दस वर्षअघिको कुरा हो।
एलिन भण्डारीको स्नातक तहको परीक्षा चलिरहेको थियो। राम्रो लेख्छु भन्ने आत्मविश्वासका साथ परीक्षा हलमा पसे।
उनलाई देखेर परीक्षा हलका निरीक्षक अन्यौलमा परे।
केरकार गर्न थाले। नक्कली परीक्षार्थी हौ कि भन्दै शंका गरे। केटाको जस्तो हुलियामा पुगेका उनको नाम प्रवेशपत्रमा केटीको जस्तो थियो, एलिना भण्डारी।
निरीक्षकले सुरूमा सोधेनन् मात्र निकैबेर र्याखर्याख्ति पारे।
'प्रवेश पत्रमा केटीको नाम छ, तिमी केटा हौ कि केटी?' भन्दै सोधिरहे।
यो सब देखे-सुनेर परीक्षा दिन आएका सबै विद्यार्थी हाँसे।
कक्षाकोठामा पस्दा कस्सिएको एलिनको आत्मविश्वास खुस्किँदै गयो। कुरा साम्य भएपछी एलिन परीक्षा दिन बसे। तर पढेका कुरा केही सम्झिन सकेनन्। एकैछिनअघि निरीक्षकले गरेको व्यवहार र अरू परीक्षार्थीको हाँसोले उनको दिमाग कब्जा गर्यो।
उनी निराश भए, एक घन्टा नबित्दै परीक्षा हलबाट बाहिरिए।
'त्यत्रा साथीहरूको बीचमा निरीक्षकको अपमान सहन परेपछि मलाई फेरि परीक्षा दिन र पढ्न जान हिम्मत नै आएन। मैले पढाइ छाडेँ,' केहीदिन अघि सेतोपाटीसँग एलिनले त्यो दिनको कुरा सम्झिँदै भने।
एलिन मात्र होइन, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भएकै कारण पारलैंगिक महिला भूमिका श्रेष्ठले पनि पढाइ पूरा गर्न पाइनन्। हुर्किँदै जाँदा आफ्नो फेरिएको हाउभाउ देखेर शिक्षक र विद्यार्थीले धेरै हैरान पार्ने गरेको उनले बताइन्।
भूमिकाका अनुसार गणित विषयमा उनी कमजोर थिइन्, गाली भने लैंगिकताको स्वभावलाई गरिन्थ्यो। नेपाली व्याकरण पढाउँदा 'नपुंसक लिंग' भनेको कस्तो हो भन्दै शिक्षकले उनलाई देखाउँदै उदाहरण दिन्थे। साथीहरू हाँस्थे। उनको मजाक बनाउँथे।
स्कुलको शौचालय प्रयोग गर्न पनि उनलाई असजिलो भयो।
'पुरुषको शौचालय जानुपर्थ्यो, त्यहाँ जान लाज हुन्थ्यो। स्कुल गएपिच्छे जिस्काउने, गाली गर्ने भएपछि दस कक्षा पढ्दापढ्दै बीचमा छोडिदिएँ,' भूमिकाले भनिन्, 'त्यसपछि कहिले पनि स्कुल नजाने निर्णय गरेँ।
उनीहरू जस्तै विद्यालयमा अपमानित भएको र अन्य असुविधाका कारण झन्डै आठ सय पारलैंगिक व्यक्तिहरूले पढाइ छाडिसकेको अनौपचारिक तथ्यांक छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि लड्दै आएको संस्था निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) मा काम गर्ने आठ जना पारलैंगिक व्यक्तिले उल्लिखित कारणले नै पढाइ छाडेका छन्।
निलहिराको बाँके शाखामा सात जनाले पढाइ छाडेको संस्थाका अनुसन्धानकर्ता परशु चौधरीले जानकारी दिए। यस्तै चितवनमा एक सय ७५ जनाले पहिचानकै कारण बीचमा पढाइ रोकेका छन्।
सुदूरपश्चिम प्रदेशमा ६ सय जनाले पढाइ छाडेको तथ्यांक समाजले संकलन गरेको छ। उक्त प्रदेशको राजधानी मानिने धनगढीको सबभन्दा ठूलो क्याम्पसमा समेत पारलैंगिक व्यक्तिहरूले दुर्व्यवहारका कारण पढाइ छाडेका परशुले बताए। कैलाली बहुमुखी क्याम्पसमा पारलैंगिक व्यक्तिहरूलाई दुर्व्यवहार गरेकै कारण तीन जनाले स्नातक पढ्न नपाएको उनी बताउँछन्।
