काठमाडौंको भोटाहिटीमा केही समयदेखि नयाँ पाइप विस्तारको काम भइरहेको छ। उक्त पाइप मेलम्ची खानेपानी आयोजनाका लागि विस्तार गरिएको हो कि भन्ने धेरैलाई लाग्छ। तर त्यसो होइन।
काठमाडौं कोर-सिटीका प्रायः गल्लीहरू साँघुरो भएकाले आगलागी हुँदा दमकल पुग्न सक्दैन। त्यस्तो अवस्थामा आगो नियन्त्रणको वैकल्पिक उपाय अपनाउन पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको काठमाडौं महानगरपालिका प्रकोप व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ बताउँछन्।
‘कोर-सिटीका गल्लीहरूमा आगलागी भए दमकल पठाउने स्थिति छैन,’ उनले भने, ‘त्यसैले दमकलका लागि पाइप विस्तारको योजना अगाडि बढाएका हौं।’
उनका अनुसार पहिले आगो नियन्त्रणका लागि फायर हाइड्रेन्ट प्रयोग गरिन्थ्यो। त्यस्ता फायर हाइड्रेन्ट मुख्य चोकहरूमा केही मिटर दुरीमा राखिएका थिए। पछिल्लो समय ती फायर हाइड्रेन्ट पानी अभावले बन्द भएपछि पानी पास नहुने समस्या आएको उनी बताउँछन्।
अहिले जडान भइरहेको पाइपलाइनमा भने यस्तो समस्या नआउने श्रेष्ठको भनाइ छ। यसका लागि बेलाबखत पानी पठाएर जाँच गर्ने योजना छ।
श्रेष्ठका अनुसार अहिले वडा नम्बर १३, १६, १७ र २५ मा पाइप विस्तारको काम भइरहेको छ। पहिलो चरणमा दमकल छिर्न नसक्ने कोर-सिटीका गल्लीहरूमा पाइप विस्तारको काम अघि बढाइए पनि पछि अन्य ठाउँमा निर्माण गरिने उनले जानकारी दिए।
‘जुन ठाउँसम्म दमकल जान्छ, त्यहाँबाट दमकल जान नसक्ने ठाउँहरूमा पाइप विस्तार गरिएको छ,’ उनले भने, ‘दमकल जान सक्ने ठाउँमा पाइप छिराउन मुख बनाइएको हुन्छ। त्यस्तै मुख विभिन्न ठाउँमा राखिएको हुन्छ।’
कोर-सिटीमा अहिले भइरहेको दमकल पाइप विस्तारले आगलागी नियन्त्रणमा प्रमुख भूमिका खेल्ने उनी बताउँछन्।
दमकलका लागि पाइप विस्तार गर्ने यो योजना पूर्वमेयर विद्यासुन्दर शाक्यकै कार्यकालमा सुरू भएको थियो। त्यसका लागि २०७७ सालमा २० लाख रूपैयाँ बजेट छुट्याइएको थियो। तर कोरोना महामारीका कारण काम गर्न नपाएको श्रेष्ठको जिकिर छ।
‘पहिले २० लाख बजेटमा १५ लाख मात्र खर्च गर्न सक्यौं,’ उनले भने, ‘यो वर्ष एक करोड विनियोजन गरेका छौं।’