प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई पक्राउ गरेको छ।
डिभी परेपछि भिसा प्रक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने सात जना र बनाउने दुई जनासहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीया राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीया सविता श्रेष्ठ छन्।
यस्तै अछामका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापाका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाईं र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन्। त्यस्तै एक जना काठमाडौंका २१ वर्षीय सूर्यराज खत्री पक्राउ परेका हुन्।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो।
पक्राउ परेका नौ जनामध्ये दिनेश प्रसाईं र सूर्यबहादुर श्रेष्ठले नक्कली प्रमाणपत्र बनाउने गरेका थिए। उनीहरू दुवै स्टुडियो सञ्चालक हुन्। प्रहरीले उनीहरू दुईलाई भने झापाबाट पक्राउ गरेको हो।
‘उनीहरूले सन् २०२१ मा डिभी भरेका रहेछन्,’ उनले सेतोपाटीसँग भने, ‘डिभीको नतिजामा नाम निस्कियो। त्यसपछि उनीहरू भिसा प्रक्रियामा जानुपर्थ्यो। जसका लागि कक्षा १२ को शैक्षिक प्रमाणपत्र आवश्यक पर्ने भएकाले उनीहरूले नक्कली प्रमाणपत्र बुझाएका थिए।’
डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेस गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी उपरीक्षक रेग्मीले बताए।
अमेरिकी दूतावासले केही व्यक्तिहरूको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीलाई खबर गरेको थियो।
‘दूतावासले प्रमाणपत्र हेरेपछि केही व्यक्तिको शंका लागेर हामीलाई खबर गरेको थियो। त्यसपछि ती प्रमाणपत्रहरू हामीले उच्च माध्यमिक परीक्षा केन्द्रमा जाँचका लागि पठाएका थियौं। जाँचको क्रममा नक्कली भनी पत्ता लागेको हो,’ उनले भने।
‘उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन १५ हजारदेखि ८ लाखसम्म तिरेका रहेछन्,' उनले भने, ‘प्रायःले बाहिरी जिल्लाबाटै नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अनुसन्धानको क्रममा खुलेको छ।’
प्रहरीले उनीहरूको साथबाट ८ थान शैक्षिक प्रमाणपत्र र पाँच थान राहदानी बरामद गरेको छ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।