपत्ता छन्।
जिल्लाका तीनवटा स्थानीय तहका पाँच ठाउँमा पहिरो जाँदा त्यहाँ अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। केहि बेपत्ता भएका छन्। यसका साथै भौतिक संरचनामा पनि धेरै क्षति भएको रिजालले जानकारी दिए।
‘बेपत्ताको यकिन तथ्यांक थाहा भएको छैन, आज हामीले स्थानीय तहसँग समन्वय गरेर उद्धारको काम गरिरहेका छौं, विस्थापितलाई खाना, बासको व्यवस्था रहेका जोखिममा रहेकालाई सुरक्षित ठाउँ राखिरहेका छौं, राहतको लागि पनि पहल गरेका छौं, निर्णय भएपछि भोली, पर्सी राहत वितरण गर्नेछौं,’ उनले भने।
यस्तै प्रदेशका अन्य पहाडी जिल्लामा पनि पहिरोको जोखिम बढेको छ भने यी जिल्लामा पहिरोबाट कयौं परिवार विस्थापित भएका छन्।
पानी परिहेकोले जोखिम स्थानमा रहेका स्थानीयले सर्तकता अपनाउन सम्बन्धित जिल्ला प्रशासनले सूचना जारी गरेका छन्।
यता तराईका कैलाली र कञ्चनपुरमा पनि नदीमा पानी बहाव बढेर आएको बाढीले हजारौं घर डुवानमा परेका छन्।
कैलालीमा बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, लम्कीचुहा र धनगढी उपमहानगरपालिकाका बस्तीहरू डुबानमा परेका छन्। कैलालीको पहाडी क्षेत्रपनि पहिरोले प्रभावित भएको छ।
बढी मात्रामा कैलालीको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
उनका अनुसार बाढीका जिल्लाका ६ हजार बढी नागरिकहरू प्रभावित भएका छन्।
नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको पनि सूचना अधिकारी जोशीले बताए।
खोलामा बगेर एक युवती बेपत्ता भएकी छन्। धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी वेदप्रकाश जोशीले जानकारी दिए।
चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाइएको छ।
उता कञ्चनपुरमा पनि हजारौं घर डुवानमा परेका छन्, भने शुक्लाफाँटा–१२ मा तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ। त्यहाँ बनहरा नदीमा जलस्तर बढिरहेको र तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ।
तस्बिरहरू: