बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई आफू बसेको जग्गा खाली गर्न सूचना दिएपछि केही महिलाहरू बच्चा बोकेरै प्रदर्शन गर्न पुगेका छन्।
काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो। त्यसपछि बिहीबार दिउँसो उनीहरू प्रदर्शनका लागि उत्रिएका हुन्।
समितिको निर्णयविरूद्ध प्रदर्शन गर्न कोही काखमा बच्चा बोकेरै आएका थिए। त कोही वृद्धहरू सकि/नसकि सहभागी जनाउन आएका थिए। उनीहरू सबैको एउटै माग थियो, ‘हामीलाई विस्थापित गर्न पाइँदैन, हामीलाई न्याय चाहियो।’
त्यहीमध्ये एक हुन् काभ्रे नमोबुद्ध घर भई मनोहरा खोला किनार बस्दै आएकी ४० वर्षीय सानु माया लामा। आफ्नो छानो भत्किने डरले उनी पिँठ्युमा सानो छोरी बोकेर प्रदर्शनमा आएकी थिइन्।
घर भत्काउने सूचना जारी भएको कुरा उनले छिमेकीबाट थाहा पाएकी हुन्।
‘घरमा कोही पनि छैन,’ उनले भनिन्, ‘छिमेकीकोमा छोडुम् भने सबैजना यतै आएका छन्। सानो बच्चालाई घरमा एक्लै छोड्न पनि मिलेन।’
सानुमायाले चटपटे व्यापार गरी जिविकोपार्जन गरिरहेकी छिन्। उनका श्रीमान गाडी चलाउँछन्। चर्कीएको मंहगीमा दुई जनाको कमाइले चार जानको परिवार पाल्नै धौधौ परिरहेको उनको भनाइ छ।
‘यस्तो विधिको महंगी छ,’ उनले भनिन्, ‘एक जानको परिवारले घर धान्ने मुश्किल छ। कोठा लिएर बस्नै सकिन्न। कताबाट कमाएर घरभाडा तिर्नु! हामी यता बसेको १६ वर्ष भइसक्यो।’
यस्तै ३१ वर्षीय टंक कुमारी माझी पनि बल्खुको सुकुम्बासी बस्तीमा बसेको १५ वर्ष भइसक्यो।
प्रदर्शनमा उनी पनि ६ वर्षीय छोरीलाई बोकेरै आएकी थिइन्। छोरीको लुगामा माझिले ‘भूमिहिन सुकुम्बासी एक हौ’ भन्ने पोस्टर टाँसिदिएकी थिइन्। अनि निधारमा ‘लालपूर्जा’ लेखिएको पट्टी।
डोजर चलाएर उनीहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासीहरू आक्रोशित बनेका छन्। राम्ररी व्यवस्थापन नगरी आफूहरूलाई हटाउन नमिल्ने उनीहरूको भनाइ छ।
त्यही हुलमा एक वृद्ध बिस्तारै हिँडिरहेका थिए। ती वृद्ध थिए त्रिपुरेश्वरका ८६ वर्षीय हरि कृष्ण भट्टाराई।
ताप्लेजुङबाट विभिन्न ठाउँमा बसाइसराई गर्दै त्रिपुरेश्वरस्थित बम्चेघाटमा भट्टराई आइपुगेका हुन्। त्यहाँ बसेको पनि १० वर्ष भइसकेको उनी बताउँछन्।
‘सबैले हामी बसेको ठाउँमा डोजर लगाउँछ भन्छन्,’ उनले भने, ‘म त केही पनि जान्दिनँ। सबैले जानुपर्छ भनेर आएका हौं। फेरी डोजर चले श्रीमती र म बस्ने ठाउँ नै हुँदैन।’
यस्तै ६० वर्षीय उर्मिला लामा पनि मंसीघाटमा बस्न थालेको ७ वर्ष भइसक्यो। भूकम्पले आफू बसेको घर भत्किएपछि उनी सुकुम्बासी बस्तीमा पुगेको उनले बताइन्।
‘भूकम्प गएपछि बस्ने घर भत्कियो,’ उनले भने, ‘त्यसपछि कोठा लिएर बस्न सक्ने स्थिति भएन। कमाइ थिएन।’
गनाउने खोलाको किनारमा बस्ने रहर कसैलाई नहुने उनी बताउँछिन्। तर पनि कमाइ नभएपछि कोठा भाडा तिर्न नसक्ने आर्थिक स्थितिको बाध्यताले बस्नुपरेको उनको जिकिर छ।
अहिले घरमा उनी, नाति र उनको श्रीमान बस्छन्। श्रीमानले कमाएको पैसाले तीन जानको परिवार पाल्न मात्र ठिक्क हुने उनी बताउँछिन्।
‘हामीले बोकेर लाने पनि होइनौं,’ उनले भनिन्, ‘बसुन्जेल बस्न देऊ नत्र भने हाम्रो राम्ररी व्यवस्था गरिदेऊ मात्र भनेका हौं।’
यस्तै मोरङ घर भइ थापाथलीमा बस्दै आएकी ४४ वर्षीय अनिता लामा थापाथली सुकुम्बासी बस्तीमा बस्न थालेको पनि १८ वर्ष भयो। काठमाडौंमा पहिले ज्याला मजदुरी काम गर्न उनी श्रीमानसँग काठमाडौं आएकी थिइन्।
त्यतिबेला काम गर्ने सिलसिलामा सुकुम्बासी बस्तीमा बस्न पुगेकी थिइन्।
देशभर सुकुम्बासीहरू झन्डै ७० लाख भएको र त्यसमा पनि ४० लाख त मतदाता नै भएको सुकुम्बासी अभियानकर्ताको दाबी रहेको छ।
आफूले मत दिएर जुनसुकै नेतालाई माथि पुर्याए पनि कसैले उनीहरूको समस्याको समाधान नगरेको उनीहरूको जिकिर छ।
‘समस्या सुल्झाउनुको सट्टा हामी सुकुम्बासीको समस्यालाई राजनीतिकीकरण गरेका छन्,’ उनले भने, 'भोट माग्न मात्र आउँछन्। समस्या सम्बोधन गर्दैनन्।'
बिहीबार दिउँसो उनीहरू माइतीघर मण्डलमा भेला भई बानेश्वरतर्फ लागेका थिए। उक्त आन्दोलनलाई नागरिक समाजले पनि समर्थन गरेको थियो।