'पारलैंगिक भन्दै दुई जनामाथि त्यहाँका केही शिक्षक र विद्यार्थीले दुर्व्यवहार गरे। गाली गर्ने र जिस्काउने भएपछि उनीहरूले पढाइ छाडे,' परशुले घटनाबारे भने, 'अझ एक जनालाई त केटा होस् कि केटी भन्दै शिक्षकले परीक्षाबाटै बञ्चित गरिदिए।'
हामीले यसबारे कैलाली बहुमुखी क्याम्पस प्रमुख धर्मराज उपाध्यायलाई सोध्यौं।
सेतोपाटीसँगको फोनवार्तामा उनले आफू यसबारे बेखबर रहेको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे नै आफूलाई थाहा नभएको बताए।
'यो समुदायका बारेमा मलाई थाहा छैन। क्याम्पसको महिला सेलमा सोध्नुहोस् न। यस्तो घटना क्याम्पसमा भएको थाहा छैन,' उपाध्यायले भने।
निलहिरा समाजका अनुसार चितवनका केही विद्यालय र क्याम्पसमा पनि पारलैंगिक विद्यार्थीलाई दुर्व्यवहार भएको कारण उनीहरूले पढाइ छाडेका थिए। हामीले यसबारे भरतपुर शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेललाई सोध्यौं। उनले यस्तो घटनाबारे अनभिज्ञ रहेको बताए।
'समुदायका व्यक्तिले यो समस्याका बारेमा थाहा दिएको छैन। त्यसैले यसबारे जानकारी छैन,' उनले सेतोपाटीसँग भने।
भरतपुरमा एक सय १७ सरकारी विद्यालय छन्। समुदायका व्यक्तिहरूले मुद्दा नउठाएको कारण यसबारे छलफल नगरेको पौडेल बताउँछन्।
विद्यालयमा जात, लिंग, वर्गको आधारमा विभेद गर्न नपाइने नीति छ। यो नीतिले कुनै घटना नभए पनि त्यसबारे छलफल गर्नुपर्ने भन्छ। त्यसैले अब सरोकारवालाहरू यसबारे जानकारी छैन भनेर पन्छिन नपाउने एलिन भण्डारी बताउँछन्।
काठमाडौं महानगरपालिकाकै दुई विद्यालयमा पारलैंगिक विद्यार्थीलाई दुर्व्यवहार गरेको विवरण निलहिरा समाजसँग छ। काठमाडौं महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले यसबारे आधिकारिक उजुरी भने नआएको बताए।
'यस्तो भए विद्यालयमा महानगरले राखेको उजुरी पेटिकामा उजुर गर्न सकिन्छ,' सुवेदीले भने।
महानगरले सबै स्कुलहरूमा उजुरी पेटिका बनाएको छ। त्यसमा विद्यार्थीले आफूलाई स्कुलमा भएको दुर्व्यवहारबारे गोप्य तरिकाले उजुरी गर्न सक्छन्।
सबै जातजाति, लैंगिक पहिचान र सामाजिक व्यवस्था र अवस्थाबारे शिक्षकहरू सचेत हुनुपर्ने भन्दै प्रमुख सुवेदीले भने, 'कुनै विद्यार्थीलाई पारलैंगिक भन्दै वा अन्य विभेद गरेको जानकारी भए, तत्काल विद्यालय र शिक्षकलाई कारबाही गर्छौं।'
काठमाडौं महानगरकी शिक्षा सल्लाहकार रेशु अर्याल शैक्षिक संस्थाको वातावरण सबै विद्यार्थीका लागि समान हुनुपर्ने बताउँछिन्। हरेक शैक्षिक संस्थामा लैंगिक अल्पसंख्यकले अरू विद्यार्थीसरह ससम्मान पढ्न पाउने वातावरण बनाउनुपर्ने उनले बताइन्।
'यो समुदायप्रति धेरै संवेदनशील हुन आवश्यक छ। कुनै नराम्रो घटना भए मात्र सचेत हुने, नभए बेवास्ता गर्ने हो भने हुँदैन,' उनले भनिन्, 'लैंगिक अल्पसंख्यकले ससम्मान आफ्नो पहिचान खुलाएर निर्धक्क पढ्न पाउनुपर्छ। त्यो वातावरण शैक्षिक संस्थाले नै बनाउनुपर्छ।'
