आमाछोरा बिहान सँगै स्कुल जान्छन्, सँगै फर्किन्छन्। आमा ३२ वर्षकी छन्, छोरा १५ वर्षका।
तपाईंले सोच्नुभयो होला, आमा शिक्षक र छोरो विद्यार्थी।
कुरो यसो होइन। दुवै जना विद्यार्थी हुन्। आमा सात कक्षामा पढ्छिन्, छोरो छ कक्षामा।
आमा बिहान चाँडै उठेर घरको केही काम गर्छिन्। आजकाल गर्मी मौसम छ, स्कुल बिहान लाग्छ। चाँडै उठेर तयार हुनु पर्छ। छोरालाई तयार पार्नु पर्छ।
आमा सर्टफ्रक लगाउँछिन्, घाँटीमा टाई पनि बाँध्छिन्। छोरा सर्टपैन्ट र टाई लगाएर तयार पर्छन्।
यी विद्यार्थीआमा हुन् सुदूरपश्चिम कञ्चनपुरको पुनर्वास नगरपालिका–६, त्रिभुवन बस्तीकी पार्वती सुनार।
पार्वती गत वैशाखमा स्कुल भर्ना भएकी हुन्। दुई छोराकी आमा यो उमेरमा केवल रहर वा लहडले सात कक्षामा पढ्न थालेकी होइनन्। अनेक हन्डर र ठक्करले उनलाई दोहोर्याएर स्कुल पुर्याएको हो।
उनले सेतोपाटीलाई आफ्नो जीवनकथा सुनाइन्।
पार्वती पहिलोपटक स्कुल जाँदा छ वर्ष उमेरकी थिइन्। सरासर पढेर आठ कक्षामा पुगिन्, उमेर १५ वर्ष भयो। यही उमेरमा जीवनयात्राले नयाँ घुम्ती लियो। आफूखुसी २४ वर्ष उमेरका पुरुषसँग भागी बिहे गरिन्।
किन त्यति चाँडै बिहे गरेको त?
जवाफमा पार्वतीले भनिन्, ‘त्यसबेला स्कुल पढ्दापढ्दै बिहे गर्ने चलन थियो। अहिले त त्यस्तो छैन। धेरै शिक्षित भइसके, बिहे गरे पनि कानूनले छुट्याइदिन्छ।’
बिहेको वर्षदिनमा पहिलो सन्तान छोरो जन्माइन्। चौथो वर्ष अर्को छोराको जन्म भयो।
श्रीमान् कामका लागि मलेसिया जाने भए। आफ्नो जमिन बन्दकी राखेर ऋण लिए। भिसा पनि आयो। काठमाडौं पुगेपछि एजेन्टले थप साढे एक लाख रुपैयाँ माग्यो। कहाँ हुनु त्यतिको पैसा! मलेसिया जाने सपना यतिमै भंग भयो।
मलेसिया जाने योजना असफल भएपछि पार्वतीका श्रीमान् पनि भारत गए। त्यसको पाँच वर्षपछि पार्वती पनि गइन्। बिहेको पाँच वर्षपछि श्रीमानका साथ लागेर पार्वती पनि भारत गइन्। पार्वती सात वर्ष भारत बसिन्।
उनले गर्ने काम के नै हुन्थ्यो र! घरको सरसफाइ त हो।
उनले भनिन्, ‘ट्वाइलेट र बाथरूम धाएँ। गाडी पनि सफा गरेँ। दैनिक आठ वटा घरमा काम गरेर महिनामा २०–२२ हजार कमाइ हुन्थ्यो।’
कुनै घरमालिकले राम्रै व्यवहार गर्थे। सधैँ हाम्रोमा काम गर भन्थे। कसैले चाडवाडमा लुगा पनि किनिदिन्थे। कोही चाहिँ ससानो कुरामा पनि गाली गर्ने खालका थिए।
‘बिहान चार बजे उठेर काममा जानुपर्थ्यो, कोही मालिक अलिक छिटो गए छिटो आई भन्ने, थोरै ढिलो भए ढिलो आई भनेर कराउने,’ उनले भनिन्।
एक पटक पार्वती बिमार परिन्। उपचारमा ऋण काढ्नु पर्यो। पुरानै ऋण तिर्न भारत गएकी उनी आफैँ बिमार परेपछि ऋणको भार थपियो।
‘बच्चा पढाउन पनि धेरै खर्च हुन्थेन। खानलाउनमै भारतको कमाइ ठिक्क भयो। अहिले रिन घटेको छ तर सकिएको छैन,’ उनले भनिन्।
भारतमा बाटो हिँड्दा स्कुले विद्यार्थीहरू देख्थिन्। अंग्रेजी बोलेको सुन्थिन्। उनलाई आफ्नो स्कुले जीवनको सम्झना आउन थाल्यो। आफूले पढाइ छाडेकोमा पछुतो लाग्न थाल्यो।
‘त्यहाँ (भारत) का केटाकेटीले अंग्रेजी बोलेको सुनेर, राम्रो ड्रेस लाएर केटीहरू स्कुल गएको देखेर मलाई पढ्न रहर लाग्यो,’ पार्वतीले भनिन्।
सात वर्षपछि पार्वती घर फर्किन्।
गत वैशाखको अन्तिमतिर एक दिन पार्वती छोरासँगै स्कुल पुगिन्। शिक्षक कक्षमा पसेर म पनि पढ्ने विचारले भर्ना हुन आएकी हुँ भनिन्।
पार्वतीको कुराले शिक्षकहरू चकित भए। कोही त हाँस्न पनि थाले। उनीहरूमध्ये धेरैले पार्वतीले ठट्टा गरेकी हुन् भन्ने ठाने।
प्रधानाध्यापक भरतकुमार बस्नेतले भने, ‘हामीले त ठट्टा गरेकी हुन् भन्ने सोच्यौँ। कुरा सुनेर हास्यौँ। छोरो भर्ना गर्न आएकी हुन् भन्ने ठान्यौँ।’
खासमा पार्वती छोरासँगै आफू पनि भर्ना हुने अठोटले नै स्कुल गएकी थिइन्। उनले म साँच्चै पढ्न चाहन्छु, भर्ना हुन आएकी हुँ भनेपछि प्रधानाध्यापक गम्भीर भए। आठ कक्षामा पढ्दापढ्दै बिहे गरेकी पार्वतीले १७ वर्षपछि आफ्नो छोरो पढ्ने जीवनज्योति माध्यमिक विद्यालयमा सात कक्षामा भर्ना पाइन्।
सामान्यतया सात कक्षाका विद्यार्थीको उमेर १३ वर्ष हुन्छ। उनीहरूका लागि साढे दुई गुणा बढी उमेरकी सहपाठी अचम्मकी पात्र भइन्। पार्वतीका लागि सहपाठीहरू छोराछोरी जास्ता भए।
प्रधानाध्यापक बस्नेतले भने, ‘सुरुका दिनमा बच्चाहरूले पार्वतीलाई जिस्क्याउने गरेछन्। मैले एक दिन प्रार्थनासभामा आमाछोरालाई अगाडि बोलाएँ। विद्यार्थीहरूलाई सम्झाएँ। त्यसपछि सबै विद्यार्थीले पार्वतीलाई साथी ठाने, सम्मान गर्न थाले।’
बस्नेतले शिक्षा क्षेत्रमा ३५ वर्षको अनुभवमा पार्वतीको पढ्ने अठोट आफ्ना लागि नौलो घटनाका रूपमा रहेको बताए। पार्वतीका अर्का एक छोरा अर्को स्कुलमा तीन कक्षामा पढ्छन्।
पार्वती स्कुल भर्ना भइन्, पढ्न थालिन् तर यो काम त्यति सजिलो पनि थिएन।
बिहे भएपछि पनि बाआमाले त उनलाई पढाइ नछाड भनेका हुन् तर त्यति सजिलो किन हुन्थ्यो! आजभोलि भन्दाभन्दै दिन बित्दै गयो। सन्तान जन्मियो।
अब त जिम्मेवारी पनि थपियो। कता स्कुल जानु! श्रीमानका पछि लागेर पैसा कमाउन भारत पो गइन्।
नेपाल फर्केपछि एक दिन पार्वतीले श्रीमानलाई आफू स्कुल भर्ना भएर पढ्न चाहेको बताइन्। श्रीमान् सहजै सहमत भए। पार्वतीको उत्साह बढ्यो।
अब सासुलाई मनाउनु थियो। श्रीमानले मानेपछि पार्वतीको आँट बढेको थियो। एक दिन सासुलाई पनि सुनाइन्।
‘डर पनि भयो, सासुले नाइँ पो भन्नुहुन्छ कि भनेर तर पढ्छेस् भने पढ् भन्नुभयो,’ पार्वतीले भनिन्, ‘यसपछि म भर्नाका लागि स्कुल गएँ।’
छोरालाई लिएर स्कुल गएकी पार्वतीले पहिले छोराको भर्ना गराइन्। त्यसमा आठ सय रुपैयाँ लाग्यो। आफ्नो लागि पैसा पुगेन, यसै फर्किन्।
छोरा पाँच कक्षामा सर्वोत्कृष्ट भएका थिए।
आफ्नो भर्ना गर्न ऋण नै काढ्नु पर्यो। पार्वतीले भनिन्, ‘फुपुसँग पैसा मागेँ। के गर्ने होस् भनिन्। काम परेको छ भनेँ। बाबु (छोरो) लाई भर्ना गरेको तीन दिनपछि आएर सात कक्षामा नाम लेखाएँ।’
प्रधानाध्यपक बस्तेनले पार्वतीका लागि कक्षा १० सम्म कुनै पनि शुल्क नलिने निर्णय भएको बताए।
पार्वतीले छोरालाई स्कुलको पोसाक सिलाउन कपडा किनेकी थिइन्। आफू पनि पढ्ने भएपछि त्यो कपडा आफ्ना लागि सिलाइन्। छोरालाई पोहरकै ड्रेस लगाउँदै गर भनिन्।
आजकाल स्कुलको पोसाक लगाएर छोरासँगै स्कुल जानु पार्वतीको दिनचर्याको एक अंग भएको छ। आफू स्कुल गएर पढ्न थालेकोमा छोरो पनि खुसी भएको उनले बताइन्।
यसरी पार्वतीको पढाइ सुरु भयो तर यतिका वर्ष छुटेको पढाइ सम्हाल्न उनले निकै मिहिनेत गर्नु परेको छ।
भन्छिन्, ‘अहिले धेरै राम्रो गर्न नसेके पनि अन्तिम परीक्षासम्ममा म राम्ररी पास हुन्छु।’
गर्मी मौसम भएकाले आजकाल स्कुल बिहान लाग्छ। बिहानका केही काम पार्वतीले गर्छिन्। खाना सासुले बनाउँछिन्। बाह्र बजे स्कुल छुट्टी हुन्छ। घर गएपछि सबै काम गर्छिन्। बेलुकाको काम सकेपछि पढ्छिन्।
‘आमा (सासु) आफूले पढ्नुभएको छैन। मलाई धेरै काम सघाउनुहुन्छ। राम्रो पढ् भन्नुहुन्छ,’ पार्वतीले भनिन्, ‘श्रीमानले अहिले म कमाउँछु, तँ पढ् भन्नुभएको छ।’
पार्वतीले कम्तीमा १२ कक्षा पूरा गर्ने सोचेकी छन्। त्यसपछि परिस्थिति हेरेर निर्णय लिने उनले बताइन्।
पढाइमा पार्वतीले घरपरिवार र शिक्षकहरूको सहयोग पाएकी छन् तर पढेलेखेकै मानिसले निराश बनाउँछन्। यो उमेरमा पढेर के गर्यौ भनेर टिप्पणी गर्छन्।
‘म एमए पढेकोले त काम पाएको छैन। तिमी अहिले पढेर के गर्ने हो भनेर कमेन्ट पनि गरेका हुन्छन्,’ पार्वती भन्छिन्, ‘मेरो त पढ्ने अठोट हो। कामका बारेमा सोचेकै छैन। केही नभए पनि आफूजस्ता दिदीबहिनीलाई पढाउँछु।’
पार्वतीका श्रीमान् अहिले पनि भारतमै छन्। स्कुल जान थालेपछि केही सञ्चारमाध्यमले पार्वतीसँग अन्तर्वार्ता गरे। उनले भनिन्,
‘श्रीमानले भारतमा हेरेर राम्रो भन्नुभयो। शिक्षकहरूले पनि राम्रो बोल्यौ भन्नुभयो।’
उमेर जेसुकै होस्, पार्वती पढाइमा अघि बढिन्। उनलाई अहिले कसैको नकारात्मक कुरा सुन्नु छैन। केवल आफ्नो अठोट पूरा गर्नु छ।