उनले भनेजस्तो निर्धक्क पढ्न पाउने वातावरण सबै शैक्षिक संस्थामा छैन, बनाउन सकेका छैनन्।
एलिनले पढाइ छोड्ने अवस्थामा पुग्नुअघि पनि धेरै मानसिक तनाव झेलेका थिए। उनलाई सानैदेखि आफू केटीको शरीर लिएर जन्मिए पनि केटा हुँ भन्ने थियो। दस कक्षा पढ्दासम्म उनले केटीको पोसाकभित्र आफूलाई मुश्किलले बाँध्ने।
'मेरो हाउभाउ केटाको जस्तै हुन थालेपछि स्कुलका साथीहरू मलाई छक्का, हिजडा भन्न थाले,' एलिनले सुनाए, 'यसले मलाई ठूलो मानसिक पीडा दिन्थ्यो।'
कलेजमा सहज होला भन्ने थियो। भएन। जाने र नजाने आधाआधा जसो गरेर १२ कक्षा पूरा गरे। स्नातक पढ्न अर्को क्याम्पस गए। त्यतिन्जेलसम्म उनले आफ्नै पहिचानमा बाँच्न निधो गरिसकेका थिए। सहपाठी नयाँ भएकाले उनलाई पुरूषका रूपमा प्रस्तुत हुन अलि सजिलो भयो।
तर लुगाभित्रको शरीरले समस्या पार्थ्यो। शौचालय जान मुख्यगरी। पुरुष शौचालयमा महिनावारी हुँदै पस्नै गाह्रो, बसेर पिसाब फेर्न नमिल्ने! त्यहाँमाथि परीक्षा हलमा निरीक्षकले गरेको व्यवहारदेखि उनी तर्सिए नै।
तनावले घेरेपछि बीच उनले पढाइ अगाडि बढाउन सकेनन्। अवसरबाट बञ्चित भए।
'मेरो अंग्रेजी भाषा राम्रै छ। तर पूरा पढाइ १२ कक्षासम्म मात्रै भयो,' उनले भने, 'शैक्षिक योग्यता कम भएकैले कति अवसर गुमाइरहेको छु।'
भूमिका पनि पढाइकै कारण अवसरहरूबाट बञ्चित हुनुपरेको बताउँछिन्।
उनले भनिन्, 'मैले पहिचानका लागि धेरै सपना, इच्छा छाड्नुपर्यो। सबभन्दा ठूलो कुरा पढाइ छोड्नुपर्यो। आजजसरी पहिले बोल्न सक्ने भएको भए सायद म लडेर पनि पढ्थेँ। शिक्षाले महिला र पुरुषले मात्र पढ्नुपर्छ भन्दैन। शिक्षा दिने केही व्यक्तिले भने यसमा विभेद गरिरहेका छन्।'
एलिन र भूमिका दुवै निलहिरा समाजमा आवद्ध छन्। उनीहरू अहिले पढ्न नपाएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिका लागि लडिरहेका छन्। शिक्षकहरूलाई समुदायका बारेमा जानकारी दिँदै समानताबारे बुझाउने प्रयास गरिरहेका छन्। तर यो काम सहज छैन।
'केही स्कुलले त हामी गयौं भने सबै विद्यार्थी बिग्रिन्छन् भन्दै सिधै नआइज भन्छन्,' एलिनले अनुभव सुनाए, 'अझै पनि शिक्षकहरू हामीप्रति संवेदनशील छैनन्।'
एलिनका अनुसार शैक्षिक पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे समावेश नगर्नाले पनि बुझाउन मुश्किल परिरहेको छ। संविधानले समान र सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। शिक्षा मौलिक हक नै हो। तर पारलैंगिक व्यक्तिले व्यवहारमा यी अधिकार उपभोग गर्न नपाइरहेको उनले बताए।
मुलुकी अपराध संहिता २०७४ दफा १६० मा कुनै पनि नागरिकलाई लैंगिकता आधारमा भेदभाव गर्न नपाइने भनिएको छ।
अधिवक्ता शशि बस्नेतका अनुसार लैंगिक दुर्व्यवहार भएमा प्रहरीमा उजुरी गर्न सकिन्छ। कानुनमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई भनेर ठ्याक्कै उल्लेख नगरे पनि लैंगिकताका आधारमा भेदभाव भएको छ भने दफा १६० मा टेकेर सजाय दिन सकिन्छ। यस्तो भेदभाव गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